कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

खेर गएको एक वर्ष

लोकतन्त्रमा विधिको शासन सञ्चालन गर्ने हो भने समयको अवधिको आफ्नै विशिष्ट महत्त्व रहने गर्छ । ३६५ दिन अर्थात् साढे आठ हजार घण्टाभन्दा बढी सरकारको यो अवधिमा सम्झनलायक साढे आठ काम पनि हुन सकेनन् । गठबन्धन र ठगबन्धनको सन्तुलन र दबाबको गर्भबाट जन्मेको सरकारको काम नै शक्ति सन्तुलन र लेनदेनको व्यवस्थापन गर्नु रहेको छ ।

खेर गएको एक वर्ष

सुरुमा केही गर्न खोजेको जस्तो देखिए पनि लेनदेन र शक्ति सन्तुलनको चेपुवामा परेको सरकारले आफ्नो हैसियत र फायर पावरको रेन्जभित्र टार्गेटलाई पार्न सकेन र पार्न सक्दैन । राजनीतिक साख गुमाइसकेका र बिर्सनलायक पृष्ठभूमि रहेका पात्रबाट सञ्चालित सरकारले आम नागरिकको हितमा काम गर्ला भन्ने विश्वास त उहिल्यै गुमिसकेको छ ।

अहिले भने विष र आस अर्थात् विश्वासको संकटको दायरा पात्रको क्रियाकलापबाट प्रवृत्तिको निर्माण र प्रवृत्तिको स्थायित्वबाट प्रणालीको संकटसम्म फैलिन पुगेको छ । यो एक वर्षलाई तथ्यपरक ढंगले समीक्षा गर्दा सरकार कहीँकतै फेला पर्दैन । सरकार खोज्न सिंहदरबार होइन, फेरि बिचौलियाकै बीचमा जानुपर्ने बाध्यता किन हुन गयो भन्ने विषयमा जानुअघि देहायका सन्दर्भ र सान्दर्भिकतालाई आत्मसात् गर्न आवश्यक देखिन्छ ।

कागती चाटेको सिंहले मृगको सिकार गर्दैन

एउटा कथाअनुसार, सिंहले बल्लबल्ल कारबाहीको टार्गेटको रेन्जमा ल्याएको मृगलाई सिकार गर्न खोज्दा मृगले मार्नुअघि सिंहलाई एक पटक आफूसँग भएको कागती चाट्न अनुरोध गरेछ । सिंहले पनि मृगको अन्तिम इच्छाको सम्मान गर्न त्यो कागती चाटेछ । कागती चाटिसकेपछि सिंहको दाह्रा कुँडियो । कुँडिएको दाह्राले सिंहले मृगलाई मार्न नसकी चाटेर बसेछ । यता, दाहाल सरकारले आफ्ना दाह्रा उहिल्यै कुँडाइसकेको छ ।

बिचौलिया र असंगत शक्तिकेन्द्रको कागतीले कुँड्याइएका दाह्रा भएको सिंहदरबारको सिंहले सिकार गर्न छाडेको त लामै अवधि भइसकेको थियो, पछिल्लो एक वर्षको अवधि अपवाद हुन सक्ने कुरै थिएन । अमिलो–गुलियोको रसास्वादनमा लिप्त र दाह्रानंग्रा खिइएको सिंहले मृगजस्तै तीव्र वेगमा कुदिरहेको कुशासन र भ्रष्टाचारको गतिलाई छेक्न सक्ने कुरै थिएन । यो कुरा तस्बिर र तथ्यबाट पुष्टि पनि भइसकेको छ ।

‘म कुटेजस्तै गर्छु, तँ अनुसन्धान गरेजस्तै गर्’

परिणाम दिनेले कर्म गर्छन् । कर्म गर्नेले सही मार्गको पहिचान, विधि र अवधिको पूर्ण सदुपयोग गर्ने गर्छन् । कर्म, मार्ग र विधिको सन्तुलन कायम गर्न नसक्नेले नाटकको प्रदर्शन मात्र गर्छन् र अवधिको दुरुपयोग गर्छन् । वास्तविक र हितकारी परिणामका यी शाश्वत सर्तको पालना नगर्ने सरकारले केही गर्छु भन्नु आफैंमा नाटक नै थियो । नाटकको मञ्चन कसरी भयो, पात्रको भूमिका कस्तो रह्यो भन्ने विषय नाटकको प्रदर्शनसँगै समाप्त भइसक्यो । भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करीको अनुसन्धान र सो अनुसन्धानमा खटिएका व्यावसायिक अनुसन्धानकर्मी र न्यायमूर्तिको असामयिक स्थानान्तरणले दिएको सन्देशले सरकारको नियत र मुहार ऐनामै देखियो ।

‘अब कसैले पनि विधिसम्मत ढंगले अनुसन्धान गर्ने नै होइन, अपराधी पत्ता लगाउँदा सत्तामा संकट पर्छ, यस्तो दुस्साहस गर्ने जोकोही पनि हाम्रा वर्गशत्रु हुन्’ भन्ने स्पष्ट सन्देशका कारण सरकारको सुशासनको यात्रामा उहिल्यै पूर्णविराम त लागिसक्यो नै, यसले स्थापित गर्न खोजेको सन्देश विधि र अवधिका दृष्टिले झनै दूरगामी महत्त्वको रहन गयो । ‘म कुटेजस्तै गर्छु, तँ अनुसन्धान गरेजस्तै मात्र गर्, अनुसन्धान गर्दा प्रमाण होइन, परिणामको वर्गीय असरमा ध्यान दे’ भन्ने सन्देशसहित संगठित अपराधको अनुसन्धानको नजिर स्थापित हुन गयो ।

नमच्चिने पिङको सय झट्का

मच्चिन नै नसक्नेले किन मच्चिन खोज्नु ? मच्चिन खोज्दा आफैं थच्चिन पुग्नेले आफ्नो ल्याकत र बर्कतको ख्याल गर्नुपर्ने हुन्छ । स्यालको सिकार गर्दा पनि सिंहको खरखजाना बोक्नुपर्ने सिकारको रणनीतिसँग मेल नखाने सरकारको गर्जन र ल्याकतका बीचमा ठूलै अन्तर देखिन्छ । ‘घाँटी हेरी हाड निल्नु’ भने आहान बिर्सेर साँघुरिएको र खुम्चिएको राजनीतिक दलको हैसियतमा रणनीतिक रूपमा सरकारमा पुगेकाले ठूल्ठूला कुरा गर्नु आफैंमा अस्वाभाविक र अशोभनीय थियो तैपनि नेतृत्वले समयको माग र आफ्नै अस्तित्वका खातिर केही चामत्कारिक काम गरी पो हाल्छ कि भन्ने भ्रम भने प्रारम्भिक अवधिमा देखा नपरेको होइन ।

दिग्भ्रम र भ्रम कायम राख्न सफल हुनु अनि सुशासन र सेवा प्रवाहका क्षेत्रमा योगदान पुर्‍याउनु फरक पाटा हुन् । उपलब्ध अवधिको सदुपयोग र र विधिको शासनका नियमको सम्मान गर्ने बानी नै नपरेकाले र विगतमा असफलताको पगरी गुथिसकेकाले मच्चिन खोजे पनि आफैं झट्कामा पर्ने गर्छन् । स्वयं झट्काको चेपुवामा अट्केकाको आँटले अब मुलुक बन्न सक्दैन भन्ने भ्रम चिर्न भने सरकार सफल भएको छ । यो महान् उपलब्धिको रक्षा गर्न सफल रहुन्जेल भागबन्डाको सरकारको अवधि पनि कायमै रहने देखिन्छ ।

प्रकाशित : पुस १३, २०८० ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?