घाइते भन्छन्- 'सडकमा छरपष्ट निर्माण सामाग्रीमा चिप्लिएर बस खस्यो'
खाडीचौर (सिन्धुपाल्चोक) — त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीस्थित धारावतीमा तीन जनाको ज्यान लिने गरी शुक्रबार बिहान भएको बस दुर्घटनाका घाइतेले साँघुरो सडक र जथाभावी राखिएका निर्माण सामाग्रीका कारण दुर्घटना भएको बताएका छन् ।
दोलखाको भिमेश्वर नगरपालिका-१ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको यात्रु बस शुक्रबार बिहान सडकबाट सय मिटर तल खसेको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भयो भने ५२ जना घाइते भएका छन् ।
दुर्घटनाका घाइतेहरुले साँघुरो सडकमा जथाभावी थुपारिएका निर्माण सामाग्रीका कारण दुर्घटना भएको बताएका हुन् । सो दुर्घटनामा प्रहरीले भने आफैँ बस अनियन्त्रित भएर खसेको भनेको छ ।
दुर्घटनामा घाइते भएका भीमेश्वर नगरपालिका-१ का २३ वर्षीय रमेश थामीले निर्माण सामाग्रीले असजिलो यात्रा गर्ने क्रममा एक्कासी बस खसेको बताए । 'सडकभरि जताततै बालुवा र गिट्टी छरिएको थियो । धुलाम्मे सडक, खाल्डाखुल्डी उस्तै,' उनले भने, 'जहाँ दुर्घटना भयो, त्यहाँ जमिन भास्सिएर बसै भिरछेउ ढल्कियो र हामी बससहित एकसय मिटर तल खस्यौँ ।' दुर्घटनामा बेहोस् बनेका उनले आफूलाई एकैपटक अस्पतालको बेडमा फेला पारेको बताए ।
अर्का घाइते २४ वर्षीय राजकुमार थामीले पनि सडकमा जथाभावी फालिएका निर्माण सामग्रीकै कारण दुर्घटना भएको दाबी गरे । 'साँघुरो सडकमा जथाभावी गिट्टी छरिएका रहेछन्,' उनले भने, 'त्यही गिट्टी बालुवामाथिबाट सडक पार गर्न खोज्दा चक्का भासियो र पल्टियो ।' दुर्घटनामा परी दोलखा भिमेश्वर नगरपालिका-१ का १७ वर्षीय शिव श्रेष्ठ, ७० वर्षीय मानबहादुर थामी र १९ वर्षीय दिपेन्द्र थामी रहेका छन् ।
गम्भीर घाइते भएका चार जनालाई यहाँ उपचार सम्भव नभएपछि स्वास्थ्यकर्मीको सुझावअनुसार धुलिखेल र काठमाडौंका अस्पतालमा रिफर गरिएको प्रहरीेले जनाएको छ । घाइतेमध्ये २१ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
अन्यको भने खाडीचौरमा रहेको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित : वैशाख ७, २०८१ १९:०४