स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जसपामा प्रवेश- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जसपामा प्रवेश

कान्तिपुर संवाददाता

काठमाडौँ — मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । महोत्तरी क्षेत्र नं २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका हुन् ।

दुवै प्रदेशसभा सदस्यलाई आज बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै पार्टी प्रवेश गराएका जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए । उनका अनुसार मधेस प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य रहेकामा थप दुई प्रवेश गरेपछि प्रदेशसभामा अब १८ जना भएका छन् ।

सत्ता सहकार्यबारे जसपा र जनमत पार्टीबीच छलफल

सत्ता सहकार्यबारे जसपा र जनमत पार्टीबीच आइतबार छलफल भएको छ । मधेस प्रदेशमा सहकार्यलगायतका विषयमा जनमत पार्टीले जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको हो । जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहा र महासचिव चन्दन सिंहलगायतका नेताहरूले बालकमारीस्थिज जसपाको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग छलफल गरेको सो पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए । सो भेटमा मधेस सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि गठबन्धन बनाउने विषयमा नेताहरूबीच कुराकानी भएको थियो ।

प्रकाशित : माघ ८, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा नेपाली युवकको हत्याकाण्ड : २ जना पक्राउ

हत्यामा संलग्न भएको आशंकामा भारतमा पनि तीन जना पक्राउ परेका छन्
कान्तिपुर संवाददाता

काठमाडौँ — जनकपुर धामका दुई युवकको भारतमा अपहरणपछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । घटनामा संलग्न भएको आशंकामा दुई जना नेपाली नागरिक पक्राउ परेका हुन् । यस्तै भारतीय प्रहरीले पनि घटनामा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको क्षेत्रीले जानकारी दिए ।

१३ दिनअघिदेखि सम्पर्कबिहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी २२ वर्षीय विष्णु साहको हत्या भएको थियो। मृतक दुवै जना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्ला गएको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेको आफन्तहरुले बताएका छन् ।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताए । अपहरणकारीले २० लाखसहित सर्लाहीको मलंगवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरुले प्रहरीमा खबर गरेका थिए ।

प्रकाशित : माघ ८, २०७९ १७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×