१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

पहिचानको पहिचान नहुँदा

सोमत घिमिरे

फूलबारी, फूल र झार 
नेपाललाई चार वर्ण छत्तीस जातको फूलबारी त धेरै पहिला भनियो, तर फूलबारीका फूलहरूलाई समान व्यवहार गरिएन । केहीलाई झारको व्यवहार गरियो र केहीलाई फूलको व्यवहार गरेर हुर्काइयो । एउटै फूलबारीमा कोही झार भए, कोही फूल भए ।

पहिचानको पहिचान नहुँदा

राज्यले जसलाई काखी च्याप्यो, उनीहरू फूलका रूपमा हुर्कन पाए । नेपालमा त अझ जसलाई राज्यले च्यापेन, त्यसलाई समाजले पनि चेप्यो । लामो समय समाज र राज्यको चेपाइपछि पहिचानको मुद्दा उठ्न थाल्यो । पहिलो संविधानसभामा यो मुद्दाले राम्रै बहस पायो । वास्तवमा संघीयता फूलबारीका सबै फूललाई समान व्यवहार गर्नका लागि थियो । संघीयता त आयो, तर फूल र झारको विभेद घटाउने गरी आएन । सैद्धान्तिक कुरा गर्दा मुख्य आयाम पहिचान थियो । तर, संघीयताले पनि पहिचानलाई बहिष्करण गर्‍यो । देखिने गरी बहिष्करण गण्डकी प्रदेशको नामबाट सुरु भयो । कोशी प्रदेशको नामकरणमा आइपुग्दा पहिचानलाई बहिष्करण गरेर नेपाली राजनीति एक फन्को घुम्यो ।

जात, सभ्यताको दृष्टिकोण र बहस

सजिलो छ, जब पहिचानको कुरा उठ्छ, त्यसलाई लगेर जातसँग जोड्न काठमाडौंको सम्भ्रान्त बौद्धिक वर्ग तयारी अवस्थामा हुन्छ । जहाँ जति बेला जुन अवस्थामा भए पनि जातसँग जोडेर बौद्धिक आवरणमा प्रवचन दिन्छ । सभ्यता के हो, जात के हो भन्नेमा हामीले धेरै छलफल गरेनौं । जति गर्‍यौं, अत्यन्तै संकुचित, पूर्वाग्रही र शासकीय मानसिकताले गर्‍यौं । आखिर के हो पहिचान ? के हो सभ्यता ? अहिलेको पहिचानको कुरा गर्दा जनजातिले भनेका के हुन् ? हाम्रो आफ्नो थातथलो छ । थातथलोसँगै हाम्रो जंगल छ । यो जंगलमा हाम्रो रगत–पसिना परेको छ । हामी प्रकृतिपूजक, हाम्रा जंगलभित्र अनेक संस्कृति छन् । विकासका नाममा हाम्रो जंगलभित्रको संस्कृतिलाई नमासिदेऊ न । जंगलमुनि खोला छ, यो खोलामा हाम्रा पितापुर्खाले माछा मारे र पौडी खेले । माछा मार्ने र पौडी खेल्ने हाम्रो सभ्यता नखोसिदेऊ न । हाम्रा जंगल हाम्रो अधिकारमा देऊ न । हामीलाई हाम्रै खाना प्यारो छ, बलजफ्ती अरू नखुवाऊ न । हामीलाई हाम्रो ठाउँ नाम र व्यक्तिका नाम ठीकै लाग्छ, असभ्य नभनिदेऊ न ।

हुन पनि हो, आज जनजाति बस्तीका ठाउँका नामहरू धमाधम फेरिएका छन् । म आफैं बसेको ठाउँ काठमाडौंको वनस्थलीभित्र एराइटी हो । अहिले भृकुटी टोल, नमुना टोल, विजयनगर बनाइएको छ । पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको नाम त सरकार पुगेपछि धेरै ठाउँमा परिवर्तन भएको छ । पिल्माबाट पेल्मा, रासीबाट राङ्सी, उनामबाट हुकाम । कति हो कति फेरिएका छन् । काठमाडौंको सरकारले पुराना ठाउँको नयाँ नामकरण गर्‍यो । आफ्नो ठाउँको नाम पनि समुदायहरूले परम्परादेखि जे थियो त्यो भन्न पाएनन् । शासकहरूले तोकेको नाम भन्नुपर्ने भयो । यस्ता ठाउँ आफ्नै नाम थिए । आफ्नै कृषि व्यवस्था थियो । आफ्नै वन व्यवस्था थियो । आफ्नै औषधीमूलोको प्रबन्ध थियो । आफ्नै खानपान, संस्कार–संस्कृति थियो । यी सबै संस्कार–संस्कृतिलाई जोड्दा पहिचान हुन्छ । निश्चित थातथलोभित्रका संस्कृतिहरूको जोड पहिचान हो । फूलहरूलाई उनेर माला बनाइन्छ । किन फूलहरू भनिँदैन मालालाई ? सभ्यता र संस्कृतिलाई उनेर पहिचान बनाइन्छ । पहिचान भनेको आफ्ना सभ्यताहरूको माला हो । आफ्ना सभ्यताहरूमाथि गर्व गर्नु कसरी अर्घेलो ? अरूलाई कसरी टाउको दुखाउने विषय हो ? हामीले गम्भीर रूपमा चिन्तनै गर्न चाहेनौं ।

दृष्टिकोणको विविधता कि एकल दृष्टिकोणको दबदबा

जहिले पनि शासकीय चिन्तनले विविधतालाई चुनौती मात्रै देख्यो । धेरै कुरा लुकाएर एउटा सग्लो केही प्रस्तुत गर्ने लामो अभ्यास भयो । जंगल लुकाएर रूख देखाउने । आखिर जंगल र रूखबीच फरक छ । किन रूखहरू नभनेर जंगल भनियो, किनभने जंगलमा विविधता छ । सबैको अस्तित्व स्वीकार गरेर जंगल भनिएको हो । समाज पनि त्यस्तै हो, तर लामो समयदेखि हामी हाम्रै देशभित्रको किरात सभ्यता लुकाउँदै छौं, कोशी देखाउँदै छौं । तमु सभ्यता लुकाउँदै छौं, गण्डकी देखाउँदै छौं । आखिर गर्व त विविध सभ्यतामा हो । एउटा केही सग्लो देखाउने नाममा धेरैमाथिको अपमान, धेरै संस्कृतिमाथिको अपमान, कम्तीमा संघीयताले फेरबदल गर्ला भन्ने नेपाली राजनीतिको एउटा ठूलो आशामाथि तुषारापात भयो । विविधतालाई हामीले बैरी ठान्यौं । एक छिनलाई मानौं कसैलाई लालीगुराँस फूल राम्रो लाग्छ भनेर आजदेखि भएजति सबै बोटविरुवा लालीगुराँस भए भने कस्तो देखिएला ? फूल मात्रै होइन, चिलाउने पनि लालीगुराँस, कटुस पनि लालीगुराँस, पीपल पनि लालीगुराँस । कस्तो देखिएला ? कति उराठ देखिएला ? अझ सरल रूपमा भनौं, एउटा फूलबारीमा एउटै मात्रै फूल भयो भने कस्तो देखिएला ? फूलहरूको जति विविधता भयो, फूलबारी त्यति राम्रो देखिन्छ । समाज पनि त्यस्तै हो । विविधताभित्र सुन्दरता छ । अहिलेको पहिचानको आन्दोलनले विविधताको सहअस्तित्व स्वीकार गर्न माग गरेको त हो ।

प्राकृतिक स्रोत : आ–आफ्ना दृष्टिकोण

सबैभन्दा ठूलो समस्या दृष्टिकोणमा छ । एक दशकपहिले चेपाङ गाउँमा एउटा अनुसन्धानको सिलसिलामा जाँदा म आफ्नो ज्ञानको सीमितता देखेर हैरान थिएँ । चेपाङ समुदायसँगको छलफलमा जंगलको परिभाषा उनीहरूले खाद्यान्नको स्रोत र रमाइलो गर्ने ठाउँका रूपमा लगाए । च्याउ, निहुरो, विभिन्न प्रकार सागपात, माछाका लागि चमेरो उनीहरू जंगलबाट ल्याउँथे । त्यसैले उनीहरूले जंगललाई खाद्यान्नको स्रोतका रूपमा परिभाषित गरे । मेरो सीमित, काँचो र अपरिपक्व परिभाषाभित्र भने जंगल भनेको केवल घाँस, दाउरा र काठ संकलन गर्ने ठाउँ थियो । मेरो औपचारिक शिक्षासहितको परम्परागत परिभाषालाई चेपाङ समुदायको परिभाषाले अत्यन्तै साँघुरो बनाइदियो । यसो हेर्दा राउटेका लागि जंगल घर पनि थियो र खाद्यान्नको स्रोत पनि थियो । तर अब राज्य, बजार र विकासले यी परिभाषा र सभ्यताहरूलाई किचकाच बनाइसक्यो । चेपाङहरूको वन मनोरञ्जन गर्ने थलो पनि हो । चेपाङ भाषामा थुप्रै गीत छन्, जंगलमा लगाएका पिरती जस्ता थुप्रै गीत छन् । जे होस्, उनीहरूको गीतले भन्छ पिरती गर्ने थलो जंगलै हो । निजी क्षेत्रका दृष्टिकोणबाट जंगललाई विश्लेषण गर्ने हो भने रिसोर्ट खोल्ने, पदमार्ग खोल्ने, आयआर्जन गर्ने र राज्यलाई कर बुझाउने रूपमा परिभाषित हुन्छ । प्राकृतिक स्रोतमाथिका आ–आफ्ना परिभाषाहरू छन् । पहिचानको आन्दोलनले प्राकृतिक स्रोतलाई जनजीविका र संस्कृतिसँग जोडेर व्याख्या गर्छ । सभ्यतासँग जोडेर व्याख्या गर्छ । सबै सभ्यतालाई संरक्षण गर्ने काम राज्यको थियो । एकल दृष्टिकोणको दबदबाले अरू दृष्टिकोण किनारामा गएका छन् । सधैं किनारामा जान सक्दैनन् । अबको बेला भनेको अरू दृष्टिकोण पनि बाहिर आउने समय हो ।

पहिचान र स्थानीय सरकार

संघीयतापछि स्थानीय सरकार बन्यो । पहिचानलाई स्थानीय सरकारले व्यवस्थित गर्न सक्थ्यो, पहिचानका आधारमा नाम राखेर । यो अलिअलि भयो । जुन रूपमा हुनुपर्थ्यो, त्यति भएन । तर हुँदै नभएको भने होइन । गाउँपालिकाले घर बनाउँदा स्थानीय मौलिकता र पहिचानमा आधारित कार्यालय भवन बनाउन कोसिस गर्न सक्थ्यो । यस्तो कार्यालय भवन बनाउन संघीय सरकारसँग विवाद हुन सक्थ्यो र पहिचानको मुद्दा छलफलमा आउन सक्थ्यो ।

पालिकाले आफ्नै मौलिकतामा आधारित साना सहरहरूको ढाँचा निर्माण गर्न सक्छ । सहरहरूमा घर कस्तो हुनुपर्छ भनेर नियमन गर्न सक्छ । आज साना वा ठूला सहरले काठमाडौंलाई नै आदर्श मानिरहेका छन् । किरातको संस्कृति झल्कने सहरहरू किन बन्न सक्दैनन् ? तामाङ सभ्यता झल्कने सहरहरू किन बन्न सक्दैनन् ? अब स्थानीय सरकारले जहाँ सम्भव छ त्यहाँ सहरीकरणको विविधतामा ध्यान दिँदै मौलिक सहर निर्माणको अभियान थाल्नुपर्छ, । किन चाहियो पिजा ? शेर्पा सहरमा आलु–ढिँडो खाए हुन्छ । किरात सहरमा किनेमा खाए हुन्छ । अर्थात्, सहरभित्र खानाको विविधता स्वीकार गरी पहिचानलाई स्थानीयस्तरमा विस्तार गर्न जरुरी छ । जुन मात्रामा भत्काइयो, त्योभन्दा वेगवान् गतिमा निर्माण गर्न जरुरी छ । विवाह वा कुनै चाडपर्वमा आफ्नै सामुदायिकतामा आधारित प्रचलनहरू थिए, तर आज सबैतिर क्याटरिङ पुगेको छ । राज्य र बजार क्याटरिङको पक्षमा छ । नाफा खान बजार आफैंलाई क्याटरिङ चाहिएको छ । राज्य क्याटरिङहरूले तिर्ने करको लोभमा फसेको छ । स्थानीय सरकारले विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गर्न पाउँछ । पहिचानका सबै पक्ष समेटेर बालबालिकालाई सानैदेखि फरक दृष्टिकोणबाट हुर्काउन जरुरी छ । ताकि उनीहरूले आफ्नो सभ्यता र संस्कृतिमाथि, आफ्नो पौरख र पसिनामाथि, आफ्नो खोलो र जंगलमाथि सानैदेखि गर्व गर्न सकून् ।

विद्यालयमा दिवा खाजा पनि स्थानीय नै खुवाउँदा हुन्छ । पहिचानको आन्दोलनलाई अब प्राकृतिक स्रोत व्यवस्थापन, भाषा–संस्कृतिको विविधता, खानाको विविधता, सहरहरूको निर्माणको विस्तारित रूपमा खोज्नुपर्छ । नामसहित पहिचानका सबै पक्षलाई अबको आन्दोलनले जोड्नुपर्छ ।

सामाजिक आन्दोलन र बाटो

विविधताको पक्षलाई नेपाली राज्यले गर्वका रूपमा लिएन । पहिचानको आन्दोलन पनि त्यसैले एकपाखे भयो । अहिलेको एउटा ठूलो समस्या वा विचारणीय पक्ष हो- पहिचान वा किरातको आन्दोलनमा खस–आर्यको सहभागिता कसरी बढाउने ? यो अरू सामाजिक आन्दोलनमा पनि लागू हुन्छ । दलित आन्दोलनमा खस–आर्यको भूमिका कसरी बढाउने ? महिला आन्दोलनमा पुरुषको भूमिका कसरी बढाउने ? पहिचानको आन्दोलन आदिवासी जनजाति समुदायको मात्रै, महिला आन्दोलन महिलाको मात्रै हुँदा, दलितको आन्दोलन दलितको मात्रै हुँदा निष्कर्षमा पुग्न लामो समय लाग्छ वा कठिन हुन्छ । सामाजिक आन्दोलनहरूलाई एउटै मालामा उनी राज्य र समाजका सामुदायिक विभेदहरूलाई नहटाएसम्म समाजवाद वा समृद्धि केवल गफ हुन् ।

प्रकाशित : वैशाख १९, २०८० ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?