कलैयामा उपनिर्वाचन कार्यालय स्थापना

बारा — आउँदो वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि सदरमुकाम कलैयामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ३ को कलैयामा शनिबार स्थापना गरिएको हो । बारा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
मितव्ययिता (कम खर्च) लाई ख्याल गर्दै निर्वाचन हुने क्षेत्रबाहिर कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले बताए । उनकाअनुसार अन्य जिल्लामा समेत उपनिर्वाचनको कार्यालय सदरमुकाममै स्थापना गरिएकोले यहाँ पनि सोहीअनुसार कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको कार्यालयमा मुख्य निर्वाचन अधिकृतमा बारा जिल्ला अदालतका २ नम्बर इजलासका न्यायाधीश मुकेश उपाध्यायलाई तोकिएको छ । उपनिर्वाचनका लागि यही २० गते सोमबार मनोनयन दर्ताको मिति तोकिएको छ ।
जिल्ला निर्वाचन कार्यालयकाअनुसार उपनिर्वाचन हुने निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५ हजार मतदातामा पुरुष ५८ हजार ७ सय ४२ र महिला ४६ हजार २ सय ६९ छन् । मतदानस्थल ८२ र कतदान केन्द्र १ सय ३६ छन् । यस क्षेत्रमा पचारौता र महागढीमाई गरी २ नगरपालिका छन् ।
देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका छन् । जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको यो निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ । गत मंसिरको प्रतिनिधिसभ चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएको छ । त्यसैका लागि उपनिर्वाचन हुँदैछ ।
प्रकाशित : चैत्र १८, २०७९ १८:२३