२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

हामीलाई चाहिने ‘मी टाइम’

हामी सबैजसो महिला ‘केयर गिभर’ मात्र बनिरहेका छौं । जबसम्म हामीले आफ्नो केयर गर्दैनौं तबसम्म ‘मी टाइम’ को अर्थ बुझ्न सकिन्न ।
सुशीला शर्मा

एक दिन फेसबुक स्क्रोल गर्दै थिएँ, भारतीय अभिनेत्री दीपिका पादुकोणको अन्तर्वार्तामा आँखा परे, जो आफूले ‘मी टाइम’ लाई सधैं प्राथमिकतामा राख्ने गरेको बताउँदै थिइन् । अभिनेत्रीहरूलाई आफ्नो सौन्दर्य र अभिनयमा बढी नै केन्द्रित हुनुपर्ने हुँदा सधैंको ऐनायुक्त जिन्दगीभन्दा अलिकति पर रहेर केही क्षण बिताउन ‘मी टाइम’ को फर्मुला उपयुक्त नै होला ।

हामीलाई चाहिने ‘मी टाइम’

तर यदाकदा आजकल कुनै पनि व्यक्तिको मनोवैज्ञानिक–मनोसामाजिक पक्षको कुरा गर्दा प्रायः आफूले आफैंलाई ढाडस दिने, ढाप मार्ने, इन्जोय गर्ने, एक्लै दिन बिताउनेजस्ता पक्षहरू पनि चर्चामा आइरहने गर्छन् । ‘मी टाइम’ को अर्थ एउटा व्यक्तिको व्यक्तिगत स्थान, आफ्नो मानसिक दबाब र तनाव कम गर्न खर्चिइने समय हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार, मानसिक स्वास्थ्य भनेको मानसिक कल्याणको अवस्था हो जसले मानिसहरूलाई तनावको सामना गर्न, आफ्नो क्षमता महसुस गर्न, राम्रोसँग सिक्न र काम गर्न अनि आफ्नो समुदायमा योगदान दिन सक्षम बनाउँछ ।

मानसिक स्वास्थ्य स्वास्थ्य र कल्याणको अभिन्न पक्ष हो जसले निर्णय गर्न, सम्बन्ध बनाउन र हामी बस्ने संसारलाई आकार दिन हाम्रो व्यक्तिगत र सामूहिक क्षमतालाई बलियो बनाउँछ । मानसिक स्वास्थ्य आधारभूत मानव अधिकार हो र व्यक्तिगत, सामुदायिक र सामाजिक–आर्थिक विकासका लागि यो महत्त्वपूर्ण छ । मानसिक स्वास्थ्य मानसिक विकारहरूको अनुपस्थितिभन्दा बढी जटिल निरन्तरतामा चल्छ, जुन व्यक्तिपिच्छे फरकफरक रूपमा अनुभव गरिन्छ । कठिनाइ र संकटको फरक डिग्री र सम्भावित रूपमा धेरै फरक सामाजिक र क्लिनिकल परिणामहरू देखिन सक्छन् ।

कोभिड महामारीपछि जागिर वा काम छुटेकाहरू, दिनभरि घरमै बसेकाहरू अनुत्पादक समय र खाली मस्तिष्कले गर्दा अत्यधिक चिन्तामा गएर समस्यामा परेका घटना छ्यापछ्याप्ती भेटिन्छन् । हामीले बारम्बार सुन्ने गरेका छौं— आर्थिक अवस्था बिग्रिएका, व्यवसायमा घाटा लागेर टाट पल्टिएका कैयौंले आत्महत्या गरे । यस्तो प्रतिकूल समयमा ‘मी टाइम’ भन्दै आफैंमा मात्र केन्द्रित हुने सन्दर्भको कुरा गर्दा स्थिति झन् खराब हुन सक्दछ । यस्तो अवस्था भोगिरहेकाका लागि ‘मी टाइम’ का अलावा ‘हामी टाइम,’ ‘अन्तर्मनको छटपटी बाँड्ने टाइम’ भनेर पो छुट्याउनुपर्ने हो कि ?

श्रमिक, किसान, घरको काम गर्ने समूहलाई रातिको दस बजेपछि मात्र फुर्सद हुन्छ । तिनका लागि थकानपछिको गहिरो निद्रा नै ‘मी टाइम’ होला । कसैलाई स्वस्थ रहनु, परिवारको माया एकआपसमा बाँड्न पाउनु, परिवारको सहयोग र समर्थन पाउनु ‘मेरो समय’ हुन सक्छ । सबैलाई उस्तै तरिकाले आफ्नो समय व्यतीत गर्ने फुर्सद पनि हुँदैन । भागदौडयुक्त दिनचर्याले थाकेका बेला बेलुका साथीभाइसँग बसेर मद्यपान गर्नु पनि आफूलाई तनावमुक्त बनाउनु हो भन्ने सिद्धान्त नै बनाएका हुन्छन् कतिपयले ।

शरीर र मस्तिष्कलाई आफैंमा केन्द्रित गर्ने क्षण हो— ‘मी टाइम’ जुन व्यक्तिपिच्छे फरक हुन सक्छ । कसैलाई थाकेर कतैबाट आएपछि नुहाएर फ्रेस हुनु वा योग गर्नु वा ध्यान गर्नु ‘मी टाइम’ होला । अरू कतिलाई आफ्नो शृंगारपटार गर्नु, हाइकिङ जानु ‘मी टाइम’ होला ।

अहिले हरेक क्षेत्रमा अत्यधिक प्रतिस्पर्धा छ । यस्तो सेरोफेरोबाट बाहिर निस्कन पनि नसक्ने र त्यसमै रमाउन पनि नसक्ने मानिसहरू विभिन्न मानसिक दबाबले पिल्सिरहेका हुन्छन् । महिलाको स्थिति पुरुषका तुलनामा अझ दयनीय छ । महिलाले विरलै पाउँछन् ‘मी टाइम’ । घरपरिवारको काम, सामाजिक भूमिका, प्रजनन प्रक्रिया, विभिन्न समयमा शरीरमा हुने हर्मोनल परिवर्तन के मात्रै भोग्नुपर्दैन महिलाले ? अरूका लागि ‘ममताकी खानी’ मानिने महिलाले आफैंलाई स्याहार गर्न भने समय नै पाउँदैनन् ।

कुनै पनि व्यक्ति स्वस्थ कहलिन शारीरिक–मानसिक रूपले स्वस्थ हुनुपर्छ भन्ने परिभाषालाई नै मान्ने हो भने हामी महिला आफूलाई पूर्ण स्वस्थ भनेर परिचय दिनै नसक्ने भइसकेका छौं । हामी सबैजसो महिला ‘केयर गिभर’ मात्र बनिरहेका छौं । जबसम्म हामीले आफ्नो केयर गर्दैनौं तबसम्म ‘मी टाइम’ को अर्थ बुझ्न सकिन्न । अर्को कुरा, हामीले ‘मी टाइम’ को उपभोग गर्दा परिवारका अरू सदस्यले हेपिएको, अपमानित भएको महसुस पो गरेका छन् कि भन्ने चाहिँ हेक्का राख्नुपर्छ । आफूलाई ‘मी टाइम’ चाहिन्छ भने अरूलाई पनि चाहिन्छ भन्ने बिर्सिनु हुन्न ।

युवा पुस्तामा आफ्नो करिअर बनाउनुपर्ने, विदेश जानुपर्ने, कमाउनुपर्ने, परिवार बसाउनुपर्ने अनेक जिम्मेवारी छन् । यस्ता जिम्मेवारीका साथै परिवारका ज्येष्ठ सदस्य र रोगग्रस्त अभिभावकको रेखदेख गर्नुपर्ने अर्को मुख्य जिम्मेवारी पनि छ । हाम्रो देशमा ज्येष्ठ नागरिकलाई राज्यले दिएको सुविधा भनेको ज्येष्ठ नागरिक भत्ता मात्रै हो । केही ज्येष्ठ नागरिक आश्रम छन् तर ती सबैको पहुँचमा छैनन् र व्यवस्थित पनि छैनन् । यस्तोमा आफ्ना अभिभावकलाई बोझ ठानेर उनीहरूको मानसिक–शारीरिक स्वास्थ्यको हेरविचार गर्नुपर्ने बेला आफैं तनाव लिएर मानसिक स्वास्थ्य बिगार्न लागेका परिवारका सदस्य पनि हाम्रै वरिपरि छन् ।

बालबालिकाका सन्दर्भमा, ढुक्कै मोबाइल दिएर एक्ल्याउँदै र समाजका धेरै पक्षबाट बेखबर बनाउँदै लगिरहेका छौं । यसर्थ हामीले समग्रमा दैनन्दिनका जीविकोपार्जनका कार्यसँगै आआफ्ना पारिवारिक–सामाजिक भूमिकाहरूलाई सम्झिँदै, सम्झाउँदै, छलफल गर्दै नियमबद्ध भएर चल्न सक्यौं भने पनि मानसिक तनाव घटाउन सकिन्छ । समस्याहरूलाई थुपारेर नराखीकन मन मिल्ने परिवार सदस्य या दौंतरीसँग, विषयविज्ञसँग परामर्श लिनु र उपचारमा जानु पनि ‘मी टाइम’ भित्रै पर्छ ।

प्रकाशित : कार्तिक १, २०८० ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?