कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

आत्मरतिबाट बाहिर आओस् कांग्रेस

नेपाली कांग्रेस जहिले पनि सहमति, सहकार्य र एकताको हिमायती भएका नाताले अहिले देखिएका तमाम समस्याको समाधानका लागि राजनीतिक दलहरू र नागरिक समाजसहित सबै शक्तिलाई साथमा लिएर अगाडि बढ्ने कामको नेतृत्व गर्न जरुरी छ ।
डिला संग्रौला

२०१५ सालको आम निर्वाचनपछि दुईतिहाइ बहुमतसाथ नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले सरकारको नेतृत्व गरिरहेका बेला राजा महेन्द्रले ‘कु’ गरेर पञ्चायती व्यवस्था लागू गरे । प्रजातन्त्रको हत्यासँगै जेल परेका बीपी २०२५ सालमा रिहाइपछि उपचार गर्न भन्दै भारत जानुभयो ।

आत्मरतिबाट बाहिर आओस् कांग्रेस

भारत निर्वासनमा ८ वर्ष बसेपछि बीपीले नेपालमा बढ्दो राजनीतिक ध्रुवीकरण र वामपन्थीहरूको हालीमुहाली देखेर प्रजातन्त्र प्राप्तिका लागि स्वदेशमै बसेर संघर्ष गर्ने अठोट गर्नुभयो । र, राष्ट्रिय मेलमिलापको नीति लिई २०३३ पुस १६ गते गणेशमान सिंह लगायतका नेताहरूसहित भारतबाट फर्किनुभयो ।

बीपीले मेलमिलापको नीतिसहित काठमाडौं आउँदै गर्दा देश राष्ट्रिय संकटमा रहेको र यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको उल्लेख गर्नुभएको थियो । भारतले सिक्किम विलय गरेसँगै नेपालमा पनि यस्तो चलखेल हुने बुझेरै बीपी राष्ट्रियता र मेलमिलापको नीति अँगाल्दै स्वदेश फर्किनुभएकामा दुई मत छैन ।

बीपीले ठूलो हृदय बनाएर, २०१५ सालमा पाएको जनमतको घमन्ड नगरी सबैलाई विगतका अप्रिय विवाद, अनुभव र मतभिन्नता बिर्सेर एकताको सूत्रमा बाँधिने पहल गर्न आह्वान गर्नुभएको थियो । ‘राष्ट्र रहेन भने हामी रहन्नौं’ भन्ने भावनाले प्रेरित बीपी काठमाडौं आइपुग्दा पुनः पक्राउ पर्नुभयो, तैपनि प्रजातन्त्र प्राप्तिको आन्दोलनलाई निरन्तरता दिनुभयो ।

दक्षिण एसियामा देखिएको त्यति बेलाको राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्किएका बीपी राजनीतिक दल र त्यति बेलाको राजशक्ति मिल्नुपर्ने अडानमा प्रस्ट हुनुहुन्थ्यो ।

२०४७ सालको संविधान बन्दा बीपीको देहावसान भइसकेको भए पनि उहाँले अँगालेको नीति अनुसार नै त्यति बेला नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको पहलमा नेपालको संविधान–२०४७ जारी भयो । संविधान अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकीकरणको अभ्यास सुरु भए पनि त्यसपछि नेपाली कांग्रेसभित्र देखिएको अस्वस्थ प्रतिस्पर्धाले पार्टीलाई नै नोक्सान गर्दै गयो । तत्कालीन अवस्थामा गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीचको तनाव अनि सर्वमान्य नेता गणेशमान सिंहको निष्क्रियतापछि नेपाली कांग्रेसको दुर्दशा सुरु भएको हो ।

संविधानमाथि धावा बोल्ने शक्ति माओवादीले सशस्त्र युद्ध गर्दै अशान्ति मच्चाउन थालेपछि र दरबार हत्याकाण्डपछि नेपाली राजनीति झन् खराब अवस्थामा पुग्यो । २०६२–६३ सालको जनआन्दोलनपछि मुलुकमा नेपाली कांग्रेसको नेतृत्वमा गणतान्त्रिक व्यवस्थाको सूत्रपात भयो । संविधानसभाबाट संविधान जारी गर्ने कामको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्‍यो ।

गणतन्त्रमा जाँदै गर्दा नेपाली कांग्रेसले बीपीको नीति छोडेको आरोप लगाइए पनि संविधानसभाबाट संविधान जारी गर्नुपर्छ भन्दै सात दशकअगाडि बीपीले उठाएको मुद्दाको सम्बोधन भने नेपाली कांग्रेसबाटै भएको थियो ।

अहिलेका चुनौती

अहिले राजनीति देश र जनताका लागि भन्दा पनि व्यक्ति र परिवारमा केन्द्रित भइरहेको छ । यो अवस्थामा बीपीको अभाव झनै खड्किन थालेको छ । नेपाली कांग्रेसको सिद्धान्तका प्रतिपादक बीपीकै मार्गनिर्देशनमा अहिलेसम्म यो पार्टी हिँडेको दाबी गरिए पनि पछिल्लो समय त्यो नेतृत्वको कमी गहिरो गरी महसुस हुँदै गएको छ । बीपीले कहिल्यै कसैलाई काख र कसैलाई पाखा नगरेकैले नेपाली कांग्रेसको इतिहास बलियो र सुदृढ थियो । तर अहिले नेपाली कांग्रेसको नीति के हो, कार्यदिशा के हो भन्ने तमाम प्रश्नको जवाफ दिने हैसियत नेतृत्वमा नभएको जस्तो अनुभूति हुन्छ ।

अहिले पार्टीभित्रै बेमेल छ । एकले अर्कालाई अस्वीकार गर्ने प्रवृत्ति हावी भइरहेको छ । नेपाली कांग्रेसलाई अब साँच्चिकै बीपीले परिकल्पना गरेको जस्तो बनाउने हो भने हामी सबै एकजुट हुनुपर्छ । बीपीले जस्तै विगतका तीतामीठा कुरा बिर्सेर राष्ट्र र राष्ट्रियता बलियो बनाउन र जनताको जनजीविकाका सवालहरूलाई सम्बोधन गरेर अगाडि बढ्नका लागि संकल्प गर्न जरुरी भइसकेको छ ।

नेपाली राजनीतिमा दिनानुदिन चुनौतीहरू थपिँदै छन् । विगतमा थोरै राजनीतिक दलहरू थिए, कांग्रेस, कम्युनिस्ट र राजावादी भन्दा पुगिहाल्थ्यो । तर, हामीले संविधानमै बहुदलीय व्यवस्थाको अभ्यास बमोजिम नयाँ राजनीतिक दलहरू नयाँ विचारसहित नेपाली समाजमा स्थापित भइरहेका छन् । त्यसले गर्दा विगतमा सीमित राजनीतिक दलहरूको विकल्पहीनताबाट अब आम जनतासँग पनि छनोट गर्ने प्रशस्त आधारहरू बन्न थालेका छन् । हामीले पुरानै कार्यशैली अपनायौं भने आउँदा दिनमा नेपाली कांग्रेसका लागि अवस्था त्यति सहज हुनेछैन । त्यसैले गुट–उपगुटभन्दा माथि उठेर बीपीले गरेको परिकल्पनालाई साकार पार्नका लागि एक पाइला मात्रै अगाडि बढाउने हो भने पनि सफलताको सिँढी चढ्न हामीलाई धेरै बेर लाग्नेछैन । होइन भने दिवस र स्मृति दिवस आउँदा एक मिनेट मौन धारण गर्ने, त्यस दिनका सञ्चारमाध्यमका हेडलाइन बनाउने अनि पुष्पगुच्छा अर्पण गरेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने काममा मात्रै सीमित हुने पक्का छ । नेपाली कांग्रेस जहिले पनि सहमति, सहकार्य र एकताको हिमायती भएका नाताले अहिले देखिएका तमाम समस्याको समाधानका लागि राजनीतिक दलहरू र नागरिक समाजसहित सबै शक्तिलाई साथमा लिएर अगाडि बढ्ने कामको नेतृत्व गर्न जरुरी छ ।

अहिले नेपाली समाज निराश र अस्तव्यस्त अवस्थामा छ । यस्तो बेला नेपाली कांग्रेस आत्मरतिमा रमाउने होइन कि समाज र देशलाई दिशा दिनमा योगदान गर्नका लागि सबै मिल्ने र सबैलाई मिलाउने काम गर्न सक्नुपर्छ । अनि मात्र साँच्चिकै हामीले झन्डै पाँच दशकदेखि मनाउँदै आएको राष्ट्रिय मेलमिलाप दिवसको सार्थकता हुनेछ ।

विदेश काम गर्न जान पाऔं भन्ने युवाहरूले देशभित्रै ज्यान गुमाउनुपर्ने दुःखद अवस्था छ भने अन्तर्राष्ट्रिय परिस्थिति २०३३ सालको भन्दा अरू जटिल हुँदै गएको छ । शक्तिशाली रुसको आक्रमण झेलिरहेको युक्रेनले अस्तित्वको लडाइँ लड्नुपरिरहेको छ । इजरायल–गाजा द्वन्द्वले विश्व राजनीतिका अप्ठेराहरू झन् अरू छर्लङ्ग पारिरहेको छ । हाम्रा दुई छिमेकी भारत र चीन विश्वशक्ति बन्न प्रतिस्पर्धा गरिरहँदा हामी भने खाद्यान्न र अत्यावश्यक वस्तुमा परनिर्भर हुँदै गएका छौं । व्यापार घाटा बढेको छ । दैनिक सयौं युवा रोजगारी र पढाइका लागि विदेश गइरहेका छन् । महिला, दलित, जनजाति लगायतका समुदायविरुद्ध भेदभाव कायमै छ । हामीसँग समय छैन । अब कांग्रेसले आउँदा दस वर्षभित्र देशको रूपान्तरण गर्ने, अल्पविकसित स्थितिबाट मुलुकलाई विकासशील मुलुक बनाउने, देशभित्रै रोजगारी र उद्यमशीलता बढाउने, सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार ल्याउने स्पष्ट एजेन्डा अगाडि ल्याउनुपर्छ । देश निर्माणका लागि कुनै पनि शक्तिलाई बहिष्कार गर्नु हुँदैन । सबैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ । त्यसैले राष्ट्रिय एकता र मेलमिलापको नीति नेपाली कांग्रेसका लागि मात्रै हैन, सिंगो मुलुकका लागि अरू बढी सान्दर्भिक हुन पुगेको छ ।

प्रतिनिधिसभाकी पूर्वसदस्य संग्रौला कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।

प्रकाशित : पुस १६, २०८० ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?