कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

पुस्तक पढ्ने बानीले निखार्छ बालबालिकालाई

आफ्ना अभिभावकलाई जति बेला पनि मोबाइलमा देखेपछि छोराछोरीमा पनि मोबाइल तथा टीभीप्रति आकर्षण बढ्नु स्वाभाविक हो ।
मधु राई

बोजु, नयाँ किताब पढ्ने !’ छ–सात कक्षा पढ्दाताका नाति पर्ने एक जनाले हरेक साता मलाई यसरी सोध्ने गर्थ्यो । तिनताक हामी दुई पुस्तक भाडामा लिएर पढ्ने गर्थ्यौं । दुई जना मिलेर पढ्दा भाडाको पैसा पनि आधाआधा तिर्नुपर्थ्यो । स्कुले जीवनमा बेलाबखत पाहुना र आमाले दिने खाजाखर्च जोगाएर राखेको पैसाले म ती पुस्तक पढ्थें ।

पुस्तक पढ्ने बानीले निखार्छ बालबालिकालाई

यसरी अतिरिक्त पुस्तकप्रति रुचि जगाइदिने नातिले भने स्कुले शिक्षा पनि पूरा गर्न पाएन र दुई दशकअघि नै यो संसार छाड्यो, लालाबालालाई बिचल्ली पारेर । कक्षा छसम्म मलाई उत्तीर्णाङ्क प्राप्त गर्नसमेत हम्मेहम्मे पर्थ्यो । अतिरिक्त पुस्तक पढ्ने बानीले मेरो पढाइ मात्र सप्रिएन, कक्षा सातदेखि म पहिलो तीनमा पर्न थालें । विषयगत गुरुहरूले कक्षामा उत्तरपुस्तिका देखाउने क्रममा मलाई सधैंजसो अगाडि बोलाएर अतिरिक्त पुस्तक पढ्ने मेरो बानीको प्रशंसा गर्दै स्याबासी दिनुहुन्थ्यो । हुन पनि हो, प्रवासमा नेपालीभाषी भएर पनि हिन्दी माध्यममा स्कुले शिक्षा हासिल गर्ने म जस्ता विद्यार्थीको हिन्दी भाषा सुधार्न ती अतिरिक्त पुस्तकले निकै सघाएका थिए ।

स्कुले जीवनमा त्यस्तो अवसर नपाए पनि अतिरिक्त पुस्तक पढ्ने बानीले मलाई चौतर्फी र दूरगामी फाइदा पुर्‍याएको छ । नेपाल आएपछि झन्डै दस वर्ष स्वाध्ययनबाट नेपाली सिकें । मेरो पुस्तक पढ्ने बानी झाँगिएर छोराछोरीसम्म पुग्यो । उच्च शिक्षा हासिल गर्न अमेरिकासम्म पुगेका छोराछोरीले आज अनलाइनबाट पुस्तक मगाएर पढ्छन् भने म पनि स्थानीय बजारमा नपाएका नयाँ पुस्तक काठमाडौंबाट मगाएर पढ्छु । यात्रामा निस्कँदा पुस्तक बोक्ने मेरो पुरानो बानी उस्तै छ, नयाँ ठाउँमा किनमेलको सूचीमा पुस्तक पहिलो प्राथमिकतामा पर्छ ।

पछिल्लो समय सूचना र प्रविधिको विकाससँगै मानिसमा पुस्तक पढ्ने बानी हराउँदै गएको भान हुन्छ तथापि मजस्ता कतिपय पाठकको रुचि भने उस्तै छ । खासमा स्कुले जीवनमा अतिरिक्त पुस्तक पढ्ने बानीको विकास गराउन वर्तमान शिक्षा असफल जस्तै देखिएको छ । शिक्षक, अभिभावकलगायत सरोकारवालाले पनि यस्ता विषयमा त्यति चासो लिएको देखिँदैन । यसो हुनुमा शिक्षक र अभिभावकहरूको पृष्ठभूमिले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । अतिरिक्त पुस्तक नपढ्ने शिक्षक तथा अभिभावक स्वयंले यसको महत्त्व बुझेका हुँदैनन् । कथंकदाचित् विद्यार्थीले पढ्ने गरे पनि उनीहरूलाई प्रोत्साहित हैन, हतोत्साहित गरिन्छ । केही वर्षअघि, प्रावि तहदेखि नै अतिरिक्त पुस्तक पढ्ने मेरी छोरीले ठूलाले पढ्ने ‘वेभ’ म्यागजिन पढ्न थालेको कुरा लिएर एक शिक्षिकाले मसँग गुनासो गरिन् । मैले उनलाई अतिरिक्त पुस्तक पढ्दा भाषा र पढाइ सप्रन्छ भनेर उल्टै सम्झाउनुपर्‍यो ।

विडम्बना, स्कुले शिक्षा हासिल गरिरहेका अधिकांश विद्यार्थी घरमा पढ्दैनन् भनेर अभिभावकले सधैँजसो गुनासो गरेको सुनिन्छ । यसो हुनुमा शिक्षकभन्दा पनि अभिभावकको दैनिकी र जीवनशैलीको महत्त्वपूर्ण भूमिका हुन्छ । घरका ठूलाबडा सबैजसोको अधिकांश समय मोबाइल हेर्दैमा बित्ने गरेको छ । यस अर्थमा यस्ता अभिभावकले स्वयं आफ्ना छोराछोरीलाई दिग्भ्रमित गरिरहेका छन् । आफ्ना अभिभावकलाई जति बेला पनि मोबाइलमा देखेपछि छोराछोरीमा पनि मोबाइल तथा टीभीप्रति आकर्षण बढ्नु स्वाभाविक हो ।

के शिक्षित के साक्षर, के हुनेखाने के हुँदा खाने, पछिल्लो समय प्रायः सबैको पहुँचमा यस्ता आधुनिक उपकरण पुगेका छन् । यसो हुँदा पनि अधिकांशको समय सामाजिक सञ्जाल चहार्दै बित्ने गरेको छ भने यस्ता उपकरणले पनि अतिरिक्त पुस्तकहरूप्रतिको चासो मानिसमा घट्दै गएको देखिन्छ । त्यसो त पहिलेका तुलनामा स्कुले बालबालिकाका लागि उमेर– अनुसारका पुस्तकहरू प्रशस्तै प्रकाशित हुन थालेका छन् तथापि तिनलाई बालबालिकासम्म पुर्‍याउन प्रकाशक र बिक्रेताहरू असफलजस्तै देखिएका छन् ।

यसो हुँदा पनि बालपुस्तकप्रतिको चासो–चिन्ता ठूलाहरूले लिएको देखिँदैन । कतिपय निजी विद्यालयले आफ्ना विद्यार्थीका लागि पुस्तकालयको सुविधा दिएका छन् । यस्ता पुस्तकालयमा विद्यार्थीको रुचि र उमेरअनुसारका पुस्तक विरलै भेटिन्छन् । यस्ता विद्यालयले आफ्ना विद्यार्थीमा पुस्तक पढ्ने बानीको विकास गराउन अतिरिक्त क्रियाकलाप गराउने गरेको देखिँदैन । अझ भनौं, उमेरअनुसारको अतिरिक्त बालपुस्तक पढ्न पाउनुपर्छ वा पढाउनुपर्छ भन्ने सोच नभएका अभिभावक र शिक्षकले यस्ता विषयमा त्यति चासै राख्दैनन् । अभिभावकको चासो–चिन्तामा अतिरिक्त पुस्तक र पुस्तकालय नपरेपछि विद्यालय र शिक्षकहरूलाई पनि हाइसन्चोजस्तै भएको छ ।

नयाँनयाँ पुस्तकको विज्ञापन सामाजिक सञ्जालहरूमा बग्रेल्ती भेटिन्छन् तथापि बालपुस्तकहरूको प्रचारप्रसार त्यति हुन सकेको देखिँदैन । यसो हुनुको एउटा कारण हो— शिक्षक र अभिभावकको यस्ता पुस्तकप्रतिको उदासीनता । अधिकांश हुनेखाने अभिभावकले आफ्ना छोराछोरीलाई महँगा ग्याजेट, खेलौना, खानेकुरा र लुगाफाटा किनिदिए पनि बालपुस्तक किनिदिने गरेका छैनन् । यसो हुनुमा अभिभावक र बालबालिकाको भन्दा पनि विद्यालय तथा शिक्षकहरू दोषी देखिन्छन् । किनभने बालपुस्तक पढ्नुपर्छ भनेर चासो जगाइदिने पहिलो कर्तव्य विद्यालय र शिक्षकहरूको हो ।

पछिल्लो समय ठूलाले पढ्ने पुस्तकहरूको प्रचारप्रसारका लागि लेखकसहितको टोली विभिन्न सहर पुग्ने गरेको देखिन्छ । यससम्बन्धी अन्तरक्रियालगायत पाठकमञ्चमा लेखकहरू स्वयं उपस्थित हुने गरेका छन् । यस्तै, पुस्तकमेलामा लेखकसँग साक्षात्कार गर्न तथा हस्ताक्षरसहितको पुस्तक किन्न पाठकको घुइँचो लाग्ने गरेको छ । बालपुस्तक लेखकहरूप्रति प्रकाशन गृहहरूले सौतेनी व्यवहार गरेको देखिन्छ । किनभने ठूलाहरूका लागि भनेर आयोजना गरिने यस्ता पुस्तक मेलामा बालपुस्तकका लेखकहरू विरलै उपस्थित हुन्छन् । यस अर्थमा बालपुस्तक लेखक तथा पाठकहरू निरीहजस्तै देखिन्छन् । संघीय राजधानी काठमाडौंलगायतका ठूला सहरमा बालबालिकाका लागि पुस्तकमेला विरलै हुने गर्छन् । यसो हुँदा पनि बालबालिकासम्म यस्ता पुस्तक पुग्न सकेका छैनन् ।

केही समययता विभिन्न क्षेत्रमा नाम कमाएका कतिपय लेखक आफैं पनि आफ्नो पुस्तकको प्रचारप्रसारमा जुटेका छन् । यस्ता लेखकहरूमा मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल र वैज्ञानिक महावीर पुन अग्रपंक्तिमा पर्छन् । मुटुरोग विशेषज्ञ डा. अनिलले आफ्नो दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ प्रकाशित भएपछि यससम्बन्धी आफ्ना कुरा सामाजिक सञ्जालमार्फत् व्यक्त गरिरहेका छन् भने उनले विभिन्न सञ्चारमाध्यमहरूमा दिएको

आफ्नो अन्तर्वार्तासमेत पोस्ट गरिरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका महावीर पुनले आफ्नो जीवनी समेटिएका पुस्तक आफैं बिक्रीवितरण गरिहेका दृश्यहरू सामाजिक सञ्जालमा असरल्ल भेटिन्छन् । बजारीकरणको नौलानौला अभ्यास थालेका डा. अनिल र पुनजस्ता नवप्रवेशी लेखकहरू स्वयंले आफ्ना पुस्तकहरू पाठकसम्म पुर्‍याउन गरेका अनुकरणीय कार्य प्रकाशन गृहहरूले गर्न सकेका छैनन् ।

विकसित मुलुकहरूमध्ये अमेरिका, बेलायत तथा फिनल्यान्डमा दुई वर्षदेखिका बालबालिकाका लागि बालचित्र कथाका पुस्तकहरू पाइन्छन् । सानो उमेरदेखि पुस्तक हेर्ने–पढ्ने बानीको विकास गराउन अभिभावकले पनि भरमग्दुर प्रयास गर्छन् भन्ने कुरा रुम टु रिडका संस्थापक अमेरिकी नागरिक जोन उडले आफ्नो दोस्रो पुस्तक ‘साक्षर संसारतिर’ मा उल्लेख गरेका छन् । सानोछँदा आमा र हजुरआमाले सधैं बालचित्र कथाका पुस्तकहरू पढेर सुनाएकै कारण आफू पुस्तकप्रेमी बन्न पुगेको उनले पुस्तकमा उल्लेख गरेका छन् ।

जोन उडले भनेजस्तै स्कुले बालबालिकालाई पुस्तकप्रेमी बनाउन तीनै तहका सरकारले, विशेष गरी स्थानीय सरकारले विद्यालयमा पुस्तकालय कार्यक्रम सुरु गर्नुपर्छ । त्यसअघि शिक्षक र अभिभावकहरूलाई अभिमुखीकरण गर्न जरुरी छ । स्थानीय सरकारले वार्षिक रूपमा पुस्तकालय कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवालासँग समन्वय र सहकार्य गरी आवश्यक बजेटसहित रणनीति बनाउनुपर्छ ।

प्रकाशित : मंसिर ६, २०८० ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?