कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

‘मुसहर समुदाय स्वास्थ्य सेवाबाट बन्चित’

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरपालिकाको बिभिन्न वडामा बसोबास गर्दै आएका मुसहर समुदाय स्वास्थ्य सेवाबाट बन्चित रहेको एक अध्ययनले बताएको छ । बुधबार सम्पन्न मानव केन्द्रीत ढाँचा तथा द्रुत लेखाजोखा सम्बन्धी सहश्रृजना कार्यशालाको समापन समारोहमा सार्वजनिक गरिएको तथ्यांकले यस्तो देखाएको हो ।

‘मुसहर समुदाय स्वास्थ्य सेवाबाट बन्चित’

युनिसेफको सहयोगमा वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले महानगरका वडा नम्बर २२,२८ र ३२ को १ सय ७४ मुसहर घरधुरीमा गरेको स्थलगत सर्भेले यो समुदाय अझै पनि तुलनात्मक रुपमा अन्य समुदाय भन्दा स्वास्थ्य सेवा सुविधाको पहुँचबाट टाढा रहेको पाइएको छ ।

कार्यक्रममा युनिसेफ नेपाल प्रतिनिधि एवम् सामाजिक व्यवहार परिवर्तन सम्बन्धी विज्ञ लिला खनालले सर्भेले यी वडाका मुसहर समुदायमा औसत विवाह उमेर १७ दशमलव २ प्रतिशत, बच्चा जन्माउने औसत उमेर १९ बर्ष रहेको देखाएको बताइन् । समुदायमा बालविवाह दर ८० प्रतिशत, किशोरी गर्भवती दर ५१ प्रतिशत, संस्थागत सुत्केरी हुने दर ५५ प्रतिशत र घरमा खोपकार्ड नभेटिएको दर ४८ प्रतिशत रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मुसहर समुदायको स्तरोन्नतिको लागि स्वास्थ्य मात्र नभई शिक्षाको क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे ।

मुसहर समुदायका बालबालिका तथा युवाहरुलाई खेलकुद क्षेत्रसंग जोडेर शिक्षा तर्फ आकर्षित गर्न सकिने सुझाव पनि उनले दिए । सिंहले परीवर्तन सम्भव रहेपनि त्यसका लागि सरोकारवाला संपूर्णको साथ र सहकार्य आवश्यक रहेको बताए ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साहले मुसहर समुदायको उन्नयनको लागि तीनै तहको सराकारको सहकार्य आवश्यक रहेको बताए । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारबाटै यो समुदायको स्तर उकासिने बताए ।

कार्यक्रममा मुसहर समुदायको स्तरोन्नतिका लागि नीतिगत सुझाव समेत दिइएको थियो । जसमा यो समुदायलाई निःशुल्क स्वास्थ्य बीमा, जन्मदर्ता, नागरिकता र लालपुर्जाको सुनिश्चितता, सर्वसुलभ स्वास्थ्य सेवा पहुँचको लागि निजी अस्पतालहरुसँग समन्वय र सहकार्य गर्ने, निःशुल्क एम्बुलेन्स सेवा, शौचालय, खानेपानी र ढलको व्यवस्था गर्ने आदि रहेको छ ।

प्रकाशित : जेष्ठ १६, २०८१ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×