२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

००७ सालको जनक्रान्तिमा हिमालयन एभिएसन

महावीरशमशेर स्वयं क्रान्तिका पक्षमा समर्पित भएर लागेका थिए र जनक्रान्तिका अत्यन्त असजिला मार्गहरूलाई उनको हिमालयन एभिएसनले सहज बनाइदिएको थियो।
रामचन्द्र पोखरेल

हिमालयन एभिएसन कम्पनीको डीसी–३ डकोटा हवाईजहाज १३ नोभेम्बर १९५० (२००७ कात्तिक २८) का दिन ४ः३० बजे पटनाबाट दिल्लीका लागि उड्दै थियो । त्यसभित्र ‘जनक्रान्ति’ को सुप्रिम कमान्ड काउन्सिलका तीन नेताहरू मातृकाप्रसाद कोइराला, बीपी कोइराला र सुवर्णशमशेर बडो गम्भीर मुद्रामा थिए । 

००७ सालको जनक्रान्तिमा हिमालयन एभिएसन

मुक्तिसेनाले ११ नोभेम्बर १९५० (२००७ कात्तिक २६) का दिन वीरगन्ज कब्जा गरेपछि त्यहाँको तहबिलमा रहेको भारु ३५ लाखसमेत त्यसै विमानभित्र थियो । त्यत्रो ठूलो धनराशिलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने लक्ष्यसहित उडेको त्यस विमानभित्र सूर्यप्रसाद उपाध्याय, त्यही विमान कम्पनीका प्रमुख महावीरशमशेर र विजया कोइराला (बुनु) समेत थिए । सिटको एकातिर कुनामा अर्को एक जना पनि थियो ।

त्यस उडानको गन्तव्य र लक्ष्य भारतीय दूतावासमा शरण लिएर त्यहाँको वायुसेनाको विमानद्वारा दिल्ली पुगेका राजा त्रिभुवनलाई भेटेर उक्त ३५ लाख रकम हस्तान्तरण गर्नु थियो । राजा सपरिवार दिल्लीतिर उड्दै छन् भन्ने सूचना प्राप्त गरेपछि तीन जना नेता भएको सुप्रिम कमान्ड काउन्सिलको आकस्मिक बैठक बसी ‘राजाले नेपालको भूमि नछोड्दै’ वीरगन्जमा आक्रमण गर्ने निर्णय भएको थियो । त्यसै निर्णय अनुसार नोभेम्बर १०–११ बीचको ‘जिरो आवर’ मा नेपाली कांग्रेसको मुक्ति सेना वीरगन्ज प्रवेश गरेको थियो । त्यसका कमान्डर थिए— थीर बम मल्ल । उनको नेतृत्वमा त्यसै रात बडाहाकिम बंगला कब्जा गरी बडाहाकिमलाई समेत नियन्त्रणमा लिइएको थियो ।

यसरी कात्तिक २६ मा उज्यालो हुँदासम्म वीरगन्जका सबै सरकारी कार्यालय कब्जामा आइसकेका थिए । र, सैनिक ब्यारेकलाई मुक्ति सेनाले घेरामा पारेको थियो । ब्यारेकलाई घेरामा पार्ने कमान्डर थिए— मेजर पूर्ण सिंह खवास । दुःखको कुरा, त्यसै दिन बिहान मुक्ति सेनाको नियन्त्रणमा आएको मुक्त क्षेत्र (लिबरेटेड जोन) को शान्ति–सुव्यवस्था मिलाउन निर्देशन दिँदै गरेको समयमा पछाडिपट्टिबाट राणातर्फको एक सिपाहीले हानेको गोलीबाट थीर बम मल्ल ढले । उनी जनक्रान्तिका प्रथम सहिद भए ।

देशको एक महत्त्वपूर्ण प्रवेशविन्दु एवं रणनीतिक महत्त्वको व्यापारिक केन्द्र एवं राजधानीको प्रवेशद्वार मुक्ति सेनाको कब्जा गर्‍यो, र त्यहाँको प्रशासन चलाउन ‘जनसरकार’ स्थापना गरेको खबरसहित जनक्रान्तिको सन्देश देशवासीले पाउनुपर्छ भन्ने सुप्रिम कमान्ड काउन्सिलको निर्णय अनुसार देशका महत्त्वपूर्ण क्षेत्रहरूमा हवाई पर्चा छर्ने तयारी भयो । त्यस पर्चामा ‘मुक्ति सेनाका जवानहरू देश, जनता र राजालाई राणाशाहीको चंगुलबाट मुक्त गर्न देशका विभिन्न नौ बिन्दु (प्वाइन्ट) बाट प्रवेश गरिसकेका छन्, अब हामी सबै मिलेर राणाशाहीको हुकुमी तन्त्रमाथि कडा प्रहार गर्नुपर्छ’ भनी छापिएको थियो । यो सन्देश पर्चाहरूद्वारा देशका भित्री भागहरूसम्म पुर्‍याएर जब भीटी–सीओजेड अंकित विमान फर्केर वीरगन्जको आकाश माथि उड्न थाल्यो र उनीहरूले क्रान्तिकारीहरूको झन्डासमेत त्यस विमानमा फहराएको देखे, घर–घरका छतहरूबाट हात हल्लाई उफ्रँदै मानिसहरूले उत्साहसाथ उडानको आगमनमा खुसीयाली प्रदर्शन गरेका थिए ।

वीरगन्ज ब्यारेकनजिक खाली मैदान थियो । जब विमानले त्यही मैदानमा ‘ल्यान्डिङ’ गर्न लागे जस्तो गरी ‘मक ल्यान्डिङ’ का लागि चक्कर लगायो, त्यस उडानले फेरि अर्को सन्देश दिएछ । वीरगन्जका बडाहाकिमले केही क्रान्तिकारीहरूलाई पहिले नै पक्राउ गरेर ब्यारेकमा ल्याई थुनेका रहेछन् । जब त्यो विमान ब्यारेकमाथिबाट होचो गरी उड्न थाल्यो, ब्यारेकभित्र केही आत्तिएको अवस्थाका सिपाही र कमान्डरलाई ती थुनुवाहरूले भनेछन्, ‘अब ब्यारेकमा बम खस्न सक्छ । तिम्रा श्रीमती, केटाकेटीलाई रुवाएर के गर्छौ ?’ त्यतिखेर विमान माथितिर उडिरहेको थियो । वीरगन्ज क्रान्तिकारीहरूको कब्जामा आइसकेको पनि उनीहरूलाई थाहा भैसकेको थियो । ब्यारेकलाई त मुक्ति सेनाले रातिदेखि नै घेरामा पारेको थियो । त्यस स्थितिमा झटपट ब्यारेकले छतबाट सेतो झन्डा हल्लाई आत्मसमर्पण गर्‍यो । ब्यारेकको आत्मसमर्पण मुक्ति सेनाका लागि महान् विजय भयो । वीरगन्जमा मुक्ति सेनाको पूर्ण नियन्त्रण मात्र भएन, ब्यारेकबाट ठूलो परिमाणमा हातहतियार, गोलीगट्ठासमेत हात परे ।

क्रान्तिकारी मुक्ति सेनाका लागि यो ज्यादै महत्त्वपूर्ण उपलब्धि थियो । कतिपयले पटाका र लाठी अनि कसैले नक्कली हतियारबाट समेत राणाशाही तन्त्रका फौज र कर्मचारीलाई तर्साउने काम गर्नुपरेको बेला यस विजयले उत्साह थप्नु स्वाभाविक थियो । अर्को उपलब्धि, राणाहरूले विदेशी बैंकमा लैजान ठिक्क पारेको वीरगन्ज तहबिलमा रहेको भारु ३५ लाख र चाँदीका सिक्कासहितको ठूलो धनराशि पनि नियन्त्रणमा लिइसकेको थियो ।

जनक्रान्तिप्रति उत्साहको लहर देशव्यापी तुल्याउन र अनुकूल वातावरण बनाउन हिमालयन एभिएसनका विमानहरूको उडानले ठूलो योगदान पुर्‍याएको थियो । वीरगन्ज आक्रमणपूर्व नै राजा र राजपरिवार दिल्लीतर्फ नउड्दै राजाले दरबार छाडेर भारतीय दूतावासमा शरण लिएको खबर देशभरिका जनतासम्म पुग्नुपर्छ भन्ने निष्कर्षमा क्रान्तिकारीहरूको हाई कमान्ड पुगेको थियो । त्यस घटनासँगै क्रान्तिका पक्षमा विकसित राजनीतिक परिस्थितिमा के गर्ने, कसरी अगाडि बढ्ने भन्ने उत्सुकताबीच हाई कमान्डको बैठकले निष्कर्ष निकाल्यो— तत्काल केही गर्नुपर्छ । बीपी कोइरालाले वक्तव्य प्रकाशित गरी ‘राजाको यो कदमले राणाविरुद्धको जनक्रान्तिलाई बल मिलेको छ’ भन्दै यस कदमको प्रशंसा गरेका थिए ।

यसै पृष्ठभूमिमा उक्त बैठकले निर्णय लियो, ‘राजाले नेपाल भूमि नछोड्दै क्रान्तिको बिगुल देशभित्रैबाट फुक्नुपर्छ र विकसित घटनाक्रमको जानकारी देशवासीलाई दिनुपर्छ ।’ तर सुप्रिम कमान्ड काउन्सिलमा दुई भिन्न विचार आए । क्रान्तिका मुख्य डिक्टेटर मातृकाले भनेछन्, ‘मुक्ति सेनाले आक्रमण गर्न सुरु गरेपछि मात्र विमानद्वारा देशव्यापी पर्चा छर्नु उपयुक्त हुनेछ ।’ जनरल सुवर्णशमशेरको भने भिन्न विचार आयो । क्रान्तिको बिगुल बज्नुपूर्व नै हवाई पर्चाबाजी भएपछि राणाहरूले ‘अब यति नै हो’ भन्ठान्नेछन् । यता आक्रमणको गोप्य तयारी गर्न सजिलो पर्नेछ । यो तर्कमा मातृका र बीपी दुवैले एकसाथ सहमति जनाएपछि काठमाडौंसहित विभिन्न ठाउँमा विमानद्वारा तत्काल पर्चा छर्ने निर्णय भएको थियो ।

ठूलो मात्रामा पर्चाहरू लोड गरेर उडेको त्यस विमानभित्र बटुकप्रसाद भट्टराई (किसुनजीका दाजु), जयवर प्रधान र पुराना सेनानी भीमभक्तमान सिंह थिए । हवाई पर्चाको भारी लोड गरेर उनीहरू उत्तरतर्फ उडे । उड्नुअघि पाइलट क्याप्टेन फेजरले जान्न चाहे, ‘नेपालमा एए गन (एन्टी एयरक्राफ्ट गन) छ कि छैन ?’ त्यस जिज्ञासाको उत्तर दिइयो, ‘दुईवटा छन् भनिन्छ । तर त्यसबाट खतरा मानुपर्दैन ।’ पाइलटले यस भनाइको अर्थ बुझ्न चाहे र फेरि जिज्ञासा राखे । स्पष्ट पार्दै उत्तर दिइयो, ‘त्यस प्रकारका हातहतियार राख्ने दुईवटा ठाउँ हुनुपर्छ । एक प्रधानमन्त्री निवास सिंहदरबारमा र अर्को बबरमहलमा सीएनसीसँग । आकस्मिक रूपमा राजधानीमाथि विमान पुग्दा ती सबै औपचारिकतासहित उताको तयारी हुन पाउँदैन । त्यसैले ढुक्क भएर उडान भर्न सकिन्छ ।’ पाइलटले भने, ‘केही छैन सर ! गन एक्टिभ भैहाल्यो भने पनि हामी त्यसलाई छलेर उड्ने तरिका हेज–हप अपनाउनेछौं ।’ यति भनेर उनले पर्चाका भारी बोकेको त्यो विमान आत्मविश्वासपूर्वक उडाए ।

विमान काठमाडौंतर्फ उड्यो । काठमाडौं उपत्यकाको आकाशमा प्रवेश गर्‍यो तर एकदम होचो गरी, घरहरूका छाना छुन–छुन खोजे जस्तो गरेर, आकस्मिक रूपमा । तिहारको घमाइलो मौसम, जुवामा मस्त काठमाडौं उपत्यकाको वातावरणमा आकास्मिक परिवर्तन आयो । विमानबाट असंख्य पर्चाहरू व्यापक रूपमा छरिए । मानिसहरू उड्दै गरेका एक–एक पर्चाको पछाडि दौडिन थाले, भुइँमा नखस्दै समात्न । नेपालको आकाशमा तिनताक विमान यदाकदा मात्र देखिन्थे । र, त्यो पनि धेरै माथि । आफ्नो जिम्मेवारी सहजतापूर्वक पूरा गरी व्यापक पर्चा छरेर त्यो विमान राणाहरू र तिनको फौजको मनोबल खलबल्याएर तर जनतामा अपार उत्साह भरेर फर्कियो ।

विमानबाट भएको पर्चाबाजीले विकसित घटनाक्रमको प्रत्यक्ष प्रभाव नेपाल–भारत सीमानजिकै अवस्थित वीरगन्जसहित धेरै नगर एवं प्रवेशविन्दुहरूमा व्यापक तरंग ल्याएको थियो । वीरगन्ज ब्यारेकको ‘आत्मसमर्पण’ ले जनतामा र खास गरी मुक्ति सेनामा ठूलो ऊर्जा थपेको थियो । यस अतिरिक्त जनताले वीरगन्जलाई राणा शासनबाट मुक्त गरेपछि देशव्यापी जनक्रान्तिका लागि हातहतियार र खरखजानाको उल्लेख्य परिमाण कब्जामा आएको थियो । विशेष गरी मुक्ति सेनाका लागि महत्त्वपूर्ण उपलब्धि प्राप्त भएको थप सूचना स्वदेश र विदेशका समाचार माध्यमहरू व्यापक रूपमा पुग्न थालेको थियो । रक्सौलमा डेरा जमाएर बसेका पश्चिमा पत्रकारहरूले नेपालमा प्रजातन्त्रका लागि लडिएको जनक्रान्तिको मनोबल झनै बढाएका थिए ।

ब्यारेकले आत्मसमर्पण गरेको दोस्रो दिन मातृका, बीपी र सुवर्णबाट ब्यारेकको समेत निरीक्षण भएको थियो । ब्यारेकको अत्यन्त सुरक्षित ट्रेन्च (खाडलहरू) ले घेरिएको घेराभित्र पानीको ट्युबवेल र ५० हजार गोलीको ठूलो परिमाणसमेत कब्जामा आएको थियो । त्यहाँ करिब तीन महिनाका लागि आवश्यक खाद्यान्नको भण्डारसमेत देखेर तीनै जना चकित बनेका थिए । अझ भन्नुपर्दा, वीरगन्ज तहबिलबाट कब्जा गरेको लाखौं भारुले क्रान्तिकारीहरूलाई संघर्षका लागि अपेक्षाभन्दा बढी शक्ति प्राप्त भएको अनुभव गराएको थियो । कब्जामा त्यो ३५ लाख भारुका सम्बन्धमा केही मतान्तर भयो । त्यत्रो रकम राजा त्रिभुवनकै जिम्मामा राख्दा क्रान्तिकारीहरूको इमानदारी देखिन्थ्यो ।

वीरगन्जमा ‘जनसरकार’ (प्रोभिजनल गभर्नमेन्ट) को स्थापना, सैनिक ब्यारेक कब्जापश्चात् मुक्ति सेनाका लागि आवश्यक हातहतियार, गोलीगट्ठाको व्यवस्थापन र ठूलो धनराशि नियन्त्रणमा आउनासाथ भएको निर्णयले अपूर्व उत्साह ल्याएको थियो । जनक्रान्तिको तयारी भैरहेको तर मुक्ति सेनासँग सशस्त्र संघर्षका लागि आवश्यक हातहतियारको कमी, व्यवस्थापनमा रहेका कमीकमजोरी र अगाडिका दिनहरूमा संघर्षका रूपरेखा आदिबारे क्रान्तिको हाई कमान्डमा गम्भीर छलफल भयो । यसरी वीरगन्जको सफल आक्रमणमा हिमालयन एभिएसनको महत्त्वपूर्ण भूमिका थियो ।

***

शान्तिपूर्ण आन्दोलनले एक शताब्दीसम्म जरो गाडेको राणाशाहीलाई नछोएको महसुस जब भयो, सशस्त्र संघर्ष गर्नुपर्ने पक्षमा विचारहरू आउन थाले । नेपाल–भारत सिमानानजिकको बैरगनियामा ठूलो सम्मेलन बोलाइयो । र, त्यही सम्मेलनले धेरै छलफल नगरीकनै सशस्त्र संघर्षको निर्णय गर्‍यो । बैरगनिया सम्मेलनले दिएको म्यान्डेटकै आधारमा ‘सशस्त्र क्रान्ति’ छेडियो । यसै सम्मेलनले जनक्रान्तिका लागि सजिलो बाटो हुने गरी नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालालाई नै जनक्रान्तिको ‘डिक्टेटर’ घोषित गरेको थियो । सभापतिलाई अत्यावश्यक सरसल्लाह र परामर्श दिन माथि उल्लेख भए बमोजिम तीन जना मात्र रहेको सुप्रिम कमान्ड काउन्सिल गठन गरिएको थियो ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसलाई एउटै चारतारे झन्डामुनि ल्याउने घोषणा गरियो । यो एकता ९ अप्रिल १९५० (२००६ चैत २७) का दिन संयुक्त अधिवेशनबाट पारित गराएपछि एउटै पार्टी ‘नेपाली कांग्रेस’ बन्यो । यो एकता अधिवेशन कलकत्तास्थित टाइगर सिनेमा हलमा भएको थियो । टाइगर सिनेमा पनि महावीरशमशेरकै स्वामित्वमा थियो । यी दुई पार्टीको एकीकरणमा राष्ट्रिय कांग्रेसका तर्फबाट मातृका, बीपी र गणेशमान सिंह एवं प्रजातन्त्र कांग्रेसका तर्फबाट महेन्द्रविक्रम शाह, सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्यायसमेत छ जनाको कार्यदल बनेको थियो ।

नेपाली कांग्रेसको भित्री तयारी सशस्त्र क्रान्ति गर्ने नै थियो । बैरगनिया सम्मेलनले नीतिगत रूपमै सशस्त्र क्रान्तिका पक्षमा निर्णय गरे पनि त्यतिखेर हातहतियारको व्यवस्था भइसकेको थिएन । र, भारत भूमिमा रहेर सशस्त्र क्रान्ति गर्न अन्तर्राष्ट्रिय कानुनले मिल्दैनथ्यो । त्यस अवस्थामा पनि पार्टीले सशस्त्र संघर्षको बाटो तय गरिसकेको थियो । तर भारत सरकार सशस्त्र क्रान्तिका पक्षमा नभएकाले हतियारका लागि अन्य उपाय खोज्नुपर्ने बाध्यता थियो ।

बीपी कोइरालाको बर्माका समाजवादीहरूसँग राम्रो सम्बन्ध थियो । उनीहरूसँगको सम्बन्धका सूत्रधार भारतका समाजवादी नेताहरू खास गरी राममनोहर लोहिया, जयप्रकाश नारायण आदि थिए । बर्मा सन् १९४८ मा ब्रिटिस उपनिवेशबाट मुक्त भएको थियो । र, त्यहाँको सरकारका प्रभावशाली मन्त्रीहरू समाजवादी थिए । एसियाका समाजवादी नेताहरू मिलेर एसियाली समाजवादी सम्मेलनको आयोजनाको तयारीमा बीपीले बर्मा पुगी त्यहाँका नेताहरूसँग राम्रो सम्बन्ध बनाएका थिए ।

उनीहरू पनि बीपीको समाजवादी विचारसँग पूर्ण सहमत मात्र थिएनन्, अपितु परेका खण्डमा हातहतियारसमेत दिएर सहयोग गर्न तयार थिए । यसको केन्द्रमा बर्माका रक्षामन्त्री उ बास्वे थिए । बैरगनिया सम्मेलनपश्चात् यसै विषयलाई लिएर बीपी पुनः बर्मा पुगे । कुरा गरेर फर्केपछि तुरुन्तै भोला चटर्जी र थीरबम मल्ललाई बीपीले बर्मा पठाएपछि यस सम्बन्धले गति लियो ।

अक्टोबर १९५० को कुरा हो, एक दिन महावीरशमशेरको हिमालयन एभियसनको जहाज दिल्लीको उडानमा जान ठिक्क परेको थियो, बाटो बिराइयो भनेर मेसेज आयो । सो विमान बर्माको राजधानी रंगुन (याङ्गुन) मा ल्यान्ड भयो, आधुनिक हातहतियार र गोलीगट्टाको भारी लिएर त्यहाँबाट उड्यो । यसका पाइलट थिए— ब्रजेन्स्की ।

चेकोस्लाभियाका उनी दोस्रो विश्वयुद्धमा काम गरेका अनुभवी पाइलट थिए । उनले हातहतियारको भारीसहित उडेको विमानलाई पटनानजिक बेहतामा रहेको पुरानो हवाई अड्डामा उतारे । सो हवाई अड्डा महायुद्धपछि सञ्चालनमा थिएन । निर्जन गाउँ इलाका भएकाले सबै हातहतियार झटपट अनलोड गरीवरी त्यहाँ तैनाथ दुइटा ट्रकमा लोड गरेर केही क्षणमै त्यहाँबाट सबै लाखापाखा भए । जनक्रान्तिका लागि समर्पित ती हातहतियारको पहिलो खेपलाई अत्यन्त कुशलतापूर्वक पूर्वनिर्धारित सुरक्षित स्थानतर्फ लगियो । महावीरशमशेर स्वयं क्रान्तिका पक्षमा समर्पित भएर लागेका थिए र जनक्रान्तिका अत्यन्त असजिला मार्गहरूलाई उनको हिमालयन एभिएसनले सहज बनाइदिएको थियो ।

हिमालयन एभिएसनको एउटा जहाज क्रान्तिका लागि आवश्यक पर्नासाथ चलाउने गरी मातृकाप्रसादको मातहतमा दिइएको थियो । यसले शीर्ष नेताहरूलाई चाहेका बेला कुनै जरुरी काम नरोकिने गरी चलाउन दिएकाले यातायातका दृष्टिबाट अत्यन्त महत्त्वपूर्ण हवाई उडानबाट ठूलो सहयोग भइरहेको थियो ।

माथि उल्लेख भएझैं, क्रान्ति चलिरहेकै समयमा भारु ३५ लाख लिएर राजा त्रिभुवनलाई जिम्मा दिने लक्ष्यका साथ पटनाबाट दिल्लीतर्फ उडेको विमान गन्तव्यमा पुग्दा राति भैसकेको थियो । दिल्लीमा अवतरण गर्दा विमानस्थलमा सैनिकहरूको गतिविधि देख्दा विमानमा भएकाहरूलाई आफूहरू जनक्रान्तिका शीर्ष नेता भएकाले सम्मान सलामी दिन पो यो व्यवस्था भएको हो कि भन्ने लागेछ । तर कुरा अर्कै थियो । विमान ल्यान्ड गरेपछि कुनै अपराधी जस्तो गरी खानतलासीपश्चात् सबैलाई एक–एक गरेर ओरालियो र कस्टम काउन्टरमा म्याजिस्ट्रेटको इजलासमा लगेर उभ्याइयो । राति अबेरसम्म भारुको गन्तीका लागि बैंकबाट आएका कर्मचारीसहित त्यो चिसोमा बयान लिन थाले । अन्त्यमा बीपी मात्र त्यहाँ रहनुपर्ने भयो । बीपीलाई पनि भोलिपल्ट बिहानको तीन बजे मात्र मुक्त गरियो ।

हाई कमान्ड बसेको होटलमा बिहानको झुल्के घाममै पत्रकारहरूको घुइँचो लाग्यो । यसलाई तीनै जना नेताले जनक्रान्तिमा भइरहेको प्रगति देश–विदेशसम्म पुर्‍याउने अवसरका रूपमा उपयोग गर्ने संयोग मिल्यो । तर त्यो ३५ लाख भारु भने जनक्रान्तिपछि मात्र भारत सरकारले नेपाललाई फिर्ता गर्‍यो ।

प्रकाशित : मंसिर ४, २०८० ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?