कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

विशाल देवी ताल बिलाउने खतरा

चितवन — देवी ताल चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको सवैभन्दा ठुलो ताल हो । वि.स. २०३० सालमा निकुञ्ज औपचारिक रुपमा स्थापना हुनुभन्दा अगाडिबाटै यसको सीमांकनका लागि खटेका र प्रमुख संरक्षण अधिकृतसम्म भएर अवकाश पाएका रामपृत यादव पानी नै पानीले भरिएको ताल देख्दा छक्क परेका थिए । ताल आडमा पानी खान र आहाल बस्न पाँच १० वटा गैंडा कहिल्यै छुट्दैन थिए भन्छन् उनी ।

विशाल देवी ताल बिलाउने खतरा

तर अहिले तालको अवस्था फरक छ । सुख्खा याम भएका कारण निकुञ्जको धेरै ठाउँमा डढेलो फैलिएको छ । देवी ताल वरपर चुरे क्षेत्रमा धुँवाको मुश्लो मडारिरहेको हुन्छ । तालमा पनि पानी साह्रै कम छ । पानीभन्दा धेरै घाँसले ताल ढाकेको छ । तालको पुर्वी भाग पुरिँदै पुरिँदै गएको छ । पश्चिम तर्फ देखिने पानीले मात्रै तालको अस्तित्व धानेको छ । कुनै बेलाको यो विशाल ताल बिलाएर घाँसे मैदान हुने पो हो कि भन्ने खतरा बढेको छ ।

‘निकुञ्जमा साना ठुला धेरै ताल, घोल र पोखरीहरु छन् । तमोर ताल, मुण्डा ताल, लामिताल जस्ता तालहरु ठुला छन् । यीभन्दा पनि ठुलो ताल हो देवीताल,’ पुर्व प्रमुख संरक्षण अधिकृत रामपृत यादवले भने । चितवन निकुञ्जका सुचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारी देवी तालको क्षेत्रफल लगभग २५ हेक्टर रहेको बताउँछन् । त्यसमध्ये अहिलेसम्म आधा ताल पुरिएको उनको अनुमान छ ।

देवीताल सुक्ने समस्या पुरानै हो । पुर्व प्रमुख संरक्षण अधिकृत यादव पनि यो ताल बेला बेलामा सफा गरी रहनु पर्ने ताल भएको बताउँछन् । तालको दक्षिण किनारसँग चुरे पहाड जोडिएको छ । पुर्वी किनारमा चुरेबाट निस्केको खहरे छ । तालमा आउने अरु पनि स–साना खहरेहरु छन् । बर्खायाममा यी खहरेहरुले ढुंगा माटोसहितको गेग्रान बोकेर तालमा थुपार्दछ । यसैका कारणले तालमा समस्या आएको हो ।

चितवन निकुञ्ज विश्वमा नै दुर्लभ मानिएका वन्जन्तु ठुलो एकसिंगे गैंडा, पाटे बाघ र अन्य धेरै खाले जीव जनावर, जलचर, गोही र चारहरुको प्रमुख बासस्थल हो । यी जनावर र अन्य वनस्पतिका लागि ताल तलैया निकै महत्वपुर्ण हुन्छ । निकुञ्जको ताल तलैया सिमसार क्षेत्रको व्यवस्थापन भइरहनु पर्दछ । नभएर हैसियत बिग्रदै सिमसार घाँसे मैदान हुने, घाँसे मैदानमा ठुला रुख बिरुवा हुर्केर झाडी र जंगल हुने खतरा रहन्छ ।

तर चितवन निकुञ्जमा पछिल्ला वर्षहरुमा आउने ताल तलैया व्यवस्थापन र घाँसे मैदानको बजेट घट्दो छ । निकुञ्जका सुचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा पोखरी निर्माण र व्यवस्थापनका लागि ११ लाख रुपैयाँ आएको छ । कोरोनाभन्दा अघि आर्थिक वर्ष ०७५/७६ मा एक करोड ४३ लाख रुपैयाँ बजेट थियो । त्यसपछि क्रमश घट्दै गएर गत वर्ष पाँच लाख रुपैयाँ आएको थियो ।

देवीतालको अवस्था हेर्दा ताल घाँसे मैदानमा परिणत हुँदै गएको देखिन्छ । चितवन निकुञ्जमा आउने घाँसे मैदान व्यवस्थापनको बजेट पनि घट्दै गएको छ । आर्थिक वर्ष ०७७/७८ मा ९९ लाख ५७ हजार रुपैयाँ प्राप्त भएको थियो ।

चालु आर्थिक वर्षमा घाँसे मैदान व्यवस्थापनका लागि ४० लाख सात हजार रुपैयाँ आएको छ । निकुञ्जमा जनावर बढेका छन् । घाँसे मैदान र पोखरी बिग्रदै गएका छन् । तर व्यवस्थापन बजेट पनि घट्दो छ ।

प्रकाशित : चैत्र २८, २०८० १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?