कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवेणीमा माघे औंसी मेलाको चहलपहल

नारायण शर्मा

पूर्वी नवलपरासी — शुक्रबार रातिबाट त्रिवेणीधाममा माघे औंसी मेला सुरु भएको छ । त्रिवेणी धाममा रहेका दर्जनौं मठमन्दिरमा भारतीय तीर्थालुहरु भरीभराउ छन् । भारतीय सिमानासँग जोडिएको त्रिवेणीधामका मठ, मन्दिर र धर्मशालामा रातभरि भजनकीर्तन गर्नेहरुको संख्या बाक्लिँदै गएको छ ।

त्रिवेणीमा माघे औंसी मेलाको चहलपहल

त्रिवेणीधामदेखि २ किलोमिटर दक्षिण पश्चिमका सडकमा व्यापारीहरु बसेका छन् । राजमार्गका किनारमा मिठाइ पसल, होटल र खाद्यान्न सामग्री बिक्री गर्नेहरु त्रिपाल टाँगेर बसेका छन् । यहाँबाट २ किलोमिटर दक्षिणमा भारतको बिहार र उत्तर प्रदेश पर्दछ ।

शनिबार माघे औंसी हो । वाल्मीकि ऋषिको तपोभूमि त्रिवेणीधाममा माघे औसीमा स्नान गरेर दान पुन्य गर्नाले पितृहरुले मोक्ष प्राप्त गर्ने विश्वासका आधारमा भक्तजनहरु ओइरिने गरेका छन् । यहाँका ५ दर्जनभन्दा बढी होटलहरु भरीभराउ छन् । स्वर्णभद्रा, पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीका घाटहरु स्नानका लागि व्यवस्थित गरिएको छ । नारायणी नदीमा डुंगा तरेर चितवन निकुन्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को देखिएको छ ।

माघें औसीको अघिल्लो दिन शुक्रबार यहाँका मठमन्दिरमा रातभर जाग्राम बस्ने, शनिबार स्नानपछि पूजाआजा र दान गर्ने चलन सदियौं पुरानो चलन हो ।

त्रिवेणीधाम क्षेत्र विकास समितिले मेलाको व्यवस्थापनमा सघाएको छ भने स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको छ ।


प्रकाशित : माघ ६, २०७९ २२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?