कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

प्लाष्टिकका झोला बेच्दै उद्योग खोलेका रामप्रसाद 

चितवन — नुवाकोटबाट क्याम्पस पढ्न चितवन झरेका रामप्रसाद गजुरेल कुनै बेला प्लाष्टिकको झोला बनाउने उद्योगका सामान्य कामदार थिए । पछि आफै डुलेर त्यस्ता झोला बेच्न थाले । मन लगाएर काम गर्दा भएको आम्दानीले पसल खोले । एकपछि अर्को प्रगति गर्दै उनले प्लाष्टिकका सामग्री उत्पादन गर्ने उद्योग नै चलाए । अहिले उनका यस्ता उद्योग दुई वटा छन् । उनी प्लाष्टिकको कारोबार मात्रैमा पनि सिमित छैनन् ।

प्लाष्टिकका झोला बेच्दै उद्योग खोलेका रामप्रसाद 

सौराहामा पर्यटकीय होटल चलाएका छन् । घरासयी इलेक्ट्रोनिक सामान बिक्री पनि गर्छन् । बजारमा सुविधायुक्त व्यायामशाला पनि सञ्चालन गरेका छन् । सामान्य कामदारबाट चितवन बसाई सुरु गरेका उनले कालान्तरमा सयौंलाई रोजगार दिने उद्यमीको परिचय बनाए । यहाँसम्म आउँदा उनले कडा मिहेनत गरेका छन् । भोक र निदा बिर्सेका छन् ।

विस २०२७ साउन ३० मा नुवाकोट विदुरको पिपलटारमा जन्मेका रामप्रसाद एसएलसी उत्तीर्ण भएपछि क्याम्पस पढ्न ०४७ मा चितवन आएका हुन् । त्योबेला घरदेखि दुई किलोमिटर पर बट्टारमा भर्खर क्याम्पस खुलेको थियो । चितवन गए ठूलो ठाउँमा केही नयाँ कुरा सिकिन्छ भनेर उनले गाउँ छाडे । नौलो ठाउँ चितवनमा उनले जसलाई चिनेका थिए ती साथी भरतपुरको एउटा प्लाष्टिक फ्याक्ट्रीमा काम गर्थे ।

उनले पनि त्यही फ्याक्ट्रीमा हेल्परको काम पाए । बिहान नारायणगढको बालकुमारी कलेजमा आईकम पढ्थे । दिउँसो काम गर्थे । ‘नुवाकोटमा हाम्रो परिवार सामान्य किसानी गरेर खाने हो । त्यो बेला छोरा छोरी पढाउँदा बाउआमाले खेत पनि बेच्थे । मैले त्यसो नहोस् भनेर ६/७ कक्षामा पढ्दा नै बारीमा काउलीलगायतका तरकारी लगाउँथे । मन्थलीमा सेनालाई तरकारी सप्लाई गर्ने ठेकेदारले किनेर लैजान्थ्यो,’ उनले भने ।


सानैदेखि खर्च जुटाउँदै पढेका कारणले क्याम्पस पढ्न सुरु गर्दा पनि उनले बाआमालाई भार पार्न चाहेनन् । फ्याक्ट्रीमा काम गरेको चार महिना जति भएको थियो, उनी सानो दुर्घटनामा परे । प्लाष्टिकको ब्याग कटिङ गर्ने मेसिनमा उनका दाहिने हातका दुईवटा औंला परे । त्यो चोट सामान्य थियो तर घाउ पाकेपछि उनलाई गाह्रो भयो । त्यसपछि उनी आराम गर्न नुवाकोट गएर एक महिना बसे । घरबाट फर्केपछि प्लाष्टिकको झोला पसल पसल डुलाएर बेच्नेसँग भेट भयो ।

उनले पनि त्यही काम गर्ने मन बनाए । सुरुमा झोलाहरु किनेर पैदलै पसलपसल डुले । दुई महिना पछि साइकलमा राखेर चितवनको पूर्वी भेग भण्डारादेखि नवलपरासीको अरुणखोलासम्म पुगे । ‘उता नवलपरासीतिर ठाउँ ठाउँमा हाट बजार लाग्थ्यो । हाट बजारहरुमा प्लाष्टिकको झोला बेच्दै डुलियो । साइकल चलाएरै मिहेनत गरियो त्यो बेला,’ गजुरेलले भने ।

यसरी झोला बिक्री गर्दा आम्दानी राम्रो भयो । ‘मैले काठमाडौंबाट आफै प्लाष्टिकको झोला मगाएर गोदाममा राखेर बेच्न हिँड्न थाले । यसो गर्दा दिनमै १० हजार रुपैयाँ जतिको प्लाष्टिक बिक्री हुन्थ्यो । पाँच/सात सयदेखि हजार रुपैयाँ बचत हुन थाल्यो,’ उनले भने । त्यसपछि ०४९ चैत्रमा उनले नारायणगढमा एकजना साथी सूर्य थापासँग मिलेर प्लाष्टिकका सामान बेच्ने पसल किने ।

त्यसमा उनले ३५ हजार रुपैयाँ लगानी गरेका थिए । यो पसलको व्यपार फष्टायो । ‘गोरखा, धादिङ र तनहुँका पहाडी इलाकाका व्यापारी सामान लिन आउँथे । बिहान ६ बजे पसल गएको राति १० बजे फर्किन्थे,’ गजुरेलले भने । कामको चापले गर्दा एक दिन बिहान पाँच बजेसम्म तनहुँ भिमाद पठाउने सामान प्याक गरेको उनले सम्झन्छन् । ०५६ मा साथी सूर्यले अर्कै पसल सुरु गरे । उनले ०५८ मा नारायणगढ लिला चोकमा १८ लाख रुपैयाँ हालेर पुरानो घर किनेर त्यही पसल सारे ।


०६५ मा भारतको दिल्ली प्रगति मैदानमा प्लाष्टिक मेला लागेको थियो । त्यो मेला हेर्न गएका उनले प्लाष्टिकको पाइप उद्योग खोल्ने निर्णय लिए । ०६४ सालमा भरतपुर–४ रामघाटमा नौ कट्ठा जग्गा किनेका थिए । बैंकबाट ऋण लिएर त्यही ठाउँमा उद्योग खोलेर ०६६ सालबाट पाइप र प्लाष्टि झोला उत्पादन सुरु गरे । रामघाटको फ्याक्ट्रिकै सामुन्ने अर्को फ्याक्ट्रि खोलेर उनले ०७४ सालदेखि पानी ट्याङ्की उत्पादन गर्न सुरु गरेका छन् ।

कोरोना सुरु हुनुभन्दा पहिला ०७६ सालमा उनले सौराहामा चार करोड रुपैयाँ लगानी गरेर रोयल टाइगर लक्जरी रिसोर्ट खोले । गत वर्षदेखि एसीलगायतका घरायसी इलेक्ट्रोनिक सामग्री पाइने पसल पनि चलाएका छन् । हालै मात्र क्षेत्रपुरमा पाँच करोड रुपैयाँ लगानी गरेर व्यायामशाला ‘राइनो फिटनेश हब’ सञ्चालन गरेका छन् ।

व्यवसायमा श्रीमती कल्पना, भाई सुन्दर र छोरा आकाशले पनि सघाइरहेका छन् । ‘भाइ छोराहरु यहीको व्यपार व्यवसायमा रमाए । विदेश जाने लहरले छोएको छैन । अहिले मेरो उद्योग र व्यवसायमा गरेर अप्रतक्ष्य चार सय र प्रतक्ष्य पनि २५० जनाले रोजगार पाएका छन्,’ गजुरेलले भने । उनी ०७५ देखि ०७९ लसम्म प्लाष्टिक व्यवसायी संघ चितवनको अध्यक्ष पनि भए ।

हाल चितवन उद्योग वाणिज्य संघको उपाध्यक्ष र प्लाष्टिक व्यवसायी संघका पूर्वध्यक्ष रहेका राजेन्द्र ओली गजुरेलको मिहेनत र संघर्ष प्रेरणादायी रहेको बताउँछन् । ‘हिजो उहाँले मिहेनत गरेर अगाडी बढेका कारणले आज यो सफलता पाउनु भएको हो,’ ओलीले भने । व्यवसायप्रतिको लगाव, फजुल खर्च नगर्ने परिपाटी र इमान्दारीका कारणले नै गजुरेल सफल भएको ओलीले बताए ।

व्यवसाय चुनौतिरहित नभएको गजुरेल बताउँछन् । कोरोनापछि आर्थिक शिथिलताले सबैलाई समस्या छ । तर यस्तो बेला धैर्य गरेर आर्थिक योजना बनाएर अगाडी बढ्न आवश्यक भएको उनले बताए । ‘हिजो म खल्तीमा गाडी भाडासम्म हालेर चितवन झरेको हो । मिहेनतले जे जोडे, त्यसमा ग्राहकको साथ रहयो, बैंकले पनि विश्वास गर्‍यो । त्यसैले आज यो अवस्थामा पुगेको हुँ,’ गजुरेलले भने ।

प्रकाशित : चैत्र ७, २०८० १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?