कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिने सपना अधुरै (फोटो सहित)

जनकबहादुर शाही

हुम्ला — हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सपना यसवर्ष पनि अधुरै रहने भएको छ । नेपाली सेनाले जिम्मा लिएको चट्टाने भिर छिचोल्ने काम सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकाको खार्पु भएर बग्ने चुवाखोला कर्णाली नदीमा पुल नबन्दा हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बताए ।

सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले कर्णाली नदीमा निर्माणाधीन पक्की पुल निर्माण कार्य सम्पन्न गर्न अझै ३/४ वर्ष लाग्ने भएकाले हाललाई वैकल्पिक पुल वा बेलिब्रिज निर्माण गरे मात्र नेपाल सरकारले यस आर्थिक वर्षमा हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिने सपना पूरा हुन नत्र सपना अधुरै रहने प्रजिअ पोखरेलको भनाइ छ ।

कर्णाली करिडोर सडक अन्तर्गतको ग्युसीदेखि लालीबगर खण्डको ११.५ किलोमिटर ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो । उक्त खण्डमा २.३ किमी कडा र ठूला चट्टान भएकाले ठेक्का प्रक्रियाबाट सम्भव नहुने देखिएपछि ट्र्याक खोल्ने कामको जिम्मा सेनालाई दिइएको कर्णाली करिडोर उत्तरखण्ड हिल्सा सिमकोट सडक योजनाका निमित्त प्रमुख बेलबहादुर नेपालीले बताए ।

अहिले कर्णाली करिडोरमा सबै भन्दा अफ्ठ्यारो कडा चट्टानी भाग व्युबाराकाधदेखि छारेसम्म १ किमि ट्र्याक खोल्ने काम नेपाली सेनाले सम्पन्न गरेको छ । चैत्र मसान्तसम्म सडक निर्माण कार्य सम्पन्न गरी कर्णाली करिडोर उत्तरखण्ड हिल्सा सिमकोट सडक योजनालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ काम भइरहेको भए पनि आफूले जिम्मा लिएको ११.५ किमि ट्र्याक खोलेर जेसीभी वारपार गरेपनि ग्रेडिङ मिलाएर सडक चौडा गर्न केहि समय लाग्ने भएकाले सो कार्य सम्पन्न हुना साथ हिल्सा सिमकोट सडक योजनालाई सडक हस्तान्तरण गर्ने कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनाखाडा हुम्लाले जनाएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष ०६३/६४ बाट नै हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने भनेर उल्लेख थियो । तर १८ औं आर्थिक वर्ष बितिसक्दा पनि सिमकोट भने अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन ।

प्रकाशित : चैत्र १९, २०८० १३:१७
प्रतिक्रिया
पठाउनुहोस्