कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थवाङको बदलिँदो चित्र

जनकराज सापकोटा, काशीराम डाँगी

थवाङ — माओवादी सशस्त्र युद्धको उद्गम थलो रहेको रोल्पाको थवाङ हिजोआज शान्त देखिन्छ । तर 'जनयुद्ध'मा बलिदानी दिएका, माओवादीका शीर्ष नेताहरुलाई ज्यानकै बाजी मारेर संरक्षण दिएका थवाङीहरुको मनमा भने चिन्ता र आक्रोशका प्रश्नहरु गुदगुद छड्किरहेका छन् ।

युद्ध हाँकेका नेताहरू जस्तै थवाङ आफैं पनि अचेल धेरथोर बदलिसकेको छ । थवाङको पुराना तस्बिर र नयाँ तस्बिरहरू सँगै राखेर हेर्दा ढुंगा र काठले छापेका घरहरुको संख्या घट्दै मात्रै देखिन्न, थवाङ आफ्नो मौलिक शैली बिर्सँदै गइरहेको समेत देखिन्छ । थवाङका भित्री घरहरु अझै पनि परम्परागत स्वरुपकै छन् । माटो र ढुंगाको गाह्रो, कलात्मक बुट्टे झ्यालहरू अनि ढुंगाले छापेका ससाना गल्लीहरु ।

तर पुराना घरहरुभित्र विस्तारै जस्ताले छाएका र ढलान गरेका घरहरु थपिँदै छन् । स्थानीयहरु परम्परागत शैलीका घर बनाउन छाडेको र ढलाने घरहरु बन्ने क्रम बढ्दै गएको बताउँछन् । स्थानीय लप बहादुर रोकाले सुनाए, ‘विदेशी आए भने पनि पुरानो घरको मात्रै फोटो खिच्छन्,' नयाँ घरको खिच्दैनन् ।’ लपको कुराले थवाङको बदलिँदो चित्र बुझाउँछ ।

थवाङ खोलाको छेवैमा रहेको यो बस्तीसम्म सहिद मार्ग त जोडिएको छ तर यो कच्ची सडकले यहाँका स्थानीयको सपना पूरा गर्न सकेको छैन । स्थानीय लालहिरा विक भन्छिन्, ‘बाटो बनेका छन्, गाडी गुडेका छन् तर हाम्रो रुप्या मात्रै खान्छ ।’ युद्धकालीन एकाध नाराका भरमा थवाङले जनयुद्धको विरासत बोक्न खोजेजस्तो देखिए पनि रोजगारी, आधारभूत सुविधामा आफूहरु ठगिएको गुनासो गरिहेका छन् थवाङवासीहरू । तर थवाङ खोलाको सुस्केरामा मात्रै मिसिएजस्तो लाग्छ उनीहरुको गुनासो ।

दस वर्षअघि २०७० मा खिचिएको थवाङको तस्बिर र २०८० मा सोही स्थानबाट खिचिएको थवाङको नयाँ तस्बिर ।


प्रकाशित : जेष्ठ १४, २०८० १५:४३
प्रतिक्रिया
पठाउनुहोस्