कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

संकटमा नेपाली भाषा

पाठक पत्र

यही शनिबारको कोसेलीमा प्रकाशित भाषाविद् वसन्त थापाको लेख पढ्न पाइयो । उनले ओरालो लागेको हाम्रो नेपाली भाषाको अवस्थाबारे मिहिन ढंगले कुरो उठाएका छन् । नेपाली भाषा अहिले चरम संकटमा छ । के अभिभावक, के शिक्षक, के पत्रकार अहिले सबै आफ्ना साना नानीहरूलाई आफ्नो भाषा होइन, अरूकै भाषा घोकाउन व्यस्त छन् ।

कतिपय विद्यालयले त नेपाली भाषामा बोल्यो भने जरिवाना तिर्नुपर्ने नियम नै बनाएका छन् । तिनले घरमा अंग्रेजी बोले भने अभिभावक खुसी हुन्छन् । अत्यधिक अंग्रेजी मोह र गलत बुझाइका कारण नेपाली भाषाका थुप्रै शब्द हराउँदै छन् ।

आमा हराएर ममी, बा हराएर ड्याडी बन्नु त सामान्य भएको छ । किताब, परीक्षा, कलम, विद्यालय, मासु पसल, चर्पी जस्ता शब्दहरू बुक, एक्जाम, स्कुल, फ्रेस हाउस, ट्वाइलेटमा परिवर्तन भएका छन् । धेरै मौलिक शब्द अबको पुस्ताले बुझ्न छाडिसके । ‘बुढा मरे भाषा सरे’ भन्ने त उखानै छ । तर यो त भाषा सरेको मात्र होइन, मरेको अवस्था हो ।

बेलैमा भाषा संरक्षण र संवर्धन अभियानको थालनी गरौं । विश्वमा आफ्नो मौलिक भाषा र पहिचान लोप हुँदा पछुताइरहेका थुप्रै मुलुक छन् । हामीले त्यही नियति भोग्न नपरोस् । आमा, बा, दाइ, काका, काकी, नानी जस्ता हाम्रा मौलिक शब्दलाई मम, ड्याड, दादा, अंकल, आन्टी, बेबी बनाउँदा सम्पन्नता झल्कन्छ भन्ने बुझाइ हरेक हिसाबले गलत छ ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : वैशाख ४, २०८१ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?