कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

भक्तपुर नगरपालिकाको बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजार

भक्तपुर — भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको १४ औं नगरसभामा आइतबार उपप्रमुख रजनी जोशीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

भक्तपुर नगरपालिकाको बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजार

भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी आगामी आर्थिक वर्ष ०८०/८१ को लागि २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

विनियोजित बजेटको चालु खर्चतर्फ १ अर्ब ३७ करोड ९४ लाख ९४ हजार रुपैयाँ अर्थात्, ५५.८० प्रतिशत र पुँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रुपैयाँ अर्थात्, ४५.२० प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९ करोड ५० लाख अर्थात्, ४.१९ प्रतिशत विनियोजन गरिएको छ ।

बजेट वक्तव्यमा ख्वप इन्जिनियरिङ कलेजमा बी ब्लकको नयाँ भवन निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । साथै ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नयाँ भवन निर्माणको लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि अनुदान प्रदान गर्न २ करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको छ भने शैक्षिक ऋणलाई यस वर्ष पनि निरन्तरता दिन २ करोड रुपैयाँ बजेटमा विनियोजन गरिएको छ ।

नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीहरुका लागि उनीहरूले पाउँदै आएको तलबमा भक्तपुर नगरपालिकाको तर्फबाट प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँका दरले थप पारिश्रमिकको व्यवस्था गरिएको उपप्रमुख जोशीले बताइन् ।

यस्तै ख्वप अस्पतालमा सीटी स्क्यान खरिदको लागि ८ करोड रुपैयाँ, अस्पतालको भौतिक पूर्वाधार निर्माणको लागि थप २ करोड रुपैयाँ तथा अस्पताल सञ्चालन खर्चका लागि थप ३ करोड रुपैयाँ र नगरपालिकाको १० वडास्थित बेखाल स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ३० लाख साथै ७ वडास्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माणमा ५० लाख थप विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

सम्पदा र संस्कृतिक संरक्षणतर्फ वडा ३ स्थित ऐतिहासिक थन्थु दरबार पुनः निर्माणका लागि २ करोड र इन्द्रायणी द्यो छें पुनः निर्माणको लागि २० लाख रुपैयाँ थप विनियोजन गरिएको छ भने वडा ४ मा रहेको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणका लागि ८५ लाख, इखालाछी मठ पुनःनिर्माणका लागि ५० लाख र हाडा छें पुनःनिर्माणको लागि ३० लाख रुपैयाँ थप विनियोजन गरिएको छ ।

नगरको वडा ७ मा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि ५० लाख र वडा २ मा कोसेली घर निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख जोशीले बताइन् । वडा ६ स्थित छुमा गणेश द्यो छे पुनःनिर्माणका लागि पनि नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

लिवालीमा शीत भण्डार निर्माण गर्न १ करोड रुपैयाँ, वडा ५ मा तरकारी बजार निर्माण गर्न पनि नगरपालिकाले ७० लाख रुपैयाँ थप विनियोजन गरेको छ भने, कृषि अनुसन्धान केन्द्र स्थापना गर्न २० लाख र व्यवस्थित बधशाला निर्माण गर्न १० लाख रुपैयाँ बजेट छुट्याइएको छ । नगरमा खानेपानीको पूर्वाधार निर्माण तथा आकाशे पानी संकलन विधिका लागि १ करोड, वडा १० मा डिप बोरिङ गर्न २५ लाख, वडा १ को सिंहख्वातेमा डिप बोरिङ गर्न २० लाख र वडा ९ को तुमचोमा खानेपानी पूर्वाधार निर्माण गर्न २५ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै हनुमन्ते खोला सुधार गर्नका लागि रिटेनिङ वाल निर्माणलगायतका कार्य गर्न १ करोड रुपैयाँ, अरनिको सभाभवन निर्माणका लागि नगरपालिकाबाट ३ करोड २० लाख र वाग्मती प्रदेश सरकारबाट ८० लाख गरी कुल ४ करोड विनियोजन गरी बहुवर्षिय योजनाका रुपमा अघि बढाएको छ । साथै कमलविनायक बहुउद्देश्यीय भवन निर्माणका लागि ४ करोड, वडा ९ तौलाछे वाथिकुथि (लिवि)मा बहुउद्धेश्यीय सामुदायिक भवन निर्माणका लागि २५ लाख विनियोजन गरिएको छ भने वडास्तरीय योजनाको मर्मत, निर्माण तथा स्तरोन्नतिका लागि नगरपालिकाले ५०/५० लाख गरी कुल ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

खेलकुदअन्तर्गत महेश्वरी स्टेडियम निर्माणमा १ करोड ५० लाख, बेखाल कभर्ड हल निर्माणमा १ करोड र सहिद स्मृति खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा २५ लाख विनियोजन गरिएको छ । नगरभित्रका उपयुक्त पोखरीहरुलाई पौडी पोखरीको रुपमा विकास गर्न भन्दै नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ । विविध योजना तथा कार्यक्रमहरुअन्तर्गत पर्ति तथा सार्वजनिक जग्गा संरक्षणका लागि २० लाख, देको मिवा इटापाके आवास योजनाका लागि १८ करोड, पार्किङ पूर्वाधार निर्माणमा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

साथै सिसीटीभी प्रणाली जडान गर्न २३ लाख, आदर निकेतन भवन निर्माण गर्न थप ५० लाख रुपैयाँ विनियोजन गरेको बताइएको छ । यस्तै युवा उद्यमशील ऋणको व्यवस्था गर्न ५ करोड बराबरको ऋण कोषको व्यवस्था पनि बजेटमा गरिएको छ ।

प्रकाशित : असार १०, २०८० १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?