अतीतमोहको अपरिमित शक्ति

पश्चगामी राजनीतिको अधिप्रचारलाई परिवर्तनकारी शक्तिहरूले हावादारी गफ भनेर खारेज गर्नु कालक्रममा सायद अदूरदर्शी कार्यनीति ठहरिन सक्दछ ।
सीके लाल

प्राविधिक रूपमा नेपाल कम्युनिस्ट पार्टीको हैसियत प्रमुख प्रतिपक्षका रूपमा रहेको भए पनि व्यावहारिक तवरले त्यस दलका अध्यक्ष खड्गप्रसाद शर्मा ओली अहिले पनि खस–आर्य नृजातीय वर्चस्वका नियन्ता एवं स्थायी सत्ताका सञ्चालकहरूमध्ये प्रमुख पात्र भएर क्रियाशील छन् । आन्दोलन गर्ने उनको घुर्की भागबन्डाको राजनीतिमा आफ्नो हिस्सेदारी बढाउने दाउ मात्रै हो ।

अतीतमोहको अपरिमित शक्ति

सरकारको नेतृत्व जुनसुकै दलले गरे पनि सत्ता सञ्चालनको साँचो भने आफ्ना बफादार कार्यकर्तामै रहने सुनिश्चित गरिसकेका अध्यक्ष ओलीले केही बढी राजनीतिक लाभ लिन चर्काचर्की भलै गर्लान्, तर यथास्थितिलाई बदल्ने हतारमा उनी देखिँदैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने भनेको जनपरिचालन घोषित तवरले नै ‘भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउने’ दबाबमूलक कार्यक्रम मात्रै हो, आन्दोलन होइन । दबाबमूलक कार्यक्रमहरूको मूल उद्देश्य सामान्यतया सम्बन्धित दलको सार्वजनिक उपस्थिति जनाउनमा सीमित हुन्छ । यी दुई दलभन्दा फरक राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रस्तावित आन्दोलनको कार्यदिशा भने प्रथमदृष्ट्वा नै प्रतिगामी प्रकृतिको छ ।

राजसंस्थाको पुनःस्थापना, पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको घोषणा एवं प्रदेश तहको खारेजीको कार्यसूचीमा भविष्यको परिकल्पना कतै पनि छैन । राप्रपाको प्रस्तावित आन्दोलन सामान्य प्रकृतिको नभएर स्पष्टतः प्रतिक्रान्तिको उद्घोष हो । के त्यस्तो पश्चगामी आन्दोलनका लागि जनाधार तयार छ ? के राप्रपाका कार्यकर्ताहरूमा जनपरिचालन गर्ने सांगठनिक शक्ति छ ? पूर्वपञ्चहरूको हालीमुहाली रहेको दलको सार्वजनिक स्विकार्यता कत्तिको छ ? के तिनको नेतृत्वपंक्तिले प्रतिक्रान्तिको आवेगलाई थेग्न सक्छ ? भूराजनीतिक माहोल कस्तो छ ? राप्रपाले गर्ने भनेको आन्दोलनबारे अनेकौं प्रश्न उठाउन सकिन्छ । त्यस्ता सबै शंका–उपशंकाको एक मात्र जवाफ के हो भने, राजनीतिक आन्दोलनको मूलभूत चरित्र प्रायशः अननुमेय (अनप्रिडिक्टबल) एवं अप्रत्याशित हुने गर्दछ । त्यो किनभने, भावाकुल समुदाय तर्क–वितर्क एवं लाभहानिभन्दा पनि आवेशद्वारा परिचालित हुने सम्भावना बढी हुन्छ ।

पूर्वपञ्चहरूको कार्यसूचीको निस्सारता (भ्याक्युटी) बारे खासै बहस गरिराख्न जरुरी छैन । नारायणहिटी हत्याकाण्डले राजाको दैविक वैधानिकतालाई समाप्त गरेको हो । सैनिक सामर्थ्य माओवादीहरूका सामुन्ने खासै टिक्न सकेन । राजतन्त्रको भूराजनीतिक आधार २००५ फेब्रुअरीको शाही–सैनिक ‘कू’ पछि राजा ज्ञानेन्द्रले चिनियाँ छाताको ओत खोज्ने रहर गर्दा सकियो । त्यति हुँदाहुँदै पनि राजाले आफ्नो राजनीतिक दायरा नाघ्ने प्रयत्न नगरेका भए समारोहिक भूमिका कायम रहन सक्ने झिनो सम्भावना कायम थियो । उनी प्रत्यक्ष राजनीतिमा उत्रिएपछि राजसंस्थाको सान्दर्भिकता विवादित हुनु स्वाभाविक थियो ।

बहुदलीय व्यवस्थाले जागृत एवं माओवादी सशस्त्र द्वन्द्वले उत्तेजित तुल्याएका सामान्यजनले प्रश्न गर्ने भए— राजा कसरी साझा ? नृजातीय रूपमा गोर्खाली राजाका सन्तान अहिलेको संविधानले ‘खस–आर्य’ नामकरण गरेको समुदायका प्रवर्द्धक एवं संरक्षक हुन् । मगर समुदायसँग शाहहरूको आनुवंशिक सम्बन्ध जोडिएको तर्क यथार्थपरक देखिए पनि अन्य आदिवासी र जनजातिका लागि त राजा कतैबाट पनि आफ्ना होइनन् । महारानी कान्तवतीले गर्दा केही मैथिल ब्राह्मणहरूले शाह राजालाई भलै ‘भान्जा खलक’ भन्लान्, तर बाँकी मधेशीका लागि गोर्खाली राजपरिवारसग सहज सम्बन्ध हुनुपर्ने कुनै कारण देखिँदैन । सबै शक्ति नारायणहिटी दरबारमा थुप्रिँदा त्यहाँ पियन–चौकीदारमा पनि मधेशी देखिँदैनथे । तथाकथित हिन्दु सम्राट् नेपालका अन्य धर्मावलम्बीका लागि आफ्ना ठहरिने कुरै भएन । कवि श्रवण मुकारुङको कलममार्फत परलोकबाट बिसे नगर्चीले जस्तोसुकै मन छुने बयान जारी गरे पनि दलितहरूको चिच्याहट पुरेत–पुजारी जमातका प्रमुख संरक्षकले सुन्ने कुरा भएन ।

राजासंस्था त कतैबाट पनि नेपालको सांस्कृतिक एकताको प्रतीक हुन सक्ने सम्भावना नै देखिँदैन । त्यसो हुँदाहुँदै पनि केही जनजाति, मधेशी, मुसलमान वा दलित किन राजसंस्थाको पुनरुत्थानसँग जोडिन चाहन्छन् ? केहीले पूर्वमा पाएको लाभले गर्दा ‘ख्वामितको नुनको सोझो’ गरेका होलान् । त्यस्ता व्यक्तिहरूको संख्या धेरै हुन सक्दैन । लामो अवधिसम्म शासन गरे पनि गोर्खाली राजा एवं तिनका सिपाहीबाट शासक बन्न पुगेका राणाहरूले समेत गोर्खाली थरघर, दिव्योपदेशमा सूचीकृत बफादार एवं राजसेवामा समर्पित केही नेवार परिवारबाहेक अरूलाई कहिल्यै पत्याएनन् । कसैकसैमा लोभ पनि हुन सक्छ— सत्तापलटले नयाँ खेलाडीका लागि ठाउँ खाली गर्छ भन्ने मान्यता छ ।

नेपालमा भने पुरानै खेलाडीहरूले नयाँ–नयाँ जर्सी भिरेर पुनः राजनीतिक मैदान कब्जा गर्ने ‘चैते कांग्रेस’ परम्परा मेटिएको छैन । नेपाली सेनाको परमाधिपति राष्ट्रपति रहने भएपछि सैन्य बलको डरले राजालाई मान्नुपर्ने बाध्यता पनि अब रहेन । विद्यमान विकृतिसँग असन्तुष्टहरूले पनि राजाको पुनःस्थापनालाई विकल्पका रूपमा स्वीकार गर्ने कुनै तार्किक आधार देखिँदैन । लाग्छ, राजसंस्थाको पुनःस्थापनाको मुद्दा समय सान्दर्भिक वा महत्त्वपूर्ण प्रश्नबाट बहकाउने वा ध्यान अन्यत्र मोड्ने भुलावा मात्रै हो । राजालाई ढाल बनाएर दक्षिणपन्थी शक्तिहरू सलबलाउन थालेका छन् । तिनका समर्थकहरूलाई आकर्षित गर्न चित्ताकर्षक अतीत चित्रण गर्दै राजतन्त्रको जनविरोधी एवं शोषणकारी इतिहासमाथि सुनौलो रंग पोत्ने कर्म एक हदसम्म सफल भएको छ ।

परिकल्पित गौरवगाथा

पारिभाषिक शब्द भएकाले आकुलता, चिन्ता, मोह, आतुरता एवं पुनः अनुभव गर्न नसकिने निराशाद्वारा उत्पन्न विक्षोभ सम्मिलित रहेको विगतको सम्झना–संवेगलाई चित्रण गर्ने अंग्रेजी ‘नोस्टाल्जिया’ अभिव्यक्तिले समेट्ने मानसिक अवस्थाका लागि प्रयोग हुने गरेका नेपाली शब्दहरूमा एकरूपता छैन । ‘अतीतमोह’ शब्दले व्यक्तिको हतास मनोदशा एवं त्यसबाट उम्किने छटपटीलाई दर्साउँदैन । ‘विगताकुलता’ ले सम्झिएका स्थान एवं भावमा फर्किने चाहना समेट्दैन ।

‘स्मृतिदंश’ ले मुटुको धुकधुकीलाई जनाउँछ, विचलित मस्तिष्कको विकलता त्यहाँ छैन । गृह शब्दभित्र भौतिक घरसँगसँगै कुनै कालखण्ड, स्थानविशेष वा अन्तरंग सम्बन्धजस्ता अर्थहरू पनि समावेश रहेकाले ‘गृहातुरता’ सम्भवतः नोस्टाल्जिया मनोभावका लागि सबभन्दा नजिकको अभिव्यक्ति हो । आखिर घर त्यो हो जहाँ फर्किन सकिने सम्भावना समाप्त भए पनि मन पटकपटक त्यहीँ पुग्न चाहन्छ । सम्झनाहरूका स्थान, समय र सम्बन्धहरूको भौतिक पुनर्प्राप्ति असम्भव हुँदाहुँदै पनि मस्तिष्क भने मुटुका अगाडि निरीह हुन पुग्छ र व्यक्तिको छटपटी बढ्छ । सामान्यजनको त्यस्तो अकुलाहटलाई भजाएर दक्षिणपन्थी शक्तिहरू आफ्नो राजनीतिक पुँजी जम्मा गर्छन् । ‘हामी अमेरिकालाई फेरि महान् बनाऔं’ (लेट्स मेक अमेरिका ग्रेट अगेन) नारा उचालेर एकताकाका फिल्म अभिनेता रोनाल्ड रेगन सन् १९८० तिर राष्ट्रपति बन्न सफल भएका थिए । त्यस प्रचारवाक्यबाट ‘हामी’ शब्द हटाएर राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई ‘मागा’ अभियानको केन्द्रबिन्दु बनाएका छन् । बेलायतको ‘ब्रेक्सिट’ अभियान युरोपेली युनियन नहुँदाताकाको ‘स्वनियन्त्रण फिर्ता लिने’ तथाकथित सहज समयको सम्झना दिलाउने प्रस्तावनाका रूपमा सुरु भएको थियो ।

महात्मा गान्धीको ‘रामराज्य’ शासकीय परिकल्पना औपनिवेशिक राज्य प्रारूपको सम्भावित विकल्पका रूपमा प्रस्तावित थियो । भारतीय जनता पार्टीका अधिप्रचारकहरू समावेशी ‘रामराज्य’ को साटो मुगल–विद्वेषी ‘राम मन्दिर’ को विभाजक राजनीतिमार्फत भारतमा सत्ताकब्जा गर्न सफल भएका छन् । वर्तमान सकिँदै जाने र भविष्य उध्रिँदै जाने भएकाले सपना देखाएर समर्थक जुटाउन निरन्तर क्रियाशील भइरहनुपर्ने हुन्छ । प्रतिबद्धताहरू प्राप्त परिणामसँग दाँजिने हुँदा सपनाका बिक्रेताहरूमा पारदर्शी इमानदारी एवं निरन्तर कर्तव्यनिष्ठा छैन भने तिनलाई राजनीतिक व्यापारमा लामो कालसम्म टिक्न कठिन हुन्छ । विद्यमान अव्यवस्थाबाट मुक्तिका लागि विगततिर फर्किनुपर्ने चाहनालाई ‘बेच्न’ भने अपेक्षाकृत सजिलो छ । विचारका उपभोक्ताले विगतका त्रासदी देखेका रहेनछन् भने तिनलाई गौरवगाथा एवं भव्यताका कथाहरू सुनाएर अलमल्याउन झनै सजिलो हुन्छ । राजा हुँदा देशमा अमनचैन थियो भन्ने भ्रम पनि दक्षिणपन्थी लफ्फाजी भन्न मिल्ने शब्दाडम्बरभन्दा बढी केही होइन । देशमा कानुन नभएर श्रीपेचको सर्वोच्चता थियो ।

राजदरबारको मनसाय ठम्याएर फैसला सुनाउनुबाहेक अदालतका अधिकारहरूसमेत साह्रै सीमित थिए । न्याय र अन्यायको निर्क्योल राजाले गर्थे र पूर्वप्रभावी कानुन जारी गराएर भए पनि आफ्नो निर्णयलाई आफैंले वैधानिकता प्रदान गर्ने गर्थे । गद्दीनसीन राजा एवं राजपरिवारका बफादार सेवक एवं ताबेदार मात्र होइन, दरबारका अधिकारीहरूका आसेपासेले समेत देश हाँक्ने गर्थे । तिनको छनोटका आधार क्षमता नभएर पारिवारिक पृष्ठभूमि र देशभन्दा पनि नरेशप्रतिको समर्पण भाव हुने गर्दथ्यो ।

राजाको दरबारसम्म जनताको गुहार पुर्‍याउन सकिने कुनै भरपर्दो राजनीतिक संयन्त्र थिएन । सार्वभौम मानवाधिकारसमेत राजेच्छाका अगाडि निरीह ठहरिने भएकाले राजनीतिक रूपले विवेकी एवं सचेत व्यक्तिका लागि आत्मसमर्पण र स्वनिर्वासनबाहेकको तेस्रो विकल्प भनेको अप्रत्याशित थुना वा कारागारलाई स्वीकार गरेर क्रियाशील रहिरहनुको विकल्प थिएन । बोलेपछि के हुन्छ भन्ने डरभन्दा पनि बोल्ने रहर हराएकाहरूको मौनतालाई दरबारियाहरूले जनताको स्वीकार्यताका रूपमा अर्थ्याउने गर्दथे ।

शाह शासनकालको तथाकथित अमनचैनलाई चित्रित गर्न साहित्यकार बीपी कोइरालाभन्दा पनि प्रभावशाली विम्ब बरु गणेशमान सिंहले प्रयोग गरेका छन्— ‘श्मशानघाटको मुर्दाशान्ति’ । पाशका नामले चिनिने क्रान्तिकारी पन्जाबी कवि अवतार सिंह सन्धु सामान्यजनमा कल्पनाशक्तिको समापनलाई आफ्नो अपुरो कवितामा सशक्त ढंगले व्यक्त गर्दछन्— ‘सबसे खतरनाक होता है / मुर्दाशान्ति से भर जाना / न होना तडप का, सब कुछ सहन कर जाना / घर से निकलना काम पर / और काम से लौटकर घर आना / सबसे खतरनाक होता है / हमारे सपनों का मर जाना ।’ सपना मरेको समयलाई लिपपोत गरेर सार्वजनिक स्मृतिलोपको अवस्था उत्पन्न गराउने कर्मको प्रतिरोध भने प्रभावशाली तवरले भइरहेको छैन ।

राजा सबैका साझा कहिल्यै नभएजस्तै ‘पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको घोषणा’ कुनै अवधारणा नभएर आडम्बरपूर्ण शब्दावलीको प्रयोगद्वारा सृजना गरिएको दक्षिणपन्थी दिग्भ्रम मात्रै हो । वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रभित्र पूर्ण धार्मिक स्वतन्त्रता सम्भव नै छैन । ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रको सोपानतन्त्रबेगर वैदिक सनातन धर्मको वर्ण व्यवस्था धराशायी हुन्छ । हिन्दु ‘धर्म’ नभएर एकअर्काको अस्तित्वलाई बल्लतल्ल सहने शैव, शाक्त, वैष्णव, तान्त्रिक, गोरखपन्थी तथा कबीरपन्थीजस्ता विभिन्न सम्प्रदाय एवं पीर–मलंग, धामी–झाँक्री र रूख–ढिस्को पूजन गर्ने परम्परागत मान्यताहरूको सांस्कृतिक संयोजन मात्र हो । शासकीय प्रारूप सन्निहित नरहेकाले ‘हिन्दु राष्ट्र’ के हो भन्ने स्पष्ट परिभाषा पनि सम्भव नहुने देखेर विनायक दामोदर सावरकरलाई ‘हिन्दुत्व : हु इज अ हिन्दू’ पुस्तिकामार्फत युरोपका फासिस्ट अवधारणाहरूको भारतीय संश्लेषण तयार गर्नुपरेको थियो । पूर्ण धार्मिक स्वतन्त्रताको अर्थ जुनसुकै वयस्क व्यक्तिले आफू जन्मिएको परिवारको धर्म परित्याग गरेर कुनै अर्को धर्म अंगीकार गर्न सक्ने स्वायत्तता पनि हो । त्यस प्रकारको आधारभूत मानवाधिकारबाट तथाकथित धर्मनिरपेक्ष राज्यले त आफ्ना नागरिकलाई वञ्चित गरेर राखेको छ भने ‘वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र’ किन र कसका लागि प्रस्तावित गरिएको होला ? नेपाल ‘हिन्दु अधिराज्य’ हुँदा पाइएका अग्राधिकारहरूमध्ये कुनचाहिँ सुविधा वर्ण व्यवस्थामा प्रभुत्व कायम राखेका जातिहरूले गुमाएका छन् भन्ने कुरा कसैले भन्न सक्दैन ।

कोलम्बियाली साहित्यकार र पत्रकार एवं नोबेल पुरस्कार विजेता गेब्रियल गार्सिया मार्केजले ‘नोस्टाल्जिया’ लाई उदार कपट (च्यारिटबल डिसेप्सन) भनेर अर्थ्याएका छन्, किनभने गृहातुरताले विगतको बोझ बोक्न र अतीतका त्रासदी बिर्सन मनले केही मात्र भए पनि राम्रा सम्झनाहरू सँगालेर राख्न चाहन्छ । त्यसैले अतीतमोहको संवेग महसुस गर्न वास्तविक सम्झनाहरू नै आवश्यक छैनन्, परिकल्पित विगतको तानाबाना भए पुग्छ । सामान्यजनमा व्याप्त त्यस्तो भावनालाई भजाउन दक्षिणपन्थी राजनीतिकर्मीहरू सिपालु हुन्छन् ।

भयाकुल समाज

व्यवस्थाविरोधी अधिप्रचारको आँधीबेहरी ल्याउन केही न केही यथार्थपरक असन्तुष्टिको हावाद्वारा समाजका हाँगापात भने हल्लिएकै हुनुपर्दछ । समसामयिक नेपालको परिस्थिति सन्तोषप्रद छैन भन्ने निष्कर्षमा पुर्‍याउन सामान्यजनलाई तथ्यांक देखाइराख्नुपर्दैन, राजनीतिकर्मीहरूका कर्तुतको कथा सुनाए पुग्छ । केही समयका लागि मात्र भए पनि सत्तासँग जोडिन पुगेकाहरूको जीवनशैली रातारात परिवर्तित भएको छ । जनताका छोराछोरीले अरबको मरुभूमि वा मलेसियाको जंगलमा पसिना बगाइरहेका छन् । तिनको विप्रेषणले धानेको देशका चल्तापुर्जा राजनीतिकर्मी, प्रभावशाली नोकरशाह एवं चाकर पुँजीवादको प्रसारले गर्दा सम्पत्ति कमाएका आफन्तहरूसमेत वातानुकूलित मोटरमा सयर गरिरहेका छन् ।

दरबारमा जन्मिएका र सम्भ्रान्तसँग जोडिएका सीमित व्यक्तिहरू सानबानसँग हिँड्दा अद्भुत देखिन्थ्यो ! सामान्यजनमा विस्मय उत्पन्न हुन्थ्यो । घरबारको ठेगान नभएकाहरूको लस्कर एकाएक अगुवा–पछुवा लगाएर मोटरमा सयर गर्न थालेपछि जग्गा बेचेर दलालमार्फत छोराछोरीलाई अस्ट्रेलिया पठाएको मध्यमवर्ग वा तरकारी बेचेर लघुवित्तमा बचत जम्मा गरेर ठगिएको निम्नवर्गमा ईर्ष्या र रोष उब्जिने रहेछ । शिक्षा, जनस्वास्थ्य, सार्वजनिक प्रशासन, बन्दव्यापार— जता हेर्यो, उतै बेथितिको चाङबाहेक केही देखिँदैन । अनि अतीतमोहका व्यापारीहरू हिमाल सिमेन्ट, जनकपुर चुरोट कारखाना र ट्रली बसको कथा हालेर शाहकालको दंश बिर्सिन चाहेका वा नभोगेकाहरूलाई उत्तेजित तुल्याउँछन् । त्यस्ता अधिप्रचारकहरूलाई कसले सम्झाओस्— प्रतिवर्ष केही हजार पक्की संरचना निर्माणको सिमेन्ट मागलाई धान्न भारत र दक्षिण कोरियादेखि जापानसम्मबाट सिमेन्ट आयात गर्नुपर्दथ्यो । घर टालटुल गर्न २५ बोरा सिमेन्टका लागि तोक लगाइमाग्न हिमाल सिमेन्टका महाप्रबन्धककहाँ एकाबिहानै लाम लाग्न जानुपर्दथ्यो । आन्तरिक खपत बेपत्ता बढे पनि अहिले नेपालले सिमेन्ट निर्यात गर्छ । बढीमा दैनिक २,००० यात्रु ओसारपसार गर्ने ट्रली बसको सम्झना जत्ति नै रोमान्टिक लागे पनि लाखौं उपयोगकर्ताको मागलाई धान्न एक लेनको काठमाडौं सडकलाई चार लेन बनाउँदा पनि अपुग भएको छ ।

पश्चगामी राजनीतिको अधिप्रचारलाई परिवर्तनकारी शक्तिहरूले हावादारी गफ भनेर खारेज गर्नु कालक्रममा सायद अदूरदर्शी कार्यनीति ठहरिन सक्दछ । अतीतमोहको मानसिकीका अध्येताहरूका अनुसार विगतको भव्यता साबित गर्न वर्तमानसँग असन्तुष्टिको आगोलाई काल्पनिक अतीतको पंखाले हावा दिए पुग्छ । सामान्यजनमध्ये कसैले पनि अनुभव नगरेको राष्ट्रिय सान, मान र सम्मानको महिमागान गरेर सुस्तरी दक्षिणपन्थी राजनीतिका लागि आधारभूमि तयार हुँदै जान्छ । अधिप्रचारको आधार भावना भएकाले त्यसको काट पनि संवेग निर्माणमार्फत मात्र गर्न सकिन्छ । त्यस्तो काम राजनीतिकर्मी वा पत्रकारभन्दा पनि कलाकार र साहित्यकारले बढी प्रभावकारी ढंगले गर्न सक्दछन् । शाह राजा एवं राजपरिवारका अतिचारहरूबारे नयाँ पुस्तालाई जागृत तुल्याउने सृजनात्मक काम नगरी तिनमा विगत बोध, वर्तमानका विकलता एवं भविष्यका सम्भावनाहरूबारे सचेत तुल्याउन सकिँदैन ।

हरेक वर्ष फेब्रुअरी १ आउँदा राजा ज्ञानेन्द्रले सन् २००५ लाई सन् १९६० तिर फर्काउनका लागि उठाएको आत्मघाती कदमको सम्झना आउँछ । शाही–सैनिक ‘कू’ इतिहासको पहिलो पुनरावृत्ति राजसत्ताका लागि त्रासदी ठहरिएको थियो । दोस्रो प्रयास फगत प्रहसन ठहरिन सक्ने सम्भावनाप्रति सायद उनी सचेत छन् । उत्ताउला दक्षिणपन्थीहरूको मनसुबाबारे केही भन्न नसकिने भएकाले परिवर्तनकारी शक्तिहरूमा वैचारिक प्रतिरोधको तयारी सुरु हुन भने ढिलो भइरहेको छ ।

प्रकाशित : माघ १०, २०८० ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?