कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

१७७ चिकित्सकको राजीनामा : बीपी प्रतिष्ठानका सेवा दुईसातादेखि प्रभावित

गतिरोध हटाउन सरकार उदासीन 
प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवासँगै अध्यापनका नियमित प्रक्रिया प्रभावित भएको छ । सात वर्षयता अवरुद्ध वृत्तिविकासका प्रक्रिया नियमित हुनुपर्ने भन्दै १ सय ७७ चिकित्सकले राजीनामा दिएको प्रभाव देखिन थालेको हो ।

१७७ चिकित्सकको राजीनामा : बीपी प्रतिष्ठानका सेवा दुईसातादेखि प्रभावित

व्यवस्थापनसँग असन्तुष्ट चिकित्सकहरुले दुई साताअघि सामूहिक राजीनामा दिएका थिए । उनीहरुले ड्युटी छाडेपछि प्रतिष्ठानमा उपचार सेवासँगै चिकित्साशास्त्रको पठनपाठन र अनुसन्धान प्रभावित भएको हो ।

चिकित्सकहरुका मागप्रति न प्रतिष्ठान व्यवस्थापन गम्भीर छ‚ न त सरकार प्रदेश र संघीय सरकार । यसले सर्वसाधारणमा चासो र चिन्ता बढाएको छ । प्रतिष्ठानका शिक्षक चिकित्सकको बढुवा सात वर्षदेखि रोकिएको छ । आन्दोलित चिकित्सकले वृत्ति विकासका नियिमत प्रक्रिया रोकिन नहुने माग गरिरहेका हुन् ।

बढुवाका लागि प्रतिष्ठानको आफ्नै प्रक्रिया थियो‚ जसलाई ७ वर्ष अघिसम्म नियमित गरिएको थियो । प्रतिष्ठानको शिक्षक कल्याण समाजका अनुसार उपकुलपति प्राडा प्रल्हाद कार्कीले अघिल्ला पदाधिकारी र कार्यकारिणी समितिले गरेका निर्णयहरुलाई बेवास्ता गर्दै लोकसेवा आयोगलाई पत्राचार गरेका थिए । आयोगले प्रतिष्ठानलाई जवाफ पठाएपछि आन्तरिक पदोन्नति प्रक्रिया बीचैमा रोकिएको दाबी समाजको छ ।

उपकुलपति कार्कीले भने नयाँ नियमावली नबनेकाले आयोगको स्वीकृतिविना आन्तरिक पदोन्नति गर्दा अवैधानिक ठहर हुने दाबी गरेका छन् । बढुवा लगायतका विषयमा निजामती सेवाका कर्मचारीका लागि नयाँ नियमावली बनेको छैन । तर उनीहरुको पदोन्नति भइरहेकाले आफूहरुको पनि पुरानै नियमावली अनुसार प्रक्रियालाई निरन्तरता दिनुपर्ने एक सूत्रीय माग प्रतिष्ठानका चिकित्सकहरुको छ ।

केन्द्र र प्रदेश सरकारले सुनुवाइ नगरेपछि प्रतिष्ठानको सेवा नै प्रभावित भइरहेको छ । स्थानीय स्तरका राजनीतिक दलहरुले चासो दिए पनि पहलकदमी प्रभावकारी हुन सकेको छैन । प्रतिष्ठानको शिक्षक कल्याण समाज र पदाधिकारी आआफ्नै अडानमा छन् ।

राजनीतिक दलका प्रतिनिधिहरुले आन्दोलनरत पक्षसँग बैठक गरेर कुरा सुन्दैछन् । धरान कांग्रेसका अध्यक्ष श्याम पोखरेल प्रतिष्ठान व्यवस्थापन र आन्दोलनकारी दुवै पक्षलाई एकै ठाउँ राखेर गतिरोध हटाउन दबाब दिने तयारी भइरहेको छ । ‘पदाधिकारीहरुसँग सम्पर्क गरिरहेका छौं । तत्काल बैठक बस्न दबाब दिइरहेका छौं । तर चारजना मध्ये दुइजना धरान बाहिर रहेकाले एक-दुई दिन पर्खिनुपर्ने भयो,' उनले भने,'भोलि वा पर्सि धरान आएपछि दुवै पक्षलाई एकै ठाउँमा राखेर समाधान निकाल्ने तयारीमा छौं ।’

जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष ताजुव लिम्बुले प्रतिष्ठानका पदाधिकारी र आन्दोलनकारी पक्षको जुंगाको लडाइले प्रतिष्ठान धरासायी हुन लागेको बताए । 'उपचार‚ पढाइ सबै प्रभावित भइरहँदा सबै बसेर समाधान निकाल्नै पर्छ,' उनले भने । एमाले धरानका अध्यक्ष हर्कराज एभेङ चिकित्सकहरुको सात वर्षदेखि रोखिएको पदोन्नति प्रक्रिया सुरु गराउन पदाधिकारी, कार्यकारिणी समिति (कास) र सिनेट (सञ्चालक परिषद्)लाई कडा दबाब दिने बताउँछन् । उनले भने, ‘प्रतिष्ठानको आन्तरिक समस्या उनीहरु आफैंले समाधान गरुन् भनेर पर्खिदा पर्खिदै लामो समय बित्यो । धेरै बिरामीले दु:ख पाए । अब टुलटुलु हेरेर बस्नु हुँदैन ।’ उपकुलपति प्राडा प्रल्हाद कार्की र रजिष्ट्रार सूर्य संग्रौला स्वास्थ्य मन्त्री र प्रधानमन्त्री भेट्न काठमाडौंमा छन् । उनीहरु फर्कनासाथ निकासका लागि दलहरुले बाटो खुलाउन भइरहेको अध्यक्ष एभेङले बताए ।

‘स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्र, हजारौंको उपचार गर्ने, पठनपाठन गर्ने स्वास्थ्य शैक्षिक संस्था यतिका दिनसम्म डेडलक हुँदा धरानको स्थानीय सरकारले पनि चासो दिएन । दलहरु अगाडि आउनु बाध्य भए । अब को-को रहन्छन्, ककस्को कार्यकक्षमा तालाबन्दी गर्ने हो, ककस्लाई लेखेट्नु पर्ने हो त्यो दलले निर्णय गर्ने अवस्था आएको छ‚’ उनले भने ।

आन्दोलनरत पक्षका चिकित्सक डा मधुर बस्नेतले दलहरूले चिकित्सकको आन्दोलनमा चासो देखाउनु सकारात्मक भएको बताए । उनले भने, ‘पदाधिकारी जिम्मेवार भएर काम गरेको भए यो अवस्था नै आउँदैनथ्यो ।’

तत्कालीन उपकुलपति डा ज्ञानेन्द्र गिरीले २०६९ पुस २० र माघ २५ को फरक फरक मितिमा शिक्षकहरूको आन्तरिक बढुवा गर्ने भनी सूचना प्रकाशित गर्दै प्रक्रिया सुरु गरेका थिए । तर भ्रष्टाचारको अभियोग लागेर उनी निलम्बित भए । आन्तरिक पदोन्नति प्रक्रिया पनि रोकियो ।

लामो समयसम्म उपकुलपतिविहीन बनेको प्रतिष्ठानमा शिक्षाध्यक्ष प्राडा सञ्जीवकुमार शर्मालाई नै कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएपछि उनले रोकिएको पदोन्नती प्रक्रिया अघि बढाउन खोजेका थिए । तर, गत असार १७ मा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्राडा कार्कीलाई कायममुकाय उपकुलपतिको जिम्मेवारी दिए । उनले लोकसेवासँग परामर्श थालेपछि पदोन्नति प्रक्रिया अवरुद्ध भयो ।

आयोगको उक्त निर्देशनात्मक पत्र नै सात वर्षदेखि पदोन्नति पर्खेर बसेका १ सय ७७ चिकित्सकका लागि बाधक बनिदिएको शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले बताउँछन् । ‘कामु उपकुलपति प्राडा कार्की सर आएपछि एकाएक सबै प्रक्रिया अवरुद्ध भयो,' उनले भने, 'नयाँ नियमावली नभएपछि शिक्षक कर्मचारीको बढुवा २०५५ कै नियमावलीको आधारमा हुनु पर्ने हो ।’ चिकित्सकहरूले स्वास्थ्यमन्त्री बस्नेतलाई गत असोज २६ देखि लागू हुनेगरी सामूहिक राजीनामा नै बुझाएका थिए ।

प्रकाशित : कार्तिक १३, २०८० १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?