नेपाली बजारमा भारतीय गोलभेंडा- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली बजारमा भारतीय गोलभेंडा

प्रतिस्पर्धा गर्न नसक्दा सस्तो मूल्यमा बेच्दै स्वदेशी किसान, लागत नउठ्ने चिन्ता
ओमप्रकाश ठाकुर

सर्लाही — भारतबाट ल्याइएको गोलभेंडाले नेपाली बजारमा स्थान पाएपछि सर्लाहीका किसान मारमा परेका छन् । हुस्सु र कुहिरोले गोलभेंडा उत्पादनमा ह्रासको मार खेप्दै आएका किसान भारतीय गोलभेंडा भित्रिएपछि थप समस्यामा परेका हुन् ।



मूल्यको हिसाबले नेपालीभन्दा भारतीय गोलभेंडा सस्तो हुने गरेको छ, जसका कारण नेपाली उत्पादनले बजार पाउनै मुस्किल भएको छ । जिल्लाका उत्तरी क्षेत्रका किसान अहिले गोलभेंडाको बोट जोगाउन विषादी छर्न, पाकेको टिप्न र बजारसम्म पुर्‍याउन व्यस्त छन् । यस वर्ष प्रतिकूल मौसमका कारण किसानको अपेक्षाअनुसार गोलभेंडा उत्पादन हुन सकेको छैन । उत्पादित गोलभेंडाले पनि बजार नपाउँदा लगानी नउठ्ने हो कि भन्ने चिन्तामा किसान छन् ।

दुई बिघामा गोलभेंडा खेती गरेका हरिवन नगरपालिका–२ अत्रौलीका किसान सुरेन्द्र मण्डलले शीतबाट बोट जोगाउन निकै खर्च परेको बताए । त्यसअनुसारको उत्पादन हुन नसकेको बताउँदै उनले बजारमा भारतीय गोलभेंडाले स्थान पाउँदा आफूहरू मारमा परेको सुनाए । अत्रौलीकै अर्जुन महतोले २ बिघामा गोलभेंडा लगाएका छन् । उनले सुरुवातमा प्रतिक्रेट १ हजार ५ सयदेखि १ हजार ८ सय रुपैयाँसम्ममा बिक्री गरेको गोलभेंडाको मूल्य यो साता न्यून मूल्यमा झरेको बताए । भारतबाट गोलभेंडा आएपछि ५ सय रुपैयाँमा झरेको उनले गुनासो पोखे । ‘गोलभेंडाको मूल्य नझर्ने हैन, उत्पादन वृद्घि भएपछि आफैं कम हुन्छ, तर यहाँ त किसानको उत्पादन चाहे जति निक्लन नसकेका बेला भारतीय गोलभेंडाले मूल्य घटाइदियो ।’ महतोका अनुसार भारतीय किसानले राज्यबाट विभिन्न किसिमका अनुदान पाउँछन्, जसले लागत कम हुन्छ ।

अर्का किसान माधव गिरीले मल, बीउ र खेत खन्न खर्च बढे पनि मूल्य निरन्तर ओरालो लाग्दा समस्यामा परेको दुःखेसो पोखे । उनले यस वर्ष शीतलहरबाट जोगाउन पनि विषादीमा निकै खर्च ब्यहोर्नुपरेको बताए । गिरीले ५ बिघामा गोलभेंडाको खेती गरेका छन् । ‘उत्पादन कम भएका बेला राम्रो मूल्य हुन्छ, त्यसमा पनि भारतीय गोलभेंडाले बजार खाइदिन्छ,’ उनले भने ।

गोलभेंडा उत्पादनमा अग्रणी सर्लाहीमा हजारौं किसान यो खेतीमा छन् । मुख्य सिजनमा दैनिक एक सय टनभन्दा बढी उत्पादन हुने गोलभेंडाको मूल्य घट्दा जनजीविकामै असर पर्छ । गोलभेंडा उत्पादनको अन्तिमसम्ममा पनि बजार भाउ नपाउँदा किसानलाई ठूलो क्षति ब्यहोर्नुपरेको छ । लालबन्दी, नवलपुर, सासापुर र अत्रौलीबाट दैनिक करिब एक दर्जन ट्रकमा गोलभेंडा देशका प्रमुख सहरमा बिक्रीका लागि जान्छन् । यहाँको गोलभेडाको बढी खपत काठमाडौंमा हुन्छ । काठमाडौंमा पनि भाउ घटेको हो ।

प्रकाशित : माघ १, २०७९ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु 

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको नयाँरोड–बरहथवा सडकखण्डमा रोकिरहेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ । 

शनिबार बिहान वाग्मती नगरपालिका–२ स्थित नयाँरोड–बरहथवा सडकखण्डमा बिग्रेर रोकिराखिएको ना ५ ख ७५६४ नम्बरको उखु लोड गरिएको ट्रकमा वाग्मती प्रदेश ०३–००४ प १५९३ नम्बरको मोटरसाइकल ठोक्किँदा चालकको ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक गोडैता नगरपालिका–४ का ३२ वर्षीय विश्वजित हजारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ भने ट्रकका चालक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस ३०, २०७९ ०९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×