१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

चितवनका थारु समुदायको फागु : हिजो समत, आज धुरहेरी

चितवन — आदिवासी थारु समुदायले हिजो आइतबार साँझ ‘समत’ सम्पन्न गरेपछि आज सोमबार बिहानैदेखि रंग दलेर फागु मनाउँदै छन् । साँझ चीर जलाउने कार्यलाई थारुहरू समत भन्छन् । हिजो जलेको समतको आज बिहान सबेरै खरानीको धुलो उडाउँदै त्यसैको टीका लगाएर फागु मनाउने थारु समुदायको परापूर्वकालदेखि चल्दै आएको चलनलाई धुरहेरी भनिन्छ । 

चितवनका थारु समुदायको फागु : हिजो समत, आज धुरहेरी

‘रंगहरू नआउँदा पनि थारु समुदाय फागु मनाउँथे । समतको खरानीको धुलो उडाएर र टीका लगाएर नै फागुमा रमाउने चलन परापूर्वकालदेखि कायम रहेको हो,’ थारु समुदायका अगुवा रहेका शिक्षक तथा थारु पत्रकार समाज चितवनका पुर्व अध्यक्ष कारी महतोले भने । थारु समुदाय चितवनको मैदानी क्षेत्रमा बसोबास गर्दै आएका आदिवासीहरू हुन् । फागु पर्वलाई थारुहरू विशेष उल्लास र उमंगका साथ मनाउँछन् ।

आइतबार साँझ पर्दै गर्दा रत्ननगरको थारु बहुल गाउँ बछौलीका दिनेश, समिप र नरेश चौधरी समतका लागि प्रसाद बनाउन जुटे । गहुँको पिठोमा नरिवल र छोकडाका टुक्रा र ल्वाङ सुकमेलको धुलो राखेर घ्युमा पकाएको स–साना रोटी समतको विशेष प्रसाद हो । बछौलीको पूर्वी दिशामा रहेको ब्रहृमथान नजिक युवाहरू समत तयार गर्दै थिए । हरिया बाँसका लिंगाहरू गाडेर त्यसलाई तोरीको नल (गट्टे)ले छोपेर गुफा जस्तो बनाए ।

पूर्णिमाको जुनलाई हल्का बादलले छेकेको थियो । चन्द्रमा माथि सर्दै गर्दा गाउँका सहोदरा महतो ढोलक बजाउँदै आए- ‘होरिया, होरिया होरिया, हो रंग जैसा होरी’। ढोलक बजाउँदै सहोदराले होली गीत पनि सुरु गरे । ५५ वर्षका सहोदरासँग स्वर र ताल मिलाउन ढोलक बजाउँदै ४० वर्षका स्थानीय दुखवा महतो पनि मिसिए । समत तयार भएपछि पूजा गर्न खिलेन्द्रराज चौधरी भित्र छिरे ।

‘हामीले गाउँघरको सुरक्षाका लागि पुकार गर्ने हो । गाउँभरि राम्रो होस सुरक्षा होस भनेर पूजा गरिन्छ । रोटी, अण्डा र कुखुरा राखेर पूजा गरिन्छ,’ खिलेन्द्रले भने । पूजाका बेला राखेको अण्डा खोतल्न बिहानै मान्छेहरू आउने गरेको उनले बताए । फागुलाई वर्ष दिनका रिसराग, वैमनश्यता भुलेर मित्रता सुरु गर्ने पर्वका रुपमा थारु समुदायले लिने गरेको खिलेन्द्रको भनाइ छ ।


समतलाई होलीका दहन भनेर अर्थ्याइए पनि कारी महतोको यसमा फरक मत छ । ‘समतलाई असत्य पराजित भएको दिनका रुपमा लिइन्छ । तर होलीका दहनभन्दा थारु समुदायमा फरक अर्को कथा पनि छ । थारुले मनाउने जितिया पर्वमा सुनिने जितबहानको कथामा यो प्रसंग आउँछ । चिल्हो नाम गरेकी दिदी र सियरो नाम गरेकी बहिनी खरजिति व्रत बस्दा निष्ठा र विधि कस्ले पूरा गरेको थियो भन्ने कथा छ,’ कारीले भने ।

चिल्हो र सियरो कस्ले निष्ठापूर्वक व्रत बस्यो भनेर अग्नी परीक्षा दिने निधो गरेको र समत यसैको प्रतिक हो भन्छन् कारी महतो । धुरहेरीपछि पनि फागु सकिँदैन । तेस्रो दिन पनि नाचगान र रमाइलो गर्ने चलन छ । पूर्व शिक्षक, थारु कल्याणकारी सभाका पूर्व केन्द्रीय सल्लाहकार तथा हालका पार्षद रहेका बछौलीका थारु अगुवा वासुदेव चौधरी फागुको तेस्रो दिन चितवनका थारुहरूको नयाँ कारोबार सुरु गर्ने चलन रहेको बताउँछन् ।

‘पुरानो चलनमा फाउपूर्णिमाको भाखा राखेर कारोबार गर्ने चलन थियो । जमिनदारको घरमा बस्नेहरूले पनि ठाउँ सर्ने भए फागुपूर्णिमापछि सर्ने गर्दथे । फागुको उमंगपछि नयाँ कारोबार र नयाँ दिन सुरु भयो भन्ने मान्यता बस्थ्यो,’ बासुदेव चौधरीले भने । फागुको तेस्रो दिनलाई चैतवारी भनिन्छ । यो वसन्त ऋतुको स्वागत पनि हो भन्छन् कारी महतो ।

चितवन थारु बहुल जिल्ला हो । फागुको तयारी शिवरात्रीपछि नै सुरु हुने गरेको थारु पत्रकार संघ चितवनका अध्यक्ष दिपेश चौधरी बताउँछन् । ढोलक डम्फु बजाउँदै होली गित गाउँदै नाँच्दै टोल टोल पुगेर गाउँ गाउँ घुमेर फागु मनाउने गरिन्छ । ढोलक डम्फु बजाउन नयाँलाई सिकाउने काम पाका पुराना अगुवाहरूले शिवरात्री सकिए लगत्तै सुरु गर्दथे भन्छन दिपेश । तर पहिलाको जस्तो ठुलो उमंग अचेल खासै हुँदैन ।

२०७८ सालको जनगणना अनुसार चितवनको कुल जनसंख्याको १० प्रतिशत थारुहरू रहेका छन् । पहाडी ब्रम्हण र क्षेत्रीपछि तेस्रो स्थानमा थारुहरू छन् । सात पालिका रहेको चितवनमा जनसंख्याका हिसाबले खैरहनी र माडी नगरपालिकामा पहिलो र रत्ननगर नगरपालिकामा दोस्रो स्थानमा थारुहरू रहेका छन् । थारुहरूले खास उल्लासका साथ मनाउने पर्वहरूमा फागु पनि पर्ने थारु कल्याणकारीणी सभा चितवनका अध्यक्ष ललित चौधरीले बताए ।

प्रकाशित : चैत्र १२, २०८० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?