कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्रोत नखुलेको पैसासहित गौरबाट २ जना भारतीय नागरिक पक्राउ     

शिव पुरी

रौतहट — रौतहटको सदरमुकाम गौर स्थत भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले मंगलबार झन्डै साढे चार लाख भारतीय रुपैयाँसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । उनीहरूले ल्याएको पैसाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

स्रोत नखुलेको पैसासहित गौरबाट २ जना भारतीय नागरिक पक्राउ     

सदरमुकाम गौर भन्सार अगाडि चेक गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकलमा सवार दुई भारतीय नागरिकको साथबाट ४ लाख ४९ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनायो ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला गोपालपुर बल्हाचोकका आजादकुमार मालाकार र सञ्जीवकुमार तिवारी रहेको जिल्ला प्रहरी गौरले जनाएको छ । आजादको साथबाट २ लाख ४५ हजार र तिवारीको साथबाट २ लाख ४ हजार ५ सय भारतीय रुपैयाँ बरामद भएको थियो ।

स्रोत नखुलेको भारतीय रुपैयाँसहित मोटरसाइकलसमेत नियन्त्रणमा लिई पथलैया राजस्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।

‘सीमापारिबाट हुने अवैध रकम ओसारपसारबारे निगरानी बढाएका छौँ,’ उनले भने,‘भारतबाट आउने रकम नेपालमा कसले र कहाँ प्रयोग गर्छन् भन्ने अनुसन्धान हुँदै छ ।’ केही समययता सीमाक्षेत्रमा अवैध कारोबार बढ्दै गएको छ ।

प्रकाशित : पुस १९, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?