भारतीयले गोली प्रहार गर्दा सप्तरीमा एक जना घाइते, घटनास्थलमा प्रहरी जाँदै- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीयले गोली प्रहार गर्दा सप्तरीमा एक जना घाइते, घटनास्थलमा प्रहरी जाँदै

अवधेशकुमार झा

राजविराज — कोसी नदीको मध्यभागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा बुधबार साँझ भारतीयहरु प्रवेश गरी गोली प्रहार गरेका छन् । ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकले ५–६ राउन्ड गोली फायरिङ गरेको सुरक्षा स्रोतले जनाएको छ । छर्रा लागेर स्थानीय महेन्द्र पासमान घाइते भएका छन् । उनको घुँडामा छर्रा लागेको छ । 

मध्य कोसीमा रहेको गोबरगाढाबस्ती भारतीय सीमासित जोडिएको छ । सो बस्तीका गाईभैंसी चोरी गरी भारततर्फ लाने गरेकोमा पछिल्लो समय स्थानीय बिन्देश्वर रामको भैँसी चोरी भएको घटनामा स्थानीय बासिन्दाहरुले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई गोबरगाढामा राखेका थिए । ती भारतीय नागरिकलाई छुटाउन ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकहरुले बस्तीमा फायरिङ गर्दै स्थानीयलाई कुटपिटसमेत गरेको वडाध्यक्ष कुशेश्वर यादवले जानकारी दिए । बन्दुक र घरेलु हातहतियारसहित आएका भारतीयहरुले भैँसी चोरेको आरोपमा गोबरगाढावासीले नियन्त्रणमा राखेकालाई लगेको वडाध्यक्ष यादवले बताए ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेलका अनुसार गोबरगाढामा भारतीयहरु आएर गोली प्रहार गरेको सूचना आएको र त्यसतर्फ नेपाल तथा सशस्त्र प्रहरी परिचालित भइसकेका छन् ।


प्रकाशित : माघ २५, २०७९ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजारभन्दा बढी

रासस

अकंरा — टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपराह्न सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी आठ हजार ५७४ जनाको मृत्यु भएको छ । यसअघि देशको टर्कीको विपद् व्यवस्थापन निकायले ४० हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो ।

यसैगरी, सिरियामा कम्तीमा एक हजार २५० जनाको मृत्यु हुनुका साथै दुई हजार ५४ जना घाइते भएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सिरियामा विपक्षीको कब्जामा रहेको क्षेत्रमा कम्तीमा एक हजार २८० जनाको मृत्यु हुनुका साथै दुई हजार ६०० भन्दा बढी घाइते भएको उद्धारकर्मीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४:१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै सोही दिन दिउँसो १:२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

टर्की र सिरियामा सोमबार गएको दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि समय र कठ्यांग्रिँदो जाडोको सामना गरिरहेका छन् । धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन् ।

यसै क्रममा ८२ सदस्यीय चिनियाँ उद्धार टोली चार्टर्ड विमानबाट आठ हजार किलोमिटरभन्दा बढी उडेर टर्कीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गर्न बुधबार अदाना विमानस्थलमा आइपुगेको छ । चिनियाँ उद्धार टोलीका उपप्रमुख वाङ मोले भने, 'टोलीले अडियो र भिडियो लाइफ डिटेक्टर, मेडिकल सामग्री र तालिम प्राप्त कुकुरलाई विपद् क्षेत्रमा ल्याउनेछ र तत्काल खोजी तथा उद्धार कार्य सुरु गर्नेछ ।'


प्रकाशित : माघ २५, २०७९ १९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×