कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

बचत फिर्ताको माग गर्दै सहकारीपीडित रिले अनशनमा

आफूले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै सहकारीपीडितहरू काठमाडौं र चितवनका सडकमा उत्रिएर विरोध, पूर्वसम्झौता कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने चेतावनी

काठमाडौँ र चितवन — बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितले रिले अनशन सुरु गरेका छन् । शुक्रबार बिहान काठमाडौंस्थित माइतीघर मण्डलबाट तेस्रो चरणको आन्दोलन सुरु गरेको पीडितले बताए । काठमाडौं उपत्यकासहित चितवनबाट पनि सहकारी पीडितले आन्दोलन थालेको जनाएका छन् ।

बचत फिर्ताको माग गर्दै सहकारीपीडित रिले अनशनमा

पीडितको बचत रकम फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका सम्झौता कार्यान्वयन नगरेका कारण तेस्रो चरणको आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले बताए । ‘बचतकर्ताको रकम फिर्ता गर, बचत फिर्ता नभएसम्म २०८४ को निर्वाचन हुन दिँदैनौं, सहकारी पीडितको माग आगामी वर्षको बजेटमा समावेश गर’ लगायत नारासहित उनीहरू रिले अनशनसहित धर्नामा उत्रिएका हुन् ।

आफूहरूको माग सम्बोधन नभएसम्म निरन्तर रिले अनशन बस्ने पनि आयोजकको दाबी छ । माइतीघर मण्डलबाट सुरु भएको पीडितहरूको आन्दोलन र्‍यालीपछि कोणसभा गरी रिले अनशनमा परिणत भएको थियो । सहकारी पीडितको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रूपमा अगाडि बढ्ने महासंघका अध्यक्ष केसीले बताए ।

गौतमश्री सहकारीकी बचतकर्ता ज्योति गिरीले पैसा फिर्ता नभएसम्म आन्दोलन नराकिने बताइन् । गिरी र उनको परिवारको गरी गौतमश्री सहकारीमा एक करोड रुपैयाँभन्दा धेरै रकम डुबेको छ । ‘पेसाले शिक्षक हुँ, पैसाको ठूलो कारोबार हुने कुरा भएन, जग्गा बेचेर आएको रकम छोटो समयका लागि सहकारीमा राखेका थियौं, अहिले यो अवस्था आयो,’ उनी भन्छिन्, ‘आज सहकारी सचिवलगायत धेरै जनालाई भेटेर समस्या राखिदिन आग्रह गरेका छौं ।’

काठमाडौं कुलेश्वरका रत्न खड्गीले पनि गौतमश्री सहकारी संस्थामा एक करोड र कालीमाटीको स्वर्णलक्ष्मी सहकारीमा २५ लाख रुपैयाँ बचत गरेका थिए । सहकारीले पैसा नदिँदा सडकमा उत्रिनुपरेको उनले दुखेसो पोखे । खड्गी पूर्वसरकारी कर्मचारी हुन् । अवकाश प्राप्त जीवनको गर्जो टार्न जीवनभर दुःख गरेर बचाएको रकम सहकारीले अपचलन गरिदिँदा निकै अप्ठेरो भएको उनले बताए । ‘सरकारले अनुमति दिएको संस्थामा हामीले पैसा जम्मा गरेका हौं, अब पैसा फिर्ता दिने दायित्व पनि सरकारकै हो,’ उनले भने ।

कीर्तिपुर निवासी चन्द्रमान महर्जनले पनि शिवशिखर सहकारीमा सवा करोड रुपैयाँ बचत गरेका थिए । अहिले समस्यामा परेको भन्दै सञ्चालकहरू फरार भइदिँदा आफैंले पैसा नपाएको उनले बताए । ‘ढाड दुख्ने बिमार भए पनि पैसा फिर्ता हुन्छ कि भन्ने आसमा सकी नसकी यहाँ आएको हुँ,’ माइतीघरमा सहकारी पीडितको आन्दोलनमा भेटिएका महर्जनले भने, ‘खै पैसा आउने टुंगो छैन । तर पनि प्रयास गरिरहेका छौं ।’

काठमाडौं निवासी सुमो सहकारीका बचतकर्ता पेमा छिरी शेर्पाले पनि २५ लाख रुपैयाँ सहकारीले फिर्ता नदिएको बताए । ‘बिमारी छु, आन्दोलनमा सामेल नहुने हो भने पैसा फिर्ता हुँदैन कि भन्ने डर लागेर यहाँ आएको हुँ,’ उनले भने, ‘पत्रकारलाई त थाहा हुन्छ भन्छन्, हाम्रो पैसा कहिले फिर्ता होला ?’

८० वर्षीया वृद्धा पनि सडकमा

जेठको मध्याह्नमा चर्किंदै गरेको घामको पनि परवाह नगरी चितवनकी ८० वर्षीया इन्दिरा पौडेल सडकमा निस्किएकी थिइन् । मध्य जेठको तापले भन्दा सहकारीमा डुबेको आफ्नो बचतले मन बढी पोलेको उनले बताइन् ।


शुक्रबार भरतपुरमा भएको सहकारी पीडितको प्रदर्शनमा ८० वर्षीया पौडेल प्लेकार्ड बोकेर सडकमा निस्किएकी हुन् । ‘वृद्धभत्तादेखि छोराछोरी, आफन्तले दिएको एक–एक दाम जम्मा गरेर सहकारीमा राखेकी थिएँ,’ उनले भनिन्, ‘अब त्यही रकम फिर्ता नपाउने भएपछि घामको परवाह नगरी सडकमा उत्रिएकी हुँ ।’ भरतपुर महानगरपालिका–१२ आस्थाचोककी इन्दिराले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा चार लाख रुपैयाँ बचत गरेको बताइन् । उक्त सहकारी संस्था २० महिनादेखि बन्द छ ।

भरतपुर चौबिसकोठीबाट सुरु भएको सहकारी पीडितको जुलुस अस्पताल रोडमा रहेको भरतपुर महानगरपालिकाको सहकारी शाखा कार्यालय, चितवन जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो । त्यसपछि केन्द्रीय बसपार्कमा जम्मा भएका पीडितले कोणसभा गरेका थिए । जुलुस सुरु हुँदा अग्रभागमा देखिएकी वृद्धा इन्दिरा भने केही समय जुलुससँगै हिँडेपछि गाडी चढेर सभास्थलमा पुगेकी हुन् ।

सभामा बोल्नका लागि चितवनका सबै दलका नेतालाई निमन्त्रणा गरे पनि कांग्रेसका कार्यवाहक सभापति राजीव न्यौपाने र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष नरेन्द्र कन्दङ्वा मात्रै सभास्थलमा पुगेको आयोजकले बताए । ‘सहकारीका नाममा हुने ठगी राष्ट्रिय समस्या बनेको छ,’ चितवन कांग्रेसका कार्यवाहक सभापति न्यौपानेले भने, ‘यस्तो काम अब नदोहोरियोस् र ठगीमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा परुन् भनेर कांग्रेसले संसद्मा समेत कुरा उठाइरहेको छ ।’ एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कन्दङ्वाले सरकारको निकम्मापनले गर्दा सहकारीका नाममा ठगी गर्नेहरू बढेको र जिल्ला जिल्लाबाट हुने निरन्तरको खबरदारीले ठगी रोकिने र बचत फिर्ता पाउने सम्भावना बढ्ने बताए । ‘पुरानो जमानाको सामन्ती पारा सहकारीमा देखाउन खोजिएको छ,’ उनले भने, ‘यो खेदजनक छ । हाम्रो पार्टी तपाईंहरूको आन्दोलनमा साथसाथै छ ।’

शिवशिखर बहुउद्देश्यीय सहकारीका पीडित बचतकर्ता नारायणप्रसाद पोखरेलले चितवनका बचतकर्ताको ९८ करोड बराबरको रकम ‘ठग’ हरूले हिनामिना गरेको बताए । सनराइज सहकारीका पीडित बचतकर्ता मधुविलास अधिकारीले ९० करोड रुपैयाँ हिनामिना गरेका सनराइजका सञ्चालकलाई प्रशासनले गिरफ्तारसमेत नगर्नु दुःखद भएको बताए । सरकार यस विषयमा संवेदनशील नभए आन्दोलन थप सशक्त बनाउँदै लगिने बताए । सहारा सहकारीका बचतकर्ता विनोद आचार्यले सञ्चालकहरूले ८५ करोड रुपैयाँ हिनामिना गरेको बताए ।

चितवनमा शिवशिखरसहित चितवन सहारा बहुउद्देश्यीय र सनराइज बचत तथा ऋण सहकारीबाट करिब २० हजार जना सेयर सदस्यको लगभग तीन अर्ब रुपैयाँ बचत र सेयर रकम फिर्ता नगरी सञ्चालकहरू सहकारी बन्द गरेर फरार भएका छन् । वडा कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म धाउँदा पनि फरारहरू पक्राउ नपरेको र बचत रकम फिर्ताको सम्भावना टार्ने काम भएको भन्दै पीडितहरू सडक प्रदर्शनमा उत्रिएका हुन् ।

प्रकाशित : जेष्ठ १२, २०८१ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?