कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सेवाग्राहीको खाताबाट ९ लाख हराएको भन्दै माछापुच्छ्रे बैंक चन्द्रपुरमा घेराउ 

शिव पुरी

रौतहट — सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ हराएको भन्दै माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखा कार्यालयमा घेराउ गरिएको छ । आइतबार ८ लाख रुपैयाँको चेक साट्न गएका बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट रहस्यमय तरिकाले ९ लाख रकम गायब भएपछि रातिसम्म पीडित पक्षले बैंकमा घेराउ गरेका हुन् ।

सेवाग्राहीको खाताबाट ९ लाख हराएको भन्दै माछापुच्छ्रे बैंक चन्द्रपुरमा घेराउ 

बैंक शाखा परिसरमा पीडित पक्षले घेराउ गरिरहँदा कार्यालयमा प्रहरी, प्रदेश सांसदलगायत जनप्रतिनिधि घटना मिलाउने प्रयासमा छन् ।

यादवको दाबी अनुसार अघिल्लो दिनसम्म उनको खातामा १२ लाख २० हजार रुपैयाँ थियो । बिहीबार बिहान उनले १२ लाख २० हजार रकम भएको नेपाल बैंक लिमिटेडको चेक नम्बर ०१२७६४९९७३ को ९ लाख, सोही बैंकको चेक नम्बर ०१२७६४९९७४ बाट २ लाख २० हजार र ग्लोबल आईएमई बैंकको ००५८०१६७५२ नम्बर चेकको १ लाखको भौचर भरेर माछापुच्छ्रे बैंकमा जम्मा गर्न (क्लिरियन्समा) दिएका थिए । शुक्रबार दिउँसो ३ बजे उनको खाता नम्बर ७५००६५३८२८०००१४ मा पैसा जम्मा भएको मोबाइलमा म्यासेजसमेत आएको थियो । आइतबार ८ लाखको चेक लिएर साट्न गएका यादवको खाताबाट ९ लाख पैसा गायब भएको बैंकका कर्मचारीले जानकारी दिए पछि उनी मुर्छित भए । त्यसपछि उनी बैंकको शाखा प्रमुख रामजी दासलाई भेटर खाताबाट कसरी पैसा गायब भयो भनेर सोध्न थाले । प्रमुख दासले ह्याकरले पैसा लगेको जवाफ दिए । ‘ह्याकरले यादवको खाताबाट पैसा तानेको छ,‘दासले भने, ‘यसमा हामी केही गर्न सक्दैनौं ।’

सेवाग्रहीको खाताबाट रकम गायब भएको जानकारी पाएपछि पनि प्रमुख दास जिम्मेवारीबाट पन्छिन खोजेको यादवको आरोप छ । दासले खातावालालाई आफै पत्ता लगाउनु भने पछि बैंकमा पिडितका आफन्तले केहीबेर होहल्लासहित बिहान ११ बजेतिर घेराउ कार्यक्रम सुरु गरेका हुन् । साँझसम्म पीडितका आफन्तहरु ठूलो संख्यामा बैंकमा जम्मा भएका छन् ।

ईलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरीको टोली पुगेपछि घटनाबारे अनुसन्धान थालेको जनायो । पीडित यादवले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाए । ‘मेरो खाताबाट पैसा गायब भएको भनेर बिहानै जानकारी गराउँदा समेत बैंक प्रमुख दासले बेवास्ता गरेका छन्', उनले भने, ‘खाताबाट धमाधम रकम निस्कँदा बैंकले रोक्न सकेन् । यसैमा मिलोमतो छ ।’

ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोइरालाले यादवको खाताबाट रकम गायब भएकोबारे अनुसन्धान थाल्ने बताए ।

प्रकाशित : जेष्ठ ७, २०८० २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?