कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शीतलहरले मधेसको जनजीवन कष्टपूर्ण

चिसोले कठ्यांग्रिएर सर्लाहीमा ४ र सप्तरीमा १ गरी ५ जनाको मृत्यु भएको छ ।
मधेस ब्युरो

जनकपुर — शीतलहरले मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । विशेषगरी बालबालिका र वृद्धवृद्धा बिरामी परेका छन् भने केहीको चिसोकै कारण मृत्युसमेत भएको छ । प्रदेशका जिल्लामा सोमबारदेखि शीतलहर सुरु भएको हो । यहाँ अधिकतम तापक्रम २० भन्दा पनि मुनि छ । एकाबिहानै बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेको छ ।

शीतलहरले मधेसको जनजीवन कष्टपूर्ण

चिसोले विशेषगरी विपन्न वर्गलाई असर पुगेको छ । पर्याप्त ओढ्ने–ओछ्याउने नहुँदा अधिकांशले आगो तापेर चिसो भगाउने प्रयास गर्दै आएका छन् । दिनभर हुस्सु लाग्दा जनकपुर, सिमरा र राजविराजमा हवाई उडान प्रभावित भएको छ ।

चिसोले कठ्यांग्रिएर सर्लाहीमा ४ र सप्तरीमा १ गरी ५ जनाको मृत्यु भएको छ । एक साताअघि सर्लाहीको बसबरिया गाउँपालिका–५ मा ७९ वर्षीया श्रीपतीदेवी पासवानको मृत्यु भएको परिवारजनले जनाएको छ । त्यसअघि हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय रामभगत माझी र हरिपुर–९ पिडारीका ४० वर्षीय रमेश माझीको चिसोले ज्यान गएको थियो । यस्तै हरिवन बजारमा मागेर खाने करिब ६५ वर्षीय एक पुरुषको पनि कठ्यांग्रिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यालादारीमा मजदुरी गर्ने सर्लाही कविलासी नगरपालिका–७ गैरकी शान्ति माझी चिसोकै कारण काममा जान सकेकी छैनन् । ‘अत्यधिक चिसो छ, काम खोज्न जाने हिम्मत पनि छैन,’ उनले भनिन्, ‘काम नपाएकाले बालबच्चाको पालनपोषणमा समस्या भइरहेको छ ।’ उनले घरमा आगोको सहारामा चिसो छलिरहेको बताइन् । अति विपन्न, मुसहर तथा डोम समुदायले चिसोबाट बच्न जुटको बोरा जोडेर भित्र पराल हाली सिरक तथा डसना बनाएका छन् । उनीहरू जाडोबाट बच्नका लागि परालले बुनेको चटाइ तथा पराल राखेको सिरक ओढ्ने गर्छन् । घाम नलागेकाले पराल सुकाउनसमेत नसकिएको स्थानीय मरणीदेवी माझीले बताइन् । ‘चिसोले ओछ्यानमा हालेको पराल ओसिएको छ, घाम नलागेकाले सुकाउन सकिएको छैन,’ उनले भनिन्, ‘दिउँसो त जेनतेन कटाउँछौं, रात त कटाउनै मुस्किल छ ।’

प्रदेशसभाको पहिलो बैठकमा सांसदहरूले शीतलहरले मधेसको जनजीवनलाई नराम्ररी प्रभावित बनाएकाले त्यसबाट बच्ने उपाय, राहत र न्यानो सामग्री वितरणमा प्रदेश सरकारको ध्यानाकर्षण गराए । सर्लाहीका सांसद बेंची लुङेलीले शीतलहरले सर्लाहीमा विपन्न गरिबको मृत्यु भएकाले उनीहरूको परिवारलाई राहत र शीतलहरबाट बच्न न्यानो कपडा वितरण गर्न प्रदेश सरकारसँग माग गरिन् । शीतलहर सुरु भए पनि प्रदेश सरकारले त्यसबाट जोगाउने कार्यक्रम भने ल्याउन सकेको छैन । स्थानीय तहले पनि दाउरा वितरण र विद्यालय बन्दबाहेक अरू उपाय अवलम्बन गरेको देखिन्न ।

धमाधम विद्यालय बन्द

मधेसमा अत्यधिक चिसो बढेपछि पालिकाहरूले धमाधम विद्यालय बन्द गराइरहेका छन् । वीरगन्ज महानगरपालिकाले सोमबार सूचना जारी गरी महानगर क्षेत्रका विद्यालयमा मंगलबारदेखि शुक्रबारसम्म बिदा दिएको छ । हिउँदे बिदामा कट्टा हुने गरी बिदा दिइएको हो । मंगलबारदेखि महानगरका अधिकांश सामुदायिक र संस्थागत विद्यालय बन्द छन् । पर्साका अधिकांश गाउँ तथा नगरपालिकाका विद्यालय हाल बन्द गरिएका छन् ।

सर्वसाधारण तथा बटुवाको सहजताका लागि महानगरले मुख्यमुख्य चोकमा आगो ताप्न दाउराको व्यवस्था गरेको छ । मानव सेवा आश्रम वीरगन्ज तथा स्वयंसेवी युवाको समूहले रातको समयमा सडकपेटीमा सुत्नेलाई न्यानो कपडा र सिरक वितरण गर्ने अभियान नै चलाएको आश्रमका अभिभावक प्रकाश थारूले बताए ।

पालिकाहरूले विद्यालय बन्दबाहेक चिसो छल्न अरू कुनै उपाय नै अपनाउन नसकेको नागरिक अगुवा रजनीकान्त झाले बताए । उनले स्थानीय सरकारले चिसोलगायत प्रकोपबाट बच्ने रणनीति बनाउनुपर्नेमा जोड दिए ।

निमोनियाका बिरामी बढे

शीतलहर बढेपछि निमोनियाका बिरामी पनि बढेका छन् । रौतहटमा दिनहुँ ४–५ जना बालबालिका निमोनियाका कारण अस्पताल भर्ना हुन थालेका छन् । चन्द्रपुर अस्पतालका चिकित्सक सुभाष चौधरीका अनुसार बढ्दो शीतलहर र चिसोका कारण बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या देखिएको हो । चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जिल्ला दैविक प्रकोप उद्धार समितिले शीतलहरबाट मानवीय क्षति हुन नदिन चोक/चोकमा दाउरा बालेर न्यानो पार्ने काम गरेको बताए । जिल्ला ट्राफिक प्रहरी निरीक्षक विमला कडायतले हुस्सुले नजिक देख्नसमेत कठिन भएकाले चालकलाई बिस्तारै सवारी चलाउन अनुरोध गरेको बताए । ‘हुस्सु लागेका बेला सवारी दुर्घटना हुने बढी डर हुन्छ,’ उनले भनिन्, ‘यस्तो बेला सावधानी अपनाउन आग्रह गरेका छौं ।’

प्रकाशित : पुस २१, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?