१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

कोथुननी जोगाउन अभियान

कोथुननीको निर्माण मल्लकालमा भएको हो, त्यसबेला यो घर व्यापार गर्ने ठाउँसमेत थियो 
दामोदर न्यौपाने

काठमाडौँ — असनस्थित ५ सय वर्ष पुरानो कोथुननी जोगाउन सम्पदा संरक्षण अभियानकर्मी र स्थानीय आन्दोलनमा उत्रिएका छन् । अशोकवृक्ष विहारसमेत रहेको कथोननी भत्काएर गुठी संस्थानले व्यापारिक भवन बनाउन लागेपछि स्थानीयले विरोध गरेका हुन् । विरोधकै कारण चार वर्षदेखि यो ठाउँमा विवाद कायम छ ।

कोथुननी जोगाउन अभियान

गुठी संस्थानले भत्काउन सहमति दिइसकेकाले कतिबेला भत्काउने हो भन्ने त्रास रहेको कोथुननी रेखदेख र संरक्षण गर्दै आएको सञ्जीव बज्राचार्य परिवारको भनाइ छ । ‘कहिले पुसमा भत्काउँछ रे भन्ने हल्ला आयो,’ कोथुननीमा बस्दै आएका बज्राचार्यले भने, ‘वैशाखमा भत्काउँछ रे भन्ने हल्ला आएको छ ।’

कोथुननी बचाउन असनवासीले ‘कोथुननी बचाउ अभियान’ सञ्चालन गर्दै आइरहेका छन् । कोथुननी जोगाउ काठमाडौंका सांसदको ध्यानाकर्षण गराएको बज्राचार्यले बताए । यस अघि पनि यसलाई बचाउन माग गर्दै १५ हजार जनाको हस्ताक्षर संकलन गरेर गुठी संस्थान, भूमिसुधार मन्त्रालयलगायतका निकायलाई बुझाएका थिए । ‘संकलित हस्ताक्षरसहित ज्ञापनपत्र गुठीलाई बुझाउँछौं,’ बज्राचार्य भन्छन्, ‘हामीले यसअघि पठाएका कुनै पनि पत्रको संस्थानले सम्बोधन गरेको छैन । हुलाकमार्फतसमेत पत्र पठाएका थियौं । तर सुनुवाइ भएन ।’

कोथुननी भत्काएर बज्रयोगिनी सामान्य बहुउद्देश्यीय प्राइभेट लिमिटेडलाई व्यावसायिक भवन बनाउन दिने सम्झौता गरेको थियो । यसका लागि गुठी संस्थान, बज्रयोगिनी र श्रीवायु देवता गुठीबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतामा गुठी संस्थानका तर्फबाट तत्कालीन प्रशासक नारायण चौधरी, बज्रयोगिनीका तर्फबाट निर्देशक राजेन्द्रबहादुर गोर्खाली (राजु गोर्खाली) र वायु देवता गुठीका तर्फबाट लीलाविक्रम शाहले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार भवन निर्माण दुई वर्षमा सम्पन्न गर्ने र २५ वर्षसम्म चलाउने पाउनेछ । वर्षमा ८ लाख ६० हजार रुपैयाँ भाडा गुठी संस्थानलाई बुझाउने सहमति भएको छ । यो सम्झौताको पनि अवधि सकिएको छ । अब अवधि थप गर्न आएमा वडा कार्यालयले नक्सा पास स्वीकृति नदिने काठमाडौं–२५ नम्बर वडा अध्यक्ष राजेश डंगोलले बताए । ‘फेरि प्रस्ताव आएमा असनवासीसँग छलफल गरेर मात्र अघि बढाउँछु,’ वडा अध्यक्ष डंगोलले भने ।

कोथुननी को भुइँतलाको एउटा कोठाबाहेक अरू १४ परिवारले पुस्तौंदेखि भोगचलन र रेखदेख गर्दै आएका छन् । तीमध्ये तीन परिवार यहीं बस्छन् । अरू परिवार बाहिरबाट बसेर यहाँ पसल सञ्चालन गर्छन् । गुठी संस्थानले यसको भोगचलन गर्न १४ परिवारसँग सम्झौतासमेत गर्दै आएको छ । कोथुननी बनेको ५ सय वर्षदेखि नै बज्राचार्य परिवारले रेखदेख गर्दै आएको सञ्जीवले जानकारी दिए ।

सम्पदाविद्का अनुसार कोथुननीको निर्माण मल्लकालमा भएको हो । मल्लकालमा यो घर व्यापार गर्ने ठाउँसमेत थियो । बनेयता पटक–पटकको भुइँचालोले विहार भत्काइदिएको थियो । भत्काएपछि बनाउने काम यही बज्राचार्य परिवारले गर्दै आएको छ । बज्राचार्य भन्छन्, ‘यसैगरी ५ सय वर्षदेखि हामीले चलाउँदै आएको विहार हो यो । अहिले मास्न खोजिँदै छ ।’

गुठी संस्थानको आफ्नै दाबी छ । ‘यहाँ श्री ५ को वायु देवता गुठी छ,’ गुठी संस्थानका प्रशासक किरण शाक्यले भने, ‘यहाँ समस्या छ । यो समस्या सल्टाउनुपर्छ ।’ संस्थानले गुठीको सम्पत्ति कब्जा भएको सूचीमा राख्ने गरेको छ ।

‘कोथुननी भुइँचालोले गर्दा भत्काउनै पर्ने अवस्थामा छ । नयाँ नबनाई हुँदैन । नयाँ बनाउनुपर्ने भएकैले यो कुरा उठेको हो,’ शाक्यले भने, ‘कानुनअनुसार सबै चल्नुपर्छ । उहाँहरू अहिले कुरा गर्न आउनुभएको छैन । म त्यही ठाउँको भएकाले मलाई सरोकार छ । सबैले आफ्नो स्वार्थभन्दा माथि उठेर समस्या समाधान गर्नुपर्छ ।’

पुरातत्त्व विभागले पनि यो विहार कम्तीमा ५ सय वर्ष पुरानो भएको प्रमाणित गरिसकेको छ । विहारसम्बन्धी समाचार सार्वजनिक भएपछि विभागले पुरातत्त्व अधिकृत प्रकाश खड्कालाई अध्ययन गर्न पठाएको थियो । खड्कालले विहारमा भएको अमिताभ बुद्धको मूर्तिको प्रकृति हेर्दा कम्तीमा ५ सय वर्ष पुरानो भएको प्रतिवेदन दिएका थिए । असन चोकमै छ विहार । भुइँतलाको उत्तरतिरको एउटा कोठा पूजाका लागि छुट्याइएको छ । विहारमा अमिताभ बुद्ध राखिएको छ । यहाँ नित्यपूजा हुन्छ । पूजाका लागि छुट्टै गुठी छ । ५ जनाको गुठीले पूजा सञ्चालन गर्दै आएको छ ।

गुठी संस्थानले २०७० फागुनदेखि लागू हुने गरी पछिल्लो सम्झौता गरेको थियो । त्यतिबेलाको सम्झौताअनुसार हरेक महिना प्रतिमहिना ५ हजार रुपैयाँ भाडा तिर्ने सहमति भएको थियो । गुठीले चौध परिवारसँगै अलग–अलग सम्झौता गरेको छ । वर्षमा ७ लाख ८० हजार रुपैयाँ गुठीलाई बुझाउने गरेको उनले जानकारी दिए । सम्झौता गर्दा कुनै अवधि तोकिएको छैन । बहाल नतिरेमा मात्र करार भंग हुन सक्ने प्रावधान राखिएको छ ।

कित्ता नम्बर १७६७ नम्बरको ८ आना ३ दाममध्ये ५ आनामा विहार बनेको छ । यहाँ दुईवटा चोक छन् । विहार छेउकै घरमा खन्दा लिच्छवीकालीन चैत्यलगायत संरचना भेटिएको थियो । विहार भत्काइयो भने थुप्रै सम्पदा हुने र अमिताभ बुद्ध र यञ्चदानको बेला गरिने यहाँका परम्परा लोप हुने बज्राचार्य बताउँछन् ।

पञ्चदान काठमाडौं उपत्यकाका बौद्ध सम्प्रदायले दानशाला खोली बनाउने उत्सव हो । ललितपुरमा प्रत्येक वर्ष श्रावण शुक्ल अष्टमी र काठमाडौंमा भाद्र कृष्ण त्रयोदशी तिथिमा मनाइन्छ । पञ्चदानको दिन बौद्ध भिक्षु भगवान् तथागतको स्तोत्र पाठ गर्दै भिक्षा माग्न जान्छन् । यहाँ भिक्षा दिने काम पञ्चदान गुठीले गर्दै आएको छ । केराउ, गहुँ, धान, भटमास, मासजस्ता पाँच थरी अन्न दिइन्छ । यसलाई पञ्चदान भनिन्छ ।

प्रकाशित : वैशाख ६, २०८० ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?