अस्पतालको रकम हिनामिना

शिव पुरी

रौतहट — गौरस्थित प्रादेशिक अस्पतालमा उपचार गराउन आएका बिरामीले तिरेको शुल्क कर्मचारी र विकास समितिका अध्यक्षले हिनामिना गरेको खुलेको छ ।  बिरामीबाट लिइने शुल्क अस्पताल विकास समितिको बैंक खातामा जम्मा नगरी कर्मचारी र समितिका अध्यक्षले चलाएका हुन् ।

गौर अस्पतालमा उपचारका लागि आउने बिरामीबाट रगत परीक्षण, एक्सरे, भिडियो एक्सरे, घाउ जाँच फारमलगायत जाँचमा लाग्ने शुल्क अस्पतालका अहेब प्रमोद यादव र अर्का करारका कर्मचारी असलम अन्सारीले हिनामिना गरेका छन् । यादवले बिरामीबाट २०७९ मसिर १३ गतेदेखि फागुन १५ गतेसम्म चार महिनाको १२ लाख ५२ हजार ५४ रुपैयाँ बुझेका थिए ।

उक्त रकममध्ये ४ लाख ५८ हजार ५ सय बैंकमा दाखिला गरेका छन् । बाँकी ७ लाख ९३ हजार ५ सय ५४ रुपैयाँ अस्पताल विकास समितिको खातामा जम्मा गरिएको छैन । त्यस्तै, अर्का करारका कर्मचारी अन्सारीले सोही समयमा बिरामीबाट लिएको १० लाख ९७ हजार ५ सय ९८ रुपैयाँमध्ये २ लाख ३२ हजार ४ सय ५५ रुपैयाँ मात्र बैंक खातामा जम्मा गरेका छन् । बाँकीको ८ लाख ६५ हजार १ सय ४३ रुपैयाँ आफैंसित राखे ।

उक्त रकम अस्पताल विकास समितिको खातामा जम्मा नभएको जानकारी पाएलगत्तै अस्पतालका तत्कालिन प्रमुख (मेडिकल सुपरिन्टेन्डेन्ट) डा. कृष्ण साहले यादव र अन्सारीलाई रकम जम्मा गर्न निर्देशन दिए । तर, त्यो रकम अझै उनीहरूसँगै छ । डा. साहका अनुसार दुवैले अस्पतालका बिरामीबाट मंसिरयता फागुन १५ गतेसम्म २३ लाख ४९ हजार ६ सय ५२ रुपैयाँमध्ये १६ लाख ५८ हजार ६ सय ९७ रुपैयाँ हिनामिना गरेका भेट्टिएको छ ।

समितिको खातामा दैनिक रकम जम्मा गर्नुपर्नेमा त्यसो किन नगरेको भनेर डा. साहले दुवैसित सोधपुछ गरेका थिए । दुवैले समितिका अध्यक्ष अनवर हासमीले सबै रकम लिएर गएको बताए । अहेव यादवले अस्पतालमा आउने बिरामीबाट उठेको रकममध्ये ४ लाख ४० हजार अध्यक्ष हासमीले जबर्जस्ती मागेर लगेको बताए । ‘दबाब दिएर अस्पतालको रकम लिएर जानुभयो,’ उनले भने, ‘मैले भर्पाइ गराएर मात्र पैसा दिएको छु । यसमा मेरो केही गल्ती छैन । अध्यक्ष आफैंले बैंकमा रकम जम्मा गर्ने भनेर लगेका हुन् । केही रकम मेरो जिम्मामा छ, त्यो छिट्टै खातामा जम्मा गरिदिन्छु ।’ यादव र अन्सारीलाई अस्पताल विकास समितिले नगद काउन्टरको जिम्मेवारी दिएको थियो ।

अस्पतालमा बिरामीको चाप बढेको दिन झन्डै ४०/५० हजारसम्म रकम संकलन हुने अहेव यादवले सुनाए । उक्त रकम दैनिक समितिको खातामा जम्मा गर्नुपर्नेमा अध्यक्ष र कर्मचारीले मासेका हुन् । डा. साहका अनुसार अस्पतालका अर्का कर्मचारी रामारमण सहनीले पनि बिरामीबाट जम्मा भएको ३० हजार रकम समितिको खातामा जम्मा गरेका छैनन् । उनीसित पनि सोधपुछ भइरहेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अस्पतालको रकम हिनामिनाबारे आफूले जानकारी पाएको बताए ।

‘मैले कर्मचारीबाट रकम असुलेर कारबाही गर्न भनेको छु,’ उनले भने, ‘अस्पतालको कर्मचारी होस् वा जोसुकै गलत गरेको छ भने कारबाही हुन्छ ।’ प्रादेशिक अस्पताल गौरमा भारतको बैरगनियालगायत सीमा क्षेत्रका बिरामीसमेत उपचारका लागि आउँछन् ।

प्रकाशित : चैत्र १८, २०७९ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्

बाढीको पूर्वचेतावनी प्रणाली जडान

कान्तिपुर संवाददाता

रौतहट — बाढीको पूर्वसूचना दिन गौरमा साइरन जडान गरिएको छ । सदरमुकाम गौरका स्थानीयले बर्सेनि बाढी र डुबानको समस्या झेल्दै आएका छन् । पूर्वचेतावनी प्रणाली (साइरन) जडानले सकारात्मक प्रभाव पार्ने ठानिएको छ ।

माण्डवी संस्थाको पहलमा इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (ईसीमोड) ले जिल्ला प्रशासन कार्यालय गौरको भवनको छतमा साइरन जडान गरिदिएको हो ।

साइरन बजेको एक किलोमिटरसम्म सुन्न सकिन्छ । पानी जोखिम व्यवस्थापन, जलवायु र वातावरणीय जोखिम न्यूनीकरण गर्ने कार्यमा काम गर्दै आएको ईसीमोडले बाराको लालबकैया नदीमा बाढी मापन यन्त्र र त्यही रहेको सशस्त्र प्रहरीको क्याम्पमा साइरन जडान गरेको माण्डवीका अध्यक्ष अञ्जु झाले बताइन् । निजगढ नगरपालिका–३ धन्सार खोलाका वर्षामापन गर्न यन्त्र जडान गरेको छ । लालबकैयामा पनि बाढी नाप्ने यन्त्र पनि जडान गरिएको छ । यसले चुरे क्षेत्रबाट बग्ने पानीको मात्रा रेकर्ड गर्छ ।

यसले मानवीय र भौतिक क्षति कम गराउनमा मद्दत पुग्नेछ । लालबकैया नदीको बाढीले बारा र रौतहटस्थित नदी किनारमा बसोबास गर्ने समुदायलाई असर गर्दै आएको छ ।

प्रकाशित : चैत्र १८, २०७९ ०९:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×