लेखकद्वयले देखाएको वाद

विद्यानाथ कोइरालाको ‘देखायौ वाद, गर्यौ बरबाद’ र प्रकाशचन्द्र लोहनीको ‘छलाङ्वाद र निरन्तरतासहितको गतिशीलता’ लेख पठनीय छन् । भाषा र प्रस्तुति फरक भए पनि दुवै लेखकको आशय समान छ ।
लोहनीले २००७ र २०४७ सालको परिवर्तनपछि शासक र शासन व्यवस्थाले बदलिएको परिस्थितिलाई गरेका सम्बोधनबारे तुलनात्मक व्याख्या गरेका छन् । त्यसबेलाका शासन व्यवस्था आमूल परिवर्तनको चाहनाबाट सृजित हुन् । हिजोको व्यवस्थाका देन तथा उत्पादनहरू सबै बेठीक थिएनन् । नेपाललाई आत्मनिर्भर बनाउन, सन्तुलित विदेश नीति अंगीकार गर्न, राष्ट्रियता मजबुत बनाउन, स्वविवेकमै आन्तरिक व्यवस्थापन गर्नमा त्यति बेला वाञ्छित सफलता मिलेकै हो ।
यस्ता अपलब्धि जोगाउँदै राजनीतिक नेतृत्व अघि बढेको भए मुलुक र जनताले आजको दुर्गति बेहार्नुपर्ने थिएन । राजनीतिक नेतृत्वले आँखामा नेपालवादको चस्मा लगाएर हेरेका भए धेरै सकारात्मक कुरा देख्ने थिए । विविध वादका घोडा चढेर मुलुक बरबाद गर्न र छलाङवादे डोजर चलाएर नेपालीको भविष्यलाई अन्धकारमा धकेल्ने दुस्साहस कसैले गर्दैनथ्यो होला ।
निरन्तरतासहितको गतिशीलतालाई अवलम्बन गर्दै अघि बढेको भए निश्चय नै प्रकृतिको भण्डार नेपाल यतिबेला विश्वका सम्पन्न राष्ट्रहरूको श्रेणीमा पुगिसकेको हुने थियो । दुर्भाग्य, अब हामीलाई खेर फालिएको समय र भएको घाटा वा क्षतिको भरपाई पाउन गाह्रो छ । छलाङवादको घोडामा सवार हुँदा नयाँ नेपाल त बनेन नै पुरानो नेपालसमेत रहेन ।
– वीरबहादुर थापा, मोरङ