कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

बीपी प्रतिष्ठानमा चिकित्सक आन्दोलित

चिकित्सकको सात वर्षदेखि राेक्का वृत्तिविकासका मुद्दा सरकारले सुनुवाइ गरेन‚ पदाधिकारीले पनि प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाएको आरोप
प्रदीप मेन्याङ्बो

सुनसरी — धरानको बीपी प्रतिष्ठानका आन्दोलनरत चिकित्सकहरुले व्यवस्थापनका जिम्मेवार पदाधिकारीलाई बर्खास्त गरिनुपर्ने माग गरेका छन् । आफूहरुको पदोन्नति नहुनुमा पदाधिकारीबीचको अन्तरकलह मुख्य कारण रहेको उनीहरुको आरोप छ । 

बीपी प्रतिष्ठानमा चिकित्सक आन्दोलित

चार पदाधिकारीबीचको कलहले चिकित्सकहरुको पदोन्नति नहुनु ठूलो कुरा नभए पनि प्रतिष्ठानको हितमा हुनुपर्ने कयौं दीर्घकालीन महत्त्वका विषयसँगै उपचार सेवा, अध्ययन-अध्यापन र अनुसन्धानमा असर परेको उनीहरुले बताएका छन् ।

प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउने पदाधिकारीहरुले तत्काल राजीनामा दिनुपर्ने अन्यथा चिकित्सकहरुले दिएको सामूहिक राजीनामा स्वीकृत गर्नुपर्ने अडान उनीहरुको छ । प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले बढुवा प्रक्रिया अघि नबढे पदाधिकारीहरुको बर्खास्त वा आफूहरुको सामूहिक राजीनामा स्वीकृत गर्न माग गरेका हुन् ।

प्रतिष्ठानको उपकुलपति कार्यालय परिसरमा आइतबार पत्रकार सम्मेलन गर्दै शिक्षक कल्याण समाजले पदाधिकारीबीचको अन्तर कलह नै प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउने कारक तत्व रहेको जनाएका छन् ।

‘विगतमा अनेकौं पटक संघर्ष र सहमतिका बाबजुद ठोस निकास ननिस्किएकाले हामी १ सय ७७ जना शिक्षकहरुले बाध्य भएर आफ्ना समस्या कुलपति (प्रधानमन्त्री) सहकुलपति (स्वास्थ्यमन्त्री), सचिव लगायतलाई भेटेर लिखितरुपमा ज्ञापनपत्र बुझायौं । हाम्रो कुरा सुनेपछि उहांहरुले प्रतिष्ठान पदाधिकारी जिम्मेवार भई अवरुद्ध प्रक्रिया सुरु गरे हुने र त्यसमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदा जनाउँदै पनि आजसम्म बेवास्ता गरिएको छ,'आन्दोलनरत मेडिसिन विभागका प्रमुख डा रविन मास्केले भने, 'यसमा प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीको गैरजिम्मेवारीपनले थप अन्योल भएको छ ।’

कामु उपकुलपति कार्की, शिक्षाध्यक्ष प्राडा संजीव शर्मा, अस्पताल निर्देशक डा जगतनारायण प्रसाद र रजिष्ट्रार सूर्य संग्रौलाबीच प्रतिष्ठानको हितमा आपसी समन्वय हुन नसक्दा चिकित्सकहरुको रोकिएको पदोन्नति प्रक्रिया सुरु हुन नसकेको समाजका अध्यक्ष डा सेराज अहमद खानले बताए । उनले भने, ‘प्रतिष्ठानको हितमा हुने निर्णयहरु पदाधिकारीसहितको कार्यकारिणी समितिले पास गरेर संचालक परिषद् सिनेटमा अनुमोदन गर्न कसले रोकेको छ ? हामीले लोकसेवा आयोग, स्वास्थ्य मन्त्रालयदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर आएको तीन दिन बितिसक्यो तर पदाधिकारीहरु किन चुपचाप छन् ?’

समाजले पनि विज्ञप्ति जारी गर्दै असोज २६ देखि लागू हुने गरी सामूहिक राजीनामा दिइसकेकाले प्रतिष्ठानको स्वास्थ्यसेवा तर्फको अन्तरंग, बहिरंग, इमर्जेन्सी, आइसीयू, ओपीडी, वार्ड, शैक्षिक सेवातर्फ पठनपाठन‚ परीक्षा, अनुसन्धान तर्फको कुनै पनि जिम्मेवारी बहन गर्न बाध्यकारी नरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रतिष्ठानलाई थप अनिर्णयको बन्दी नबनाउन सम्बन्धित निकायलाई कि अवरुद्ध रहेको बढुवा प्रक्रिया तत्काल सुरु गर्न कि यो सबैको कारक एवं मुख्य जिम्मेवार रहेका प्रमुख पदाधिकारीलाई बर्खास्त गर्न कि हाम्रो सामूहिक राजीनामा स्वीकृत गरिदिनुहुन हार्दिक आह्‍वान गर्दछौं ।’

प्रतिष्ठानमा ७ वर्षदेखि १ सय ७७ जना सिनियर रेजिडेण्ट‚ एसिस्टेन्ट प्रोफेसर, एशोसिएट प्रोफेसर, एडिस्नल प्रोफेसरको पदोन्नति रोकिएको छ । आन्दोलनरत चिकित्सकहरुले सहकुलपति एवं स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सामूहिक राजीनामा समेत बुझाइसकेका छन् । उनीहरुको आन्दोलनका कारण प्रतिष्ठानमा स्वास्थ्य उपचार सेवा, पठनपाठन प्रभावित भएको छ ।

पहिले समय दिइएका शल्यक्रियाका बिरामीलाई समय अनिश्चितकालका लागि सारिएको छ । अधिकांश बिरामीमध्ये कार्डियो (मुटु), न्यूरो (स्नायु), पल्मोलोजी (श्वासप्रश्वास र फोक्सो), क्याथल्याव सर्जरी र टाउको सम्बन्धी समस्याका बिरामी अन्य अस्पताल जान बाध्य भएका छन् ।

यसबीच प्रतिष्ठानमा पदाधिकारी सहितको कार्यकारिणी समितिको आपत्कालीन बैठक दुई पटक बसे पनि ठोस निर्णय दिन नसकेको चिकित्सकहरुले बताए ।

प्रकाशित : आश्विन २८, २०८० १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?