कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

महिलाको यौनिकताले टालेको इज्जत

हामीले महिला यौनिकताले टालिएको इज्जतको खोल ओढेर आडम्बरी समाजको प्रतिरक्षा गर्नुभन्दा के बुझ्नु जरुरी छ भने, सकम्बरीहरूलाई यौन र गैरयौन श्रम शोषण गर्नेमा जातीय, वर्गीय र सांस्कृतिक रूपले सुकिलामुकिला र समाजको पर्दाभित्रका ‘सज्जनवृन्द’ भनिएकाहरू नै धेरै भेटिन्छन् ।
मीना पौडेल

नेपाली समाज, त्यसमा पनि खास गरी काठमाडौं खाल्डो, गत सातादेखि सकम्बरीका चोटिला प्रश्नहरूले रन्थनिएको छ । अनि त्यो रन्थनिएको मनोविज्ञानले एउटा वर्ग र तप्कालाई नराम्ररी डसेको भान हुन्छ, सामाजिक सञ्जालका भित्ताहरू पढ्दा र चियागफहरू सुन्दा । ती प्रश्नहरूमध्ये प्रमुख हुन्— कहाँ लेखेको छ र दाइ इज्जत छोरीमान्छेको मात्रै जान्छ भनेर ? तपाईं (पुरुष) हरूको चाहिँ इज्जत जाँदैन ?...

महिलाको यौनिकताले टालेको इज्जत

म सिनेमा नहेर्ने र काल्पनिक उपन्यास नपढ्ने मान्छे हुँ र पनि जीवनमा दुईवटा लामा सिनेमा भने संयोगले हेरेकी छु— ‘वासुदेव’ र ‘बलिदान’ । काल्पनिक उपन्यास त एउटा पनि पढेकी छैन, तर समाज, राजनीति, अर्थ, संस्कृति बुझाउने पुस्तकहरू मेरा प्राज्ञिक रोजाइमा पर्छन् । संसारमा समाज बदल्न रगत, पसिना र पूरै जिन्दगी दिएका व्यक्तिहरूका जीवनी खोजीखोजी श्रद्धासाथ पढ्छु, अनि ‘बदला बरिलै’, ‘पीर’, ‘मेरो पनि हैन र यो देश’ र ‘सकम्बरी’ जस्ता म बाँचेको समाजको आडम्बरी पर्दा च्याती समाजलाई जबरजस्ती बिउँझाउन प्रयास गर्ने सामग्री हेर्छु, सुन्छु र संग्रह पनि गर्छु ।

यी उल्लेख गरिएका सामग्री मानवता गुमेको हिंस्रक समाजले बेचेका, ‘भद्र भलादमी’ ठानिएका ‘सज्जनवृन्द’ हरूले यौन र गैरयौन श्रम शोषण गरी हुत्त्याइएका, बेचिएको ठाउँबाट फुत्केर आए पनि परिवाररूपी विषाक्त संरचनाले बहिष्कार गरेका, जिउँदै काजकिरिया गरिएका र राज्यरूपी पाखण्डी पितृसत्ताको धमिरा लागेका कानुनका दफाहरूले अनागरिक बनाइएका हजारौं सकम्बरीका जीवन पढ्न र समाज बुझ्न सहयोगी हुन्छन् ।

किनकि मलाई आफ्नो अनुसन्धानद्वारा सकम्बरीहरूको आँसु मात्र होइन, उनीहरूको जीवन जिउने सपना, सामाजिक दायित्व र आफैंलाई बहिष्कार गर्ने पारिवारको इज्जत जोगाउन केसम्म गर्न बाध्य पारिन्छन् भनेर बुझ्ने हुटहुटी हुन्छ । अनि जति सकिन्छ, नीतिगत तहमा झिनो सुधारको गुन्जायस हुन्छ कि भनेर प्रयास गर्न मन लाग्छ । त्यसो त मैले काम गरेका कतिपय मुलुकमा मेरा यी प्रयासहरूले सकारात्मक नतिजा पनि दिएका छन् ।

म लोकस्रष्टा प्रकाश सपूतलाई व्यक्तिगत रूपमा चिन्दिनँ र उनको फेसबुके फ्यान पनि होइन तर उनका माथि उल्लेख गरिएका सामग्री नेपाली र नेपालजस्तै पाखण्डी समाज र त्यस समाजका सज्जन, सभ्य बुज्रुकहरूलाई लैंगिक, जातीय, वर्गीय, धार्मिक र सांस्कृतिक सीमान्तीकृत पारिएकाहरूको सकम्बरीको जस्तो बाध्यात्मक स्थितिको समाजशास्त्र बुझ्न निकै सहयोगी भएको पाएकी छु र त विषय–सन्दर्भ अनुरूप उपयोग पनि गर्छु । अनि थुप्रै एसियाली, अफ्रिकी र युरोपेली सकम्बरीहरूलाई गत साताकी नेपाली सकम्बरीले जस्तै चोटिलो प्रश्न गर्न प्रोत्साहित पनि गर्छु, ‘के महिला यौनिकता विषाक्त सामाजिक संरचना (परिवार, समुदाय, श्रम बजार र राज्य) को च्यातिएको इज्जत टाल्ने टालो हो ?’

यो मेरो विगत ३० वर्षदेखिको प्राज्ञिक अध्ययन, अनुसन्धान, विभिन्न निकायहरूमा खाएको नीतिगत तहको जागिर र लेखन सब थोक हो । त्यसैले सकम्बरीहरू मेरा लागि समाज बुझ्ने ज्ञानका भण्डार हुन्; राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक शक्ति र स्रोतको दोहन गरी तिनै सकम्बरीहरूलाई यौन बजारमा वस्तुकरण गरी व्यापार गर्ने ‘सज्जनवृन्द’ हरूलाई प्रश्न गर्ने हौसला हुन् । किनकि त्यो यौन बजारको निर्माण गर्ने, चलायमान बनाउने, नियन्त्रण गर्ने, सकम्बरीहरूलाई बेची नाफाको व्यापार गर्ने र बेलाबेला सहरको इज्जत जोगाउने टालो चाहिएमा सकम्बरीहरूका विरुद्धमा छापामार शैलीमा प्रहरीका डण्डा चलाउने प्रक्रियाहरू हाम्रो राजनीतिक पद्धति र त्यसको अर्थनीतिले तय गरेको छ, अनि ती राजनीतिक पद्धति र आर्थिक नीतिका निर्णय प्रक्रियाहरूमा सकम्बरीहरूको कुनै भूमिका हुँदैन ।

म के कुरामा प्रस्ट छु भने, सकम्बरीहरू नेपाली समाजमा केहीले सामाजिक सञ्जाल र एकदुई मूलधारे पत्रिकामा हताश टिप्पणी गरेझैं २–४ सयमा होइन, हजारौंमा छन् अनि समाजको विभेद र उनीहरूको यौनिकतालाई यसरी नै नैतिकताको असन्तुलित तराजुमा राखेर तौलिने क्रम नरोकिए लाखौंको संख्यामा हुनेछन् । किनकि हाम्रो समाज नै सकम्बरी उत्पादन गर्ने पुँजीवादी कारखाना मात्र होइन, सकम्बरीहरूलाई भूमिगत रूपमा घचेटेर इज्जत नामक मुकुण्डोले छोपी निसासिने गरी पुरिदिने संरचना पनि हो । प्रकाशले आश्चर्यजनक ठूलो केही गरेका होइनन्, त्यो मुकुण्डो उतार्ने झिनो प्रयास मात्र गरेका हुन् । यस अर्थमा प्रकाश उनी आफैं र सकम्बरीहरू निसासिएर बाँचेको समाजलाई आलोचनात्मक चेतले बुझ्ने लोकस्रष्टा हुन् । तर विडम्बना, नेपाली समाज यति पाखण्डी छ कि उसलाई प्रकाश सपूत होइन, ‘छोरीभन्दा आमा तरुनी’ जस्ता लैंगिक रूपमा विषवमन गर्ने कुमार बस्नेतजस्ता गायकहरू चाहिन्छन् अनि ‘तिम्रा पाउहरूमा म सधैं झुकिरहन्छु’ जस्ता महिलालाई पितृसत्ताको दासका रूपमा चित्रण गर्ने चाँदनी शाहजस्ता गीतकारहरूलाई पुज्नु छ । अनि ‘पोइल जान पाम्’ भन्नेजस्ता महिलाको पहिचान र अस्तित्वलाई नै धावा बोल्ने तिनै चाँदनी शाहकी भक्त ‘कामरेड’ कोमल वलीहरूलाई राष्ट्रिय स्रष्टा भनी सम्मान गर्नु छ । यी त केही उदाहरण मात्र हुन्, नेपाली गीत–संगीत र साहित्यमा भेटिने अनेकौं विडम्बनामध्ये ।

यहाँ म हाम्रा गीत–संगीत र र यस्तै मनोरञ्जन साहित्य फाँटका समाजप्रति आलोचनात्मक चेत राख्ने स्रष्टाप्रति सम्मान गर्दै के भन्न बाध्य छु भने, हाम्रो मनोरञ्जन साहित्य लैंगिक, सामाजिक र जाति–समुदायविशेषप्रति साँघुरो छ । त्यसैले त हामी समीक्षा अधिकारीलाई निरन्तर पीडा दिन्छौं तर पल शाहहरूलाई सम्मान गर्छौं । अनि गौशाला–२६ माथि दोष थुपारी सामाजिक बहिष्करणतिर धकेलिदिन्छौं तर बलात्कार आरोपित सन्दीप लामिछानेलाई सफाइको रातो कार्पेट ओछ्याउन अदालतको प्रयोग गर्छौं । अनि महिला यौनिकताका आधारमा रचिएको इज्जतको मुकुण्डो उतारी छोरी भएबापत सामाजिक, आर्थिक र राजनीतिक रूपले हुत्त्याइएका सकम्बरीहरूको नियतिलाई सतहमा ल्याउन प्रयास गरी विभेदी समाजलाई प्रश्न गर्न झिनो प्रयास गर्ने प्रकाश सपूतहरूलाई गाली गर्छौं । यही होइन हाम्रो समाजको चरित्र ?

अब नेपाली समाजको इज्जतको मुकुण्डो उतार्न ढिलो भैसक्यो, त्यसैले गत साता सांगीतिक फाँटमा उदाएको सकम्बरी काठमाडौं खाल्डोका ‘सभ्य’ र सामाजिक सञ्जालमा पहुँच हुनेले मात्र होइन, समाजका कुना काप्चामा रहेका, आन्तरिक र बाह्य आप्रवासनमा रहेका सबैले हेर्नु, सुन्नुपर्छ । र, प्रकाशकी पात्र सकम्बरीले जस्तै हाम्रा लामो दूरीका सडकहरू लगायत हाम्रा गाउँबस्ती, सहर, बजारहरू जहाँ पनि भूमिगत रूपमा लुकाइएका, दबाइएका, थिचिएका सकम्बरीहरूले प्रश्न गर्न थाल्नुपर्छ, ‘के महिला यौनिकता विषाक्त सामाजिक संरचना (परिवार, समुदाय, श्रम बजार र राज्य) को च्यातिएको इज्जत टाल्ने टालो हो ?’

मेरो यो लेख सकम्बरी निर्माण टोलीको समीक्षा होइन, तर त्यो गीत हेर्दा–सुन्दा खट्केको एउटा प्रश्नचाहिँ, किन प्रकाशले सकम्बरीलाई यौन शोषण गर्नेमा धनाढ्य र आफू रहेको भूमिकाका पुरुष पात्रलाई मात्र प्रस्तुत गरे ? किनकि आन्तरिक र बाह्य आप्रवासनमा अनुसन्धानले पुस्टि गरेको र आप्रवासनलाई नजिकबाट नियाल्ने सबैलाई थाहा भएको कुरा के हो भने, आर्थिक दायित्व, पारिवारिक–सामाजिक र लैंगिक हिंसा, जातीय–सांस्कृतिक अपहेलनाजस्ता साङ्लाले जेलिएर सकम्बरीहरू रोजगारीको सम्भावनाको खोजीमा नजिक र अलि परको सहरबजार पस्छन्, कतिपय सिमाना पार गर्छन् पनि, कति एक्लै र अधिकांश आफ्नै चिनजानका छिमेकीहरूसँग या त गाउँघरमा डुल्ने रोजगार दलालहरूमार्फत ।

आफ्नो सृजनामा प्रकाश चिनेजानेको दाइका रूपमा रोजगार दलालकै भूमिकामा देखिन्छन् । अनि परिस्थितिले बाँधिएका सकम्बरीहरूमाथि प्रायः यौन हिंसाको शृंखला तिनै दलालहरूले सुरु गर्छन् जुन प्रकाशले आफ्नो भूमिकामार्फत यात्राको सुरुआतमै गरेका छन् । उनले सकम्बरीलाई आश्वस्त पनि त्यसरी नै पार्छन्, अनेक झुटा आश्वासन दिएर । यो धेरै सकम्बरीहरूको नियति हो, चाहे आन्तरिक आप्रवासनका क्रममा होस् या वैदेशिक रोजगारीमा अनौपचारिक रूपमा दलालमार्फत लगिँदा होस् । कतिको प्रतिरोध सफल हुन्छ तर कति प्रतिरोध गर्दागर्दै पनि बाटैदेखि हिंसामा पर्छन्; यो हाम्रो समाजको चरित्रको पाटो हो ।

हामीले महिला यौनिकताले टालिएको इज्जतको खोल ओढेर आडम्बरी समाजको प्रतिरक्षा गर्नुभन्दा के बुझ्नु जरुरी छ भने, सकम्बरीहरूलाई यौन र गैरयौन श्रम शोषण गर्नेमा जातीय, वर्गीय र सांस्कृतिक रूपले सुकिलामुकिला र समाजको पर्दाभित्रका ‘सज्जनवृन्द’ भनिएकाहरू नै धेरै भेटिन्छन्, यौन बजारका गौंडाहरूमा, रात्रि क्लबहरूका चोकहरूमा, सहरका गल्लीहरूमा । अनि ती ‘सज्जनवृन्द’ भनिएकाहरूको राजनीतिक पहुँच र हैसियत के र कहाँसम्म हुन्छ भन्ने पक्ष त छर्लंगै छैन र हामीलाई ? धेरै टाढा जानैपर्दैन, अनेकमध्ये सम्झन सकिने एउटा दृष्टान्त हो— गृह मन्त्रालयले २०५० को दशकको मध्यतिर ठमेलमा गरेका छापामार शैलीका कारबाहीहरू । हामीले किन र कहिलेसम्म दोहोरो–तेहरो मापदण्ड बोकेर समाजलाई गिजोलिरहने ? प्रकाशले राजनीतिक पक्षलाई पनि उजागर गर्नुपर्थ्यो र सकम्बरीले राजनीतिक ‘सज्जनवृन्द’ लाई पनि तीखा प्रश्नहरू गर्नुपर्थ्यो, जसरी उसले दाइ भनिएको पात्रलाई गरेकी छ ।

सायद अघिल्लो सृजना ‘पीर’ मा प्रस्तुत गरिएको राजनीतिक आयामप्रतिको प्रतिक्रियाले प्रकाशलाई झस्काएको हुन सक्छ सकम्बरीको नियतिमा राजनीति नमिसाउनुमा, जुन हाम्रोजस्तो राजनीतिक माहोलमा स्वाभाविक देखिन्छ । तर स्वदेशी र विदेशी श्रम बजारमा सकम्बरीहरूले भोग्ने नियतिमा सबैभन्दा बढी प्रभाव पार्ने पक्ष नै राजनीति हो, चाहे नेपाली बजारका होऊन् वा मध्यपूर्वमा झुक्याएर बेचिएका सकम्बरीहरू होऊन् वा पछिल्ला वर्षहरूमा अफ्रिका, युरोप र संसारका अन्य सहरमा पुर्‍याइएका किन नहोऊन् । मैले ती थुप्रै सकम्बरीसँग भेटेकी छु जागिर र प्राज्ञिक अनुसन्धानका क्रममा । र तिनका विकल्पहीन र बाध्यात्मक परिवेशका निर्णयहरू सुनेकी छु;

आफ्ना लागि मात्र होइन, आफैंलाई हिंसा गर्ने परिवारलाई पाउजु र टोपीको जोहो मात्र होइन बिहानबेलुका चुलो बाल्ने जिम्मेवारी पनि वहन गरेको भेटेकी छु । अनि तिनै सकम्बरीको यौन र गैरयौन श्रमको आर्जनबाट बाँचेको परिवारले सकम्बरीहरू फर्केर घर आउँदा इज्जत राखिदिन नसकेको भनेर सामाजिक बहिष्कार गरी जिउँदै किरिया गरेको पनि प्रशस्तै देखेकी छु, पर्दाभित्र रमाएको नेपाली समाजमा ।

मेरो विचारमा सकम्बरीले आफ्नो मूल प्रश्नमार्फत समाजमा अनुत्तरित थुप्रै प्रश्नको जवाफ खोज्न आग्रह गरेकी छन् र ती प्रश्नमध्ये केही हुन्— हामीले समाजलाई कहिलेसम्म पर्दाभित्र राख्ने ? कहिलेसम्म संरचनागत इज्जतलाई महिलाको यौनिकताको टालोले छोप्ने ? अनि कहिलेसम्म हामीविरुद्धका विषालु ज्वालालाई चुपचाप निलेर जिउने ?

त्यसैले आउनुहोस्, पूर्वाग्रहबिना हामी बाँचेको समाजलाई खोतलौं र बुझ्ने प्रयास गरौं— किन सकम्बरीहरू विश्वास गरेका आफ्नै छरछिमेकका ‘दाइ’ हरूबाट धोका खान्छन् ? किन जिउने आशामा हिंसामा धकेलिन्छन् तर पनि समाजलाई प्रश्न गर्छन्, ‘कहाँ लेखेको छ र दाइ इज्जत छोरीमान्छेको मात्रै जान्छ भनेर ? तपाईं (पुरुष) हरूको चाहिँ इज्जत जाँदैन ?’ हामी पनि प्रयास गरौं, सकम्बरीले जस्तै प्रश्न गर्न जबसम्म चित्तबुझ्दो उत्तर भेटिँदैन ।

प्रकाशित : वैशाख ११, २०८० ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?