मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर-६ स्थित पूर्व-पश्चिम राजमार्गको धन्सार नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही घर भएका शिक्षक रहेका छन् । आइतबार राति घरबाट बाराको निजगढ जाँदै गरेका शिक्षकले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा मृत्यु भएको ईलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।  

बाराको निजगढस्थित होली एन्जल्स इङ्लिस बोर्डिङ स्कुलमा अध्यापन गर्दै आएका हरिवन-७ का किरण घिसिङ लामाको मृत्यु भएको ईलाका प्रहरीका डीएसपी सन्तुप्रसाद जैसवारले बताए । ‘राति लामाले चलाएको मधेस प्रदेश ०४–००१–प ३५५७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको छ, ‘डीएसपी जैसवारले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

उपचारको क्रममा आइतबार राति करिब ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना हो वा अन्य कारणले भन्ने गहिरिएर अनुसन्धान गर्न पीडितका आफन्तले प्रहरीलाई अनुरोध गरेको छ ।

प्रकाशित : माघ २३, २०७९ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु : उपाध्यक्ष अर्याल

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छन् । सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी हुन् ।

उनले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताइन् । उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरूबीचको सहकार्यलाई विकास गर्दै जाने पनि बताइन् । उपाध्यक्ष अर्यालले आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने बताएकी छन् । त्यस्तै महिलाहरूका लागि नयाँ नियम, कानुन बनाउने सन्दर्भमा पहलकदमी लिने उनले बताइन् ।

‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने कुराहरूमा हुनेछ । प्रभावकारी नै छ पनि । सबै अनुभवी माननीयज्यूहरू हुनुहुन्छ । एउटा भोगाइ, अनुभव सबै बटुलिसकेको जस्तो लाग्छ मलाई राष्ट्रिय सभामा । त्यहाँ परिपक्व व्यवहार नै हुन्छ होला । तथापि त्यसमा अझ सहजीकरण के गर्दाखेरी अझ प्रभावकारी बनाउन सकिन्छ ?’ उनले भनिन्‚ ‘महिला माननीयज्यूहरूका बीचमा सहकार्यलाई कसरी विकास गरेर जाने यी तमाम चिजहरूमा काम गर्ने सोच छ ।यो देशमा परिवर्तन ल्याउने हरेक पार्टीका महिलाहरूले जुन योगदान छ । कति यो ठाउँसम्म नआउँदै हराउनुभयो । कति सहिद हुनुभयो । ती तमामलाई सम्झेर हामीले प्रतिबद्धताका साथ काम गर्नेछौँ । बाँकी महिलाहरूका लागि के कति कामहरू, नयाँ नियम कानुनहरू बनाउन सक्ने कुरामा पहलकदमी लिने र सहकार्यलाई बढाएर जानेछौं । त्यसको नीतिगत पहलहरूमा भूमिका खेल्नेछौं ।’

उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरूका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरूले आफूलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन भूमिका खेलेको बताइन् । आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदहरूले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उनको भनाइ छ ।

उनले आफूले कसैको पक्ष नलिई काम गर्ने कुरामा सबैको विश्वास रहेको समेत बताइन् ।

प्रकाशित : माघ २३, २०७९ १४:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×