नगर प्रमुखकै निर्देशनमा अवैध उत्खनन- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगर प्रमुखकै निर्देशनमा अवैध उत्खनन

सरकारी एक्स्काभेटरसहित ६ वटा सवारी नियन्त्रणमा, बाटोका खाल्डाखुल्डी पुर्न ग्राभेल उठाइएको पालिकाको भनाइ
सुनिता बराल

महोत्तरी — महोत्तरीको गौशालास्थित मराहा खोलाबाट गिट्टी, बालुवाको अवैध उत्खनन गर्ने ६ वटा सरकारी गाडी नियन्त्रणमा लिइएको छ । अनुगमनका क्रममा नदीजन्य पदार्थको अवैध उत्खनन गरेको फेला परेपछि गौशाला नगरपालिकाका गाडी गिट्टी, बालुवासहित नियन्त्रणमा लिइएको हो ।

पालिकाको नाममा रहेका प्रदेश २–०४–००१ ग ०००१ नम्बरको एक्स्काभेटर र ढुवानीमा प्रयोग भइरहेका अन्य ५ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाएको हो ।

अनुगमनका क्रममा पालिकाकै नाममा रहेका एक्स्काभेटर र ट्र्याक्टर नै अवैध उत्खननमा प्रयोग भएको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको जिसस प्रमुख सुमनलाल कर्णले बताए । ‘नगरपालिकाले खोलाबाट ढुंगा, गिट्टी, बालुवा निकाल्न ठेक्का लगाउनै बाँकी छ । तर, यहाँ अन्य सरकोरवाला निकायलाई जानकारी नै नदिई नगर प्रमुखको ठाडो आदेशमा खोला उत्खनन गरिएको भेटिएपछि सवारीसाधन नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘नियमन गर्ने निकाय नै अवैध उत्खननमा सहभागी हुनु पक्कै राम्रो होइन ।’

पालिकाका बाहेक अवैध उत्खननमा प्रयोग गरिएका ना७ख ४१३२ नम्बरको टिपर, ना६त १६९१, ज१त ६५२३ र ज१त ३७३ नम्बरको ट्र्याक्टर पनि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए । प्रहरीले नियन्त्रणमा लिएका गाडी तथा उपकरण पालिकाले जरिवाना लिएर छोड्ने गरेको छ तर यहाँ पालिकाकै सवारीसाधन नै अवैध उत्खननमा प्रयोग भइरहेको भेटिएपछि नियन्त्रणमा लिई जिससलाई बुझाइएको उनले जानकारी दिए ।

उखु क्रसिङ गर्ने समय भएकाले भित्री बाटाहरू मर्मतका लागि आवश्यक नदीजन्य पदार्थ निकालेको गौशाला नगर प्रमुख दिपेन्द्र महतोले बताए । ‘पालिका नै अवैध उत्खननमा सहभागी भएको होइन । गौशाला–९ स्थित बाटोमा खाल्डाखुल्डी धेरै भएर उखु ढुवानी गर्न समस्या भइरहेको किसानको गुनासो सम्बोधन गर्न ग्राभेल निकालिएको हो,’ उनले भने, ‘पालिकाको आदेशमा नगरकै विकासमा लगाइएका सवारीसाधन हामीलाई जानकारी नै नदिई प्रहरीले नियन्त्रणमा लिनु उचित भएन ।’

यता, जिससले जिल्लाका सबै पालिका र क्रसर उद्योगलाई नदीजन्य पदार्थको मौज्दात रहेको विवरण र उद्योगको बैधताबारे कागजात पठाउन पत्राचार गरेको छ । तत्कालाई जिल्लामा कहींकतै उत्खनन नगर्न पनि स्पष्ट भनिएको जिसस प्रमुख कर्णले बताए । जिल्लाको गौशाला, भंगाहा र बर्दिवासमा अनुगमन गर्दा उत्खननलाई नियमसंगत र मापदण्डमा ल्याउन चुनौती देखिएको पनि उनले अनुभव सुनाए । ‘नियमन गर्ने निकाय नै उत्खननमा संलग्न हुने र तस्करकै संरक्षणमा लागेको आभास पाइएको छ, त्यसलाई नियन्त्रण गर्न जिसस लाग्नेछ,’ उनले भने ।

हाल नगरपालिकाकै सवारीसाधन नियन्त्रणमा लिइएकाले अन्य सवारीको हकमाभन्दा धेरै कारबाही गर्नुपर्ने देखिएको उनको भनाइ छ । यता, गौशाला नगरपालिकाले भने समुदायको काम गर्ने क्रममा खटाइएका सवारीसाधन किन र कति कारणले नियन्त्रणमा लिएको भनी प्रहरीलाई स्पष्टीकरण सोधेको नगर प्रमुख महतोले बताए । ती सवारीसाधन बिनासर्त प्रहरीले छाड्नुपर्ने उनको माग छ ।

प्रकाशित : पुस २३, २०७९ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

मेयरको आदेशमा अवैध उत्खनन्, नगरपालिकाका सवारी प्रहरी नियन्त्रणमा

सुनिता बराल

महोत्तरी — महोत्तरीको गौशालास्थित मराहा खोलाबाट अवैध उत्खनन् गर्ने ६ वटा सवारी कारबाहीमा परेका छन् । अनुगमनका क्रममा नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको फेला पारेपछि गौशाला नगरपालिकाको प्रदेश २–०४–००१ ग ०००१ नम्बरको जेसीबी, प्रदेश २–०२–००१ द ००१३ नम्बरको ट्याक्टर र अन्य ४ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको लागि सिफारिस गरेको हो । 

जिल्ला समन्वय समितिसहित सम्बन्धित पक्षको अनुगमनमा नगरपालिकाको सरकारी जेसीबी र ट्याक्टर नै अवैध उत्खननमा प्रयोग गरेको पाइएको जिल्ला समन्वय समितिका सभापति सुमन लाल कर्णले जानकारी दिए ।

नगरपालिकाले खोला ठेक्का लगाइनसकेको र अन्य निकायलाई जानकारी बिना मेयरको ठाडो आदेशमा खोला खनेको पाएपछि सवारी नियन्त्रणमा लिएको उनले बताए । नियमन गर्ने निकाय नै अवैध उत्खननमा सहभागी हुनु गम्भीर चुनौती र चिन्ताको विषय भएको कर्णले बताए ।

नगरपालिकाको सवारीसँगै अन्य सवारीमा ना ७ ख ४१३२ नम्बरको ट्रिपर, ना ६ त १६९१, ज १ त ६५२३ र ज १ त ३७३ नम्बरको ट्याक्टर अवैध उत्खनन गरिरहेको समयमा नियन्त्रणमा लिइएकोे इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएको उपकरण नगरपालिकाले जरिवाना लिएर छोड्ने गरेको छ । तर नगरपालिकाको सवारी नै अवैध उत्खननमा प्रहरीले नियन्त्रणमा लिएको छ । गौशाला नगरपालिकाका मेयर दिपेन्द्र महतोले भने उखु क्रसिङ गर्ने समय भएकाले गाउँघरका बाटो मर्मत गर्न आवश्यक नदीजन्य पदार्थ नगरपालिकाले निकालेको बताए ।

नगरपालिकाको सवारीले अवैध उत्खनन् गरेको नभई खाल्डाखुल्डी बाटोबाट किसानले सास्ती पाइराखेकाले गौशाला ९ मा बाटो मर्मत गर्न आवश्यक नदीजन्य पदार्थ निकालिएको मेयर महतोले दाबी गरे । साथै नदीजन्य पदार्थको अवैध उत्खनन् नेपालमै गौशालाले मात्रै रोकेको मेयर महतोले दाबी गरे । तर नगरपालिकाको आदेशमा नगर विकासको काममा खटिएको सवारी नगरपालिकालाई नसोधी प्रहरीले नियन्त्रणमा लिनु उचित नभएको मेयर महतोले बताए ।

जिल्ला समन्वय समितिले अहिले जिल्लाका सबै पालिका र क्रसर उद्योगलाई स्टक परिणामको विवरण र अद्योगको वैधताबारे कागजात पठाउन पत्रचार गरेको छ । तत्काललाई जिल्लामा कहीँकतै उत्खनन् नगर्न र वैधतासहित स्टक परिणाम पठाउन पुस २० गतेको अन्तिम म्याद दिएर पत्रचार गरिएको जिल्ला समन्वय सभापति कर्णले जानकारी दिए । जिल्लाको गौशाला, भंगाहा र बर्दिवासमा अनुगमन गर्दा उत्खननलाई नियमसंगत र मापदण्डमा ल्याउन निकै चुनौती देखिएको कर्णले बताए । नियमन गर्ने निकायकै उत्खननमा संलग्नता र संरक्षणको आभाष पाइएकोले यसलाई नियन्त्रण गर्न समन्वय समिति लाग्ने उनले बताए ।

गौशाला नगरपालिकाले भने समुदायको काम गर्ने क्रममा खटेको सवारी किन र कति कारणले नियन्त्रणमा लिएको भनी प्रहरीलाई स्पष्टीकरण सोधेको मेयर महतोले बताएका छन् । बिनासर्त नगरका सवारी प्रहरीले छोड्नुपर्ने उनको भनाइ छ । समन्वय समितिले ती सवारी पुस १३ गते पक्राउ गरेको हो । अहिलेसम्म नगरपालिकाले आफ्नो तर्फबाट उत्खनन् गर्नुअघि भएको कमीकमजोरी स्वीकार गर्ने र सवारी लिने विषयमा समन्वय समितिसँग समन्वय गर्नुपर्ने सभापति कर्णले बताएका छन् ।

प्रकाशित : पुस १९, २०७९ २०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×