कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

रासस

भरतपुर — चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ । 

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

शनिवार बिहान ११:५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैँडाले आक्रमण गरेको थियो ।

गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । रेग्मी सौराहाको जङ्गल वल्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए ।

रेग्मी लाइसेन्स प्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले निकुञ्ज घुम्न गएका पर्यटक सकुशल रहेको बताए । गैँडाको आक्रमणबाट बेपत्ता भएका रेग्मीको चारवटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो ।

'निकुञ्जमा पर्यटकलाई वन्यजन्तु देखाउने गाइडलाई आक्रमण गरेको घटना बिरलै हुने गरेको छ,' तिवारीले भने, 'नयाँ वर्षको दिन दुःखद् घटना भयो ।' मृतक रेग्मीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित : वैशाख १, २०८१ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?