कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सुत्केरीलाई स्वास्थ्य संस्था

अमृता अनमोल

कपिलवस्तु नगरपालिका–६ सेमरीकी कलिमून निशा तीन सन्तान जन्माउँदासम्म एक किलोमिटर दूरीमा रहेको स्वास्थ्यचौकी कहिल्यै गइनन् । उनै कलिमून चौथो पटक भने सुत्केरी हुन तिलौराकोट स्वास्थ्य चौकीमा गइन् । गत साउन २३ मा १० घण्टाजति लामो व्यथापछि स्वस्थ शिशु जन्माइन् ।

सुत्केरीलाई स्वास्थ्य संस्था

त्यस्तै, बेलासपुरकी सजरुन निशा पनि दोस्रो सन्तान जन्माउन स्वास्थ्य संस्था गइन् । लगातार तीन दिन व्यथा लागे पनि सुत्केरी नभएपछि चौथो दिन गाउँकी स्वास्थ्य स्वयंसेविकाको अगुवाइमा तौलिहवा अस्पताल लगियो । अस्पतालले शल्यक्रियापछि सालनाल बेरिएको शिशु निकाल्यो । २५ वर्षीया आमा र शिशु मृत्युको मुखबाट निस्किए ।

जटिल अवस्थामा पुगेका कलिमून र सजरुन स्वास्थ्य संस्थामा सहजै सुत्केरी हुन भने गएका होइनन् । उनीहरूलाई त्यता डोर्‍याउनमा स्वास्थ्य स्वयंसेविका सविता गौतमको मेहनत परेको छ । सविताले कलिमून र सजरुन गर्भवती भएको थाहा पाएदेखि उनीहरूका परिवारलाई भेट्दै आएकी थिइन् । कहिल्यै गर्भवती परीक्षण नगराएका उनीहरूलाई सासुको रोहवरमा स्वास्थ्य संस्था पुर्‍याएकी थिइन् । सुत्केरी व्यथा लागेपछि पनि उनकै अगुवाइमा स्वास्थ्य संस्था लगिएको थियो ।

लुम्बिनी मातृ मृत्युदर धेरै हुने प्रदेश हो । नेपाल मातृ मृत्यु अध्ययन प्रतिवेदन–२०७८ ले लुम्बिनीमा प्रति १ लाख जीवित जन्म हुँदा मातृ मृत्यु अनुपात २०७ रहेको देखाएको छ । जबकि कर्णाली प्रदेशमा १७२ र मधेश प्रदेशमा १४० छ । गर्भवती घरमै सुत्केरी हुँदा मातृ मृत्यु बढेपछि लुम्बिनी प्रदेश सरकारले पछिल्लो समय गर्भवती परीक्षण र स्वास्थ्य संस्थामा सुत्केरी गराउने अभियान चलाएको छ । १२ जिल्लाका १०९ स्थानीय तहमै स्थानीय तहमार्फत स्वयंसेविकालाई परिचालन गरिएको छ । गर्भ परीक्षण गराउन र सुत्केरी हुन स्वास्थ्य संस्था लैजान स्वास्थ्य स्वयंसेविकाहरू घरदैलोमै पुग्ने गरेका छन् । उनीहरूले घरपरिवारसमेतलाई गर्भवतीको रेखदेख, स्वास्थ्य संस्थामा चेकजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुन जान परामर्श दिन्छन् । यसको प्रभावले घरमै सुत्केरी बन्न दबाब दिने पाका पुस्ताले पनि स्वास्थ्य संस्थामा जान सघाउन थालेको छ ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७७–७८ मा ८,१७५ गर्भवती घरमै सुत्केरी भएका थिए, जुन संख्या २०७८–७९ मा २,३४० मा झर्‍यो । २०८०–८१ को कात्तिक मसान्तसम्म केवल ९२५ जना घरमै प्रसूति भएका छन् । प्रदेशमा सबैभन्दा धेरै गर्भवती घरमा सुत्केरी हुने जिल्ला हो— कपिलवस्तु । यहाँ अहिले आधारभूत स्वास्थ्य परियोजनाले पनि गर्भवतीलाई स्वास्थ्य संस्था लैजान र उपचार प्रभावकारी बनाउन स्वास्थ्य सहजकर्ता र स्वयंसेविकामार्फत सघाएको छ । परिणामस्वरूप गर्भजाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढ्न र घरमा सुत्केरी हुने दर घट्न थालेको छ । आर्थिक वर्ष २०७७–७८ मा कपिलवस्तुमा २,९७४ जना गर्भवती घरमै सुत्केरी भएका थिए । त्यो संख्या २०७८–७९ मा घटेर १,६८२ हुँदै २०७९–८० मा ८९३ जनामा आयो । २०८०–८१ को कात्तिक मसान्तसम्म कपिलवस्तुका ४१० जना गर्भवती मात्रै घरमा प्रसूति भएका छन् ।

प्रदेश सरकारले मातृ मृत्यु घटाउन भन्दै गत आर्थिक वर्षदेखि घरमा सुत्केरी हुन नदिने अभियान चलाइरहेको छ । टोल, वडा हुँदै स्थानीय तहलाई ‘शून्य होम डेलिभरी’ घोषणा गर्ने सरकारी नीति छ । अहिलेसम्म १०९ मध्ये ४ स्थानीय तह ‘शून्य होम डेलीभरी’ घोषित भएका छन्— रुपन्देहीका मर्चवारी र सम्रीमाई गाउँपालिका एवं नवलपरासी पश्चिमका सुनवल र बर्दघाट नगरपालिका । भौतिक विकासमा अगाडि रहेका बुटवल, तुल्सीपुर, घोराही, नेपालगन्ज जस्ता उपमहानगरमै भने अझै पनि घरमा जटिलता खेपेर सुत्केरी बन्ने महिला धेरै छन् ।

शून्य होम डेलीभरीका लागि छुट्टै गाइडलाइन बनेको छ । प्रदेशले स्थानीय तह र स्वास्थ्यमा काम गर्ने आधारभूत स्वास्थ्य परियोजनाअन्तर्गत फेयरमेड, इन्द्रेणी, कालिका स्वावलम्बनलगायतका संस्थाहरूलाई पनि सेवा सुधार र चेतना प्रवाहमा खटाएको छ । स्वास्थ्य संस्थामा उपकरण वृद्धि, मैत्रीपूर्ण सेवाप्रवाह, स्वास्थ्य संस्था व्यवस्थापन समूह, स्वास्थ्य स्वयंसेविका र आमा समूहलाई मातृ मृत्युविरुद्ध घरदैलोमा परिचालन गरिएको छ । यसले स्वास्थ्य संस्थामा सेवाग्राही बढाउन, परिवारलाई गर्भवती र सुत्केरी स्याहारबारे संवेदनशील बनाउन र घरमा सुत्केरी गराउने दर घटाउन सहज भएको स्वास्थ्य निर्देशक विनोदराज गिरीको भनाइ छ ।

अस्पतालको सेवा छिटोछरितो र प्रभावकारी नहुने तथा स्वास्थ्यकर्मीको व्यवहार राम्रो नहुँदा पनि कतिपय गर्भवती घरमै सुत्केरी हुन रुचाउने गरेको स्वास्थ्य सर्वेक्षणले देखाएको थियो । यसलाई रोक्न लुम्बिनीमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको व्यवहार सुधारका कार्यक्रम पनि चलेका छन् । लुम्बिनी प्रदेशमा गर्भवती एवं सुत्केरी सेवा दिने ४६ वटा बर्थिङ सेन्टर छन् । शल्यक्रियासहितको निःशुल्क सेवा दिने निजीसहित २२ वटा अस्पताल छन् । यसबाहेक लुम्बिनी, भेरी र राप्ती विशेषज्ञ सेवासहितका अस्पताल हुन् । ८४ जना नर्स अल्ट्रासाउन्ड सेवासहित घरदैलोमा खटिएका छन् । उनीहरूलाई परामर्शपछि मात्रै सेवामा खटाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गर्भवती महिलाका जटिलताबारे पाका पुस्ताले सुनाइरहने एउटा उखान छ, ‘बाँचे आमा, मरे काल !’ हुन पनि गर्भवती वा स्वास्थ्यकर्मी मात्रै संवेदनशील बनेर मातृ मृत्यु घट्दैन । मातृ मृत्यु रोक्न गर्भवस्थादेखि सुत्केरीसम्मको अवस्था रेखदेख गर्न घरपरिवार, सामाजिक संघसंस्था, स्थानीय जनप्रतिनिधि र नागरिक समाजको भूमिका बढाउनुपर्छ । मातृमृत्यु घटाउन घरमा सुत्केरी हुने परिपाटी निमिट्यान्नै पार्नुपर्छ ।

प्रकाशित : माघ ९, २०८० ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?