२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६०

नयाँ शक्तिको पुरानो भाष्य

प्रतिस्पर्धात्मक अवस्थामा आफैंसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अनि मात्र आफूलाई टिकाउन र बिकाउन सकिन्छ । राजनीतिक दलहरूका सन्दर्भमा यो कुरा लागू नहुने हुन्न ।
विष्णु रिजाल

लोकतन्त्रमा दलहरूले आफूलाई अद्यावधिक गराइरहन सकेनन् भने तिनको अस्तित्व क्रमशः मेटिँदै जान्छ । नेपालमा प्रमुख दलहरूले या आफैं लागेर परिस्थितिमा परिवर्तन ल्याएका छन् या त परिस्थितिमा आएको परिवर्तनअनुकूल आफूलाई अद्यावधिक गराएका छन् ।

नयाँ शक्तिको पुरानो भाष्य

दलहरू पुरानै मुद्दामा अडिरहेका हुन्थे भने नेपाली कांग्रेस संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापनाकालीन प्रस्थापनाबाट अघि बढ्न सक्ने थिएन भने नेकपा (एमाले) ले आफूलाई अब्बल लोकतान्त्रिक विकल्पका रूपमा खडा गर्न सक्ने थिएन । संघीयता दलहरूको कार्यक्रममा थिएन, समावेशिता सुन्दा पनि अचम्म लाग्ने अवस्था थियो । मूलधारका दलहरूले त्यसलाई बोकेकै कारण, आज आर्थिक रूपमा जर्जर भए पनि अधिकारका प्रश्नमा नागरिकलाई सबभन्दा बढी अधिकारसम्पन्न बनाउने मुलुकमध्येमा नेपाल पर्दछ ।

बहुदलीय व्यवस्थामा दलहरूले निरन्तर चुनौती सामना गरिरहनुपर्छ । पाँच वर्षमा हुने आवधिक निर्वाचनबाट अनुमोदन हुनुपर्ने भएकाले दलहरूले आफूलाई अद्यावधिक र सक्रिय नतुल्याई सुखै छैन । अझ नयाँ दलहरू देखा पर्दा स्थापित दलहरूलाई स्वाभाविक रूपमा चुनौती खडा हुन्छ । नेपालका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन हुँदा कुनै चर्चाको विषय नभए पनि गत निर्वाचनमा उसले प्राप्त गरेको जनमतले मूलधारका दलहरूलाई सोच्न बाध्य बनाएको यथार्थ हो । यति हुँदाहुँदै हिजो नयाँ पार्टी बन्दा र बनाउँदा उत्साहित भएका मानिसहरू पनि यसबीचका त्यस पार्टीका गतिविधि र नेतृत्वको अविश्वसनीय व्यवहारका कारण अतिरिक्त निराश देखिन थालेका छन् ।

रास्वपा कुनै सिद्धान्त वा विचारधारामा उभिएर बनेको पार्टी होइन । पार्टी भन्ने संस्थाको कल्पना नै विचारधारासँग जोडिएको हुन्छ, त्यसले कुनै न कुनै सिद्धान्त बोकेको हुन्छ । तर, रास्वपा यस्तो आधारभूत प्रश्नसँग खासै सरोकार राख्दैन । यस पार्टीको मुख्य दर्शन, कार्यक्रम, कार्यनीति जे भने पनि ‘नकारात्मकवाद’ हो । ‘पुराना पार्टीले सकेनन्, गरेनन्, पुराना नेताहरूले देश लुटे, आफन्त र परिवारलाई मात्र हेरे, तिनीहरूका कारण देश बनेन, भ्रष्टाचार बढ्यो, विकास भएन’ भन्ने भाष्यमा रास्वपा उभिएको छ । यीमध्ये धेरै कुरा धेरै मानिसका मनमा लागिरहेका थिए र चुनावको मुखमै हल्लाखल्ला गरिरहेको रास्वपालाई विकल्प खोजिरहेका उनीहरूले हतार–हतार मतदान गरे । विदेशिनुपरेकाले कुण्ठा पालेका, देशभित्रै रोजगारी नपाएर रन्थनिएका र अरूलाई गाली गर्दा आनन्द मान्ने ठूलो संख्याले समर्थन गरेका कारण रास्वपा एकाएक खडा भए पनि त्यसले ठोस आधार समात्न सकेको छैन । केही नयाँ पात्रको प्रवेश र सामाजिक दबाबका कारण हालैका दिनमा सैद्धान्तिक आधार तय गर्न खोजे पनि पहिला पार्टीको स्थापना र त्यसपछि सिद्धान्तको खोजी गर्नु ‘काशी जानु कुतीको बाटो’ हुन्छ ।

पक्कै पनि सेवा प्रवाहमा हामीकहाँ समस्या छ । सरकारी कोषमा पैसा जम्मा गर्नका लागि कर कार्यालयमा लामो लाइन लाग्नुपर्छ, राहदानीका लागि बिहानै उठेर लाइन बस्न जानुपर्छ, सार्वजनिक संस्थाहरूको विश्वसनीयता घट्दै गएको छ । बेरोजगारीको समस्या विकराल छ । जनशक्ति उत्पादनसँग जोडिने अभ्यास कम भइरहेको छ । परनिर्भरता बढेको छ । हरेक दिन विमानस्थलमा विदेश जाने युवाहरूको छिचोली नसकिने लाइन हुन्छ । यतिसम्म कि, अर्काको देशमा रोजगारीका लागि आवेदन दिन पाउनुपर्छ भनेर आन्दोलन गर्दा युवाहरूले ज्यान गुमाउनुपरेको छ । विदेशीको ऋण बढिरहेको छ । निर्यात घटिरहेको छ, आयात बढिरहेको छ । अर्थतन्त्र विस्तार हुनुभन्दा संकुचन भइरहेको छ । यसको प्रभाव समाजका सबै क्षेत्रमा विस्तारित भइरहेको छ ।

तर, यी सबै समस्या कुनै एक राष्ट्रले भोगिरहेका बिलकुल नयाँ समस्या मात्र होइनन् र यिनको समाधानका लागि कुनै एक व्यक्ति वा संस्थासँग जादुको छडी पनि छैन । हिन्दी चलचित्र ‘नायक’ का मुख्य पात्र अनिल कपुर जस्तो कुनै एक जनाले चाहँदैमा यी समस्या समाधान भइदिऊन् भन्ने कल्पना गर्नु एउटा कुरा हो, तर कथा, उपन्यास वा चलचित्रका स्वैरकल्पनाबाहेक धरतीमा यस्तो चमत्कार न सम्भव छ न त अपेक्षित नै हुन्छ । ‘मास हिस्टेरिया’ उत्पन्न गरेर त्यसमै उभिएर राजनीति गर्छु भन्नु बिलकुल अल्पकालीन मात्र हुन्छ ।

लोकतन्त्रमा अरूमाथि प्रश्न उठाउन पाइन्छ, औंला ठड्याएर कुरा गर्न पाइन्छ, जति पनि आलोचना गर्न पाइन्छ, विकल्प दिन्छु भन्न पाइन्छ, आरोप लगाउन पनि पाइन्छ । तर, त्यसरी उथलपुथल ल्याउँछु भनेर लागेको नेतृत्वले आफू स्वयं प्रश्नहरूबाट भाग्न पाउँदैन । रास्वपाका सभापति रवि लामिछानेले चाहिँ अरूमाथि अनेक आरोप लगाउने र आफैं फैसला गर्न पछि नपर्ने तर आफूमाथि कुनै प्रश्न उठेमा त्यसबाट भाग्ने स्वभाव प्रदर्शन गरिरहेका छन् । उनको विवादास्पद व्यक्तिगत जीवन र विगतका बारेमा सार्वजनिक वृत्तमा आइसकेपछि प्रश्न नउठ्ने भन्ने हुन्न । तपाईं सार्वजनिक विश्वासमा उभिएर समाजको नेतृत्व गर्न चाहनुहुन्छ भने त्यहाँनेर तपाईंको व्यक्तिगत जीवन वा मामिला भनेर सबै मानिस चुप लाग्नुपर्छ भन्न मिल्दैन ।

नागरिकता र राहदानीका बारेमा आफूमाथि सुरुमै उठेका प्रश्नहरूलाई उनले कहिल्यै गम्भीरतापूर्वक लिएनन् र अस्वीकार मात्र गरिरहे । पछि अदालतले नै आफ्नो नागरिकता रद्द गरिदिँदासम्म उनले सत्य स्वीकार गर्न सकेनन् र त्यसलाई समेत राजनीतिक मुद्दा बनाएर ‘केही गर्न खोजेको थियो, सबै मिलेर फसाउन खोजे’ भन्ने संकथन निर्माण गर्न सफल भए । पछिल्ला दिनमा आफू संलग्न टेलिभिजनले सहकारी डुबाउने गरी गरेको आर्थिक अपचलनका बारेमा प्रश्न उठाउँदा उनी उल्टै प्रश्न उठाउनेमाथि नै प्रश्न उठाएर भाग्न खोजिरहेका छन् ।

एक गल्ती ढाकछोप गर्न अर्को गल्ती गरेर गन्तव्यमा पुगिँदैन भन्ने त उनको नागरिकता प्रकरणले पनि बुझाइसकेकै छ । ‘नेता हुन्छु, देश चलाउँछु, पुरानालाई विस्थापित गर्छु’ भन्नेले ‘मलाई थाहा थिएन’ भनेर उम्किन मिल्दैन । यसै पनि ‘इग्नोरेन्स अफ द ल इज नो एक्सक्युज’ अर्थात् कानुनको अज्ञानताले क्षमा पाइँदैन भन्ने तथ्य स्थापित नै छ । उब्जिएका प्रश्नहरूका बारेमा ‘मलाई थाहा छैन, त्यति बेला थाहा भएन, थाहा पाएको भए गर्ने थिइनँ’ भनेर छुट पाइन्थ्यो भने त कसैले पनि आफूले गरेको गल्ती कहिल्यै स्विकार्नैपर्ने थिएन ।

रास्वपाको उदय हुँदा त्यसलाई सकारात्मक रूपमा लिने जमात नभएको होइन । पुराना र स्थापित पार्टीहरू स्वयंभित्र पनि यस परिघटनाबाट कुनै न कुनै दबाब उत्पन्न नभएको पनि होइन । बहुदलीय व्यवस्था पुनःस्थापना भएबाट घुमाइफिराइ उनै पात्रहरूको वर्चस्व भएको राजनीतिमा रास्वपाको उदयले नयाँ तरंग सिर्जना गरेको यथार्थलाई नकार्न सकिन्न । पार्टीहरूभित्र पनि नयाँलाई अघि सार्नुपर्छ भन्ने बहसले स्थान पाउनुलाई सकारात्मक मान्नुपर्छ । ठीक छ, पार्टी अध्यक्ष, प्रधानमन्त्री हुने तहको नेताका लागि सबैले कुरा बुझ्छन् तर यहाँ त राजनीतिमा लागेर लोकतान्त्रिक बढुवा भनेर बदनाम भएको ‘२४ घ’ प्रवृत्तिले नयाँलाई अघि आउनै मुस्किल भइरहेको छ ।

२०६२–६३ को जनआन्दोलनपछि जन्मेको बच्चा बालिग मतदाता भइसकेको छ तर पार्टीभित्र बहस हुँदा र अवसरको कुरा आउँदा कम्तीमा २०३६ सालको विद्यार्थी आन्दोलनमा गरेको योगदानबाट कुरा सुरु हुने प्रवृत्ति अन्त्य भएको छैन । यसमा हलचल ल्याउनका लागि रास्वपाले शान्त तलाउमा ढुंगाचाहिँ हानेकै हो । नेपाली समाजमा असन्तोष बढिरहेको छ र त्यसले कुनै न कुनै रूपमा निकास खोजिरहेको छ । त्यस असन्तोषलाई मूलधारका दलहरूले बुझ्न सक्नुपर्छ र तदनुरूप आफूलाई परिमार्जित गर्नैपर्छ । उदाहरणका लागि, हामीले आफूले प्रयोग गर्ने मोबाइल फोनलाई नै लिन सक्छौं । एउटै कम्पनीको एउटै मोबाइल भए पनि आफ्ना उपभोक्तालाई आकर्षित गरिराख्न नयाँ–नयाँ मोडल सार्वजनिक भइरहेका हुन्छन् । अझ ती मोबाइलमा पनि नयाँ–नयाँ सफ्टवेयर समय–समयमा अद्यावधिक गरिरहनुपर्छ । अर्थात्, प्रतिस्पर्धात्मक अवस्थामा आफैंसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अनि मात्र आफूलाई टिकाउन र बिकाउन सकिन्छ । राजनीतिक दलहरूका सन्दर्भमा यो कुरा लागू नहुने हुन्न । यदि हामीले २००७, २०४६ र २०६२–६३ को आन्दोलनको मात्र दुहाई दिइरह्यौं भने त्यसभन्दा पछि जन्मेको र त्यसका बारेमा नजान्ने पुस्ताले आफूलाई त्यससँग जोड्न सक्दैन ।

राजनीतिमा नयाँ–नयाँ पात्र देखा पर्नु, दुई–चार दिन चुरीफुरी गर्नु अनि बिस्तारै बिलाउनु नयाँ कुरा होइन । २०६४ पछिका दुवै संविधानसभामा कस्ता–कस्ता पात्र र प्रवृत्ति देखा परेका थिए र कालान्तरमा ती कसरी बिलाए, हामीले देखे–भोगेकै छौं । अहिले सतहमा देखा परेका रवि–बालेन–हर्क प्रवृत्ति कुनै राजनीतिक आधारभन्दा पनि तत्कालीन सामाजिक असन्तोष र नकारात्मक राजनीतिका द्योतक हुन् । यस कुरालाई जति छिटो आत्मसात् गरेर ठूला दलहरूले कदम चाल्छन्, त्यति छिटो यसको समाधान निस्किन्छ ।

कथा माथि उल्लेख गरेजसरी अघि बढिरहेको छैन । रास्वपाका मुख्य नेतामा देखिएको अपरिपक्वता, अशिष्टता र सत्ताका लागि देखा परेको अधैर्यले यस पार्टीको भविष्यमाथि सुरुआतमै प्रश्न खडा गरिदिएको छ । नकारात्मक कुरा गर्न सजिलो छ । खासगरी, विदेशमा बस्ने युवाहरूलाई प्रभावित गर्नका लागि सस्ता लोकप्रिय कुरा जति गर्दा पनि हुन्छ । तर ती पूरा हुँदैनन्, त्यसले समाजमा झन् ठूलो निराशा ल्याउँछ र अर्को कुनै अवाञ्छित शक्तिले त्यसबाट लाभ उठाउँछ । रास्वपाका कारण अहिले नेपाली समाजमा देखा परेको अराजकताको बीचबाट राजावादीहरूले सुरु गरिरहेको चलखेललाई यही सन्दर्भमा बुझ्नु उचित हुन्छ ।

छोटा सपनाहरूको आयु लामो हुँदैन । वर्षामा उर्लिएको खहरे वर्षा सकिँदा–नसकिँदै सुकिसक्छ । नयाँ नारा, नयाँ पार्टी र नयाँ नेताका नाममा उदाएका पार्टीहरू सामान्य जनअसन्तुष्टि समाधान हुनासाथ र अलिकति सर्भिस डेलिभरी सुध्रिनासाथ बिलाएर जान्छन् । नागरिकमा जसरी एकाएक अनाश्यक आशा जगाइयो, ती पूरा हुने कुनै सम्भावनै छैन र त्यसले मान्छेमा झन् ठूलो निराशा ल्याउँदा तिनैमाथि नागरिक फर्किने अवस्था आउँछ । घटना राम्रो त होइन तर पोखरामा रवि लािमछानेमाथिको आक्रोश वस्तुतः उनी स्वयंले उत्पादन गरेको मनोविज्ञानको पुनरुत्पादन मात्र हो । राजनीति गर्ने र फरक देखिन्छु भन्नेले अनावश्यक रूपमा नागरिकमा चरम निराशा, चरम आक्रोश र चरम अपेक्षा जगाइदिँदा त्यसबाट अवाञ्छित शक्तिले लाभ लिन्छन् भनी बुझ्न आवश्यक छ ।

प्रकाशित : पुस १८, २०८० ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?