कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
मनोस्वास्थ्य विमर्श

मानसिक स्वास्थ्य र भोजन

अरुणा उप्रेती

मानसिक स्वास्थ्यबारे छलफल चल्दा विज्ञ, औषधि र अस्पतालका सन्दर्भहरू मात्रै आउने गर्छन् । ‘मनको स्वास्थ्य भोजन र जीवनशैलीसँग पनि जोडिएको हुन्छ’ भन्नेबारे प्रायः अन्तर्क्रिया भएको पाइँदैन ।स्थ्य पनि राम्रो हुन्छ ।

मानसिक स्वास्थ्य र भोजन

शारीरिक स्वास्थ्य र भोजनबारे धेरै अध्ययन–अनुसन्धान भएका छन् । विशेष गरी कोरोना महामारीका बेला स्थानीय भोजन अभ्यास, पेय पदार्थ र शारीरिक स्वास्थ्यलाई लिएर आम सञ्चारमाध्यममा केही अध्ययन भए । तर तिनका बारे प्रायः जनतालाई थाहा छैन । झन्डै एक वर्षअघि बेलायत बसेका बेला मानसिक स्वास्थ्य, भोजन र पोषणबारे तालिम लिएपछि मात्र मलाई कसरी पेटको स्वास्थ्यले मनको स्वास्थ्यमा असर पार्छ भनेर थाहा भयो ।

मानव शरीरका विभिन्न अंगमा खर्बौं कीटाणु हुन्छन् । कीटाणु पेटभित्र आन्द्रा, भुँडी, फोक्सो आदिमा हुन्छन् । अध्ययनले भन्छ— आकाशगंगामा जति तारा छन्, त्यति सूक्ष्म जीवाणु त हाम्रो पेटमा मात्रै हुन्छन् । जीवाणुहरूले पेट र मस्तिष्कको संरचना र स्वास्थ्यमा पनि प्रभाव पार्छन् । धेरै तनाव हुँदा, दुःख हुँदा हाम्रो भोक नै मर्छ । कुनै दुर्घटना भयो, घरमा कोही बिरामी भयो भने पेट गडबड हुने, बिसन्चो हुने, खान मन नलाग्ने, वाकवाक लाग्ने जस्तो त सबैजसोले कहिले न कहिले अनुभव गरेकै हुन्छन् । मनले पेटमा प्रभाव पारे जस्तै पेटको स्वास्थ्यले मनलाई पनि प्रभाव पार्छ ।

बीबीसीमा छापिएको एउटा लेख (२१ फरवरी २०१९) अनुसार, झन्डै १०० वर्षअघि भोजन र मानसिक स्वास्थ्यबारे केही अनुसन्धान भएको थियो, जसले यी पक्षबीच सम्बन्ध देखाएको थियो । २० औं शताब्दीमा डाक्टर जर्ज पोस्टर फिलिपनले लन्डनको बथलेन शाही अस्पतालमा मानसिक रोगीहरूलाई उपचार गर्दा अवसाद भएका केही बिरामीलाई कब्जियत हुने, छालाको रंग फुस्रो हुने अनुभव गरेका थिए ।

प्रायः मानसिक रोगीलाई खाना नखाने स्वभावले कुपोषणको सम्भावना हुन्छ । तर, डा. जर्जले त्यो अस्पतालमा स्वस्थकर खाना दिएर मानसिक बिरामीहरूको पेटको स्वास्थ्य राम्रो पार्न सके कब्जियत हटी उदासीको रोग पनि हट्थ्यो कि भन्ने सोची त्यही कार्यान्वयन गरे । कब्जियत होला भनी उनले बिरामीहरूलाई मासु दिएनन्, माछा चाहिँ खान दिए । खाना पचाउन मद्दत होस् भनी युरोपमा पाइने विशेष प्रकारको बाक्लो दहीसमेत दिए । यसरी उपचार गर्दा केही पूर्ण रूपमा निको भए, केहीको स्वास्थ्यमा धेरै सुधार भयो । हाम्रो दैनिक अनुभवले भन्छ— तनाव भयो, मानसिक पीडा भयो भने पेट बिग्रिन्छ । जस्तो— कुनै अति नजिकको मान्छेको मृत्यु हुँदा, परिवारको कोही धेरै बिरामी हुँदा हाम्रो भोकप्यास हराउँछ, खान मन लाग्दैन । जाँचका बेला तनाव भएर विद्यार्थीहरूलाई वाकवाक लाग्ने, खान मन नलाग्ने, पेट दुख्ने, घरीघरी शौच जान मन लाग्ने हुन्छ । आधुनिक चिकित्सा विज्ञानका जनक हिप्पोक््रयाटसले भनेका थिए, ‘धेरैजसो रोगको जरो पेटमा हुन्छ ।’ आधुनिक विज्ञान र आयुर्वेदले पनि पेटको समस्या भएपछि विभिन्न रोग उब्जिन्छन् भनेका छन् । पेटको वातावरणमा खराबी आए सम्पूर्ण शरीरसहित मस्तिष्कमा पनि समस्या पर्न सक्छ । यसको अर्थ मानसिक रोगीहरूलाई अन्य उपचार नगर्ने भन्ने चाहिँ होइन ।

मानसिक समस्या भएकाहरूलाई उपचार, परामर्शका साथै अति आवश्यक भएका बेला अस्पतालमै समेत भर्ना गर्नुपर्ने हुन्छ । अहिले त ‘मानसिक स्वास्थ्य र पोषण’ भनेर एउटा भिन्न विधा नै स्थापित भएको छ । हाम्रो पेट स्वस्थ भयो भने अर्थात् स्वस्थ खाना खायौं भने मानसिक स्वास्थ्यको उपचारमा पनि निकै सहज हुने गर्छ । पेट र मस्तिष्कबीच प्रगाढ सम्बन्ध भएकैले ‘पेटलाई दोस्रो मस्तिष्क’ मानिएको छ । यसबारे अध्ययन अझै गरिँदै छ । हामीले स्वस्थकर खाना खायौं भने पेटका खर्बौं जीवाणु–कीटाणु पनि स्वस्थ बन्छन् । अस्वस्थकर खाए अनि तिनै जीवाणु–कीटाणु अस्वस्थ हुन्छन् अनि हाम्रो मस्तिष्क, भावना, मनको उत्तर–चढावमा भूमिका खेल्छन् । अल्जाइमर, पार्किन्सन, चिन्ता, मानसिक अवसाद जस्ता समस्याहरूमा पनि पेटका जीवाणु–कीटाणुले भूमिका खेल्छन् भनेर वैज्ञानिकहरू त्यसबारे व्यावहारिक प्रयोग पनि गर्दै छन् । हाम्रो शरीरका आन्तरिक रसहरू (हर्मोन), सेराटोनिन पनि यस्ता तत्त्व हुन् जुन पेटमा पर्याप्त मात्रामा उत्पादन हुन्छन् । सेरोटोनिनले हाम्रो मस्तिष्कमा प्रभाव पारेर आनन्दको अनुभूति गराउँछ । सेराटोनिनको कमी भएपछि उदासीको समस्या बढ्छ ।

सेराटोनिन मस्तिष्कमा पनि उत्पन्न हुन्छ तर ७०–८० प्रतिशत त पेटमै बन्छ । मस्तिष्कको कार्य नियन्त्रण गर्ने तत्त्व उत्पन्न गर्ने पेट पनि त स्वस्थ हुनुपर्‍यो । पेटको स्वास्थ्य राम्रो रहन विभिन्न सूक्ष्म पोषण तत्त्व (क्याल्सियम, फोलिक एसिड, भिटामिन–बी १२ आदि) को ठूलो भूमिका हुन्छ । यी सबै तत्त्व हाम्रो भोजनमै सजिलै पाइन्छन् । नुन, चिनी बढी भएका खाना खाइरहे मधुमेह, उच्च रक्तचाप बढ्न सक्छ, जसका कारण मस्तिष्कमा नकारात्मक असर पर्छ । स्वस्थकर खाना र व्यायाम, असल जीवनशैलीले यो समस्यालाई कम गर्छ अनि मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ ।

प्रकाशित : श्रावण ३०, २०८० ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?