कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

गृहमन्त्री-पत्नी उपाध्यक्ष रहेको सहकारीमा महानगरको अनुगमन

काठमाडौँ — सहकारीको रकम अपचलनमा देशैभरि प्रश्न उठिरहेका बेला काठमाडौं महानगरले पनि अनुगमन तथा अनुसन्धान थालेको छ । बुधबार महानगरको टोलीले ‘साई स्वागत बचत तथा ऋण सहकारी’ बाट दस्ताबेज संकलन गर्दै पदाधिकारीको बयान पनि लिएको छ । यो सहकारीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेका बेला उनले बिनाधितो ५० लाखको कारोबार गरेको तथ्य भेटिएको महानगरको टोलीको दाबी छ । 

गृहमन्त्री-पत्नी उपाध्यक्ष रहेको सहकारीमा महानगरको अनुगमन

काठमाडौं महानगर क्षेत्रका सहकारीमा बेथिति बढेको र सर्वसाधारणको बचत संकटमा परेको भन्दै उजुरी परेपछि महानगरले सीएसहितको टोली बनाएर अनुगमन सुरु गरेको छ । यसक्रममा धेरै उजुरी आएको मध्ये ‘साई स्वागत बचत तथा ऋण सहकारी संस्था’ मा पनि अनुगमन गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । ‘उजुरीका आधारमा अनुगमन गरिएको हो, अन्य सहकारीमा पनि अनुगमन हुन्छ, प्रतिवेदन तयार भएपछि कसलाई कस्तो कारबाही गर्ने भन्ने तय हुन्छ,’ उनले भने । महानगरको सहकारी विभागबाट प्रमुखसहित चार जना, नगर प्रहरीका तीन जना र तीन जना सीएसहितको टोली अनुगमनमा गएको थियो ।

भरतमणि जंगम अध्यक्ष रहेका बेला ०७५ देखि ०७९ सम्म निकिता सहकारीमा उपाध्यक्ष थिइन् । भ्रष्टाचारविरोधी अभियन्ता भनेर चिनिने भरतमणि कुनै बेला न्युज २४ टेलिभिजनमा कार्यक्रम पनि चलाउँथे । वर्तमान गृहमन्त्री लामिछानेसँग त्यही टेलिभिजनमा मित्रता बढेपछि सहकारीको ऋण दिलाउन आफूले सहयोग गरेको बयान उनले महानगरलाई दिएको अधिकारीहरूले बताएका छन् ।

निकिताका नाममा भएको उक्त कारोबार फर्छ्योट भएको जानकारी पनि भरतमणिले दिएका छन् । तर, उपाध्यक्ष स्वयम्ले धितो नराखी ५० लाख लिएको र त्यस्तै प्रवृत्तिमा ऋण प्रवाह हुँदा सहकारी संकटमा परेको भन्दै बचतकर्ताले महानगरमा उजुरी गरेका छन् । निकिता ०७५ सालमा संस्थाका उपाध्यक्ष थिइन् । भरतमणि र निकिता अहिले सहकारीको पदाधिकारी छैनन् । तर, कारोबार बिग्रिएकाले एक सर्वसाधारण महिला निमकुमारी छन्तेललाई अध्यक्ष बनाइएको छ, जबकि संस्थाले सात करोड रुपैयाँ बचत तिर्न बाँकी छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उक्त सहकारीको दर्ता, सञ्चालक समिति, कारोबारलगायत विवरण उपलब्ध गराउन भन्दै गत मंसिर २१ मा काठमाडौं महानगरलाई पत्राचार गरेको थियो । ‘त्यस महानगरपालिकाअन्तर्गत साई स्वागत बचत तथा ऋण सहकारी संस्था दर्ता भए नभएको, दर्ता भएको भए सोको पदाधिकारीहरूको विवरण खुलाई उक्त सहकारीविरुद्ध त्यहाँ कुनै उजुरी परे–नपरेको सम्बन्धमा खुलाई उजुरी परेको भए सोको एक प्रति अनुसन्धान प्रयोजनका लागि यस विभागमा पठाइदिनु भई सहयोग गरिदिनुहुन अनुरोध छ,’ विभागले महानगरपालिकालाई लेखेको पत्रमा भनिएको छ ।तर यो संस्थाका बारेमा त्यसअघि र पछि पनि महानगरमा उजुरी परेको थियो ।

काठमाडौं महानगरपालिकाभित्र १ हजार ९ सय ३५ वटा सहकारी छन् । त्यसमध्ये हरेक वडामा कम्तीमा एक सहकारी गरी तत्काल करिब ४० सहकारीको अनुगमन गर्ने योजना महानगरले बनाएको छ । ‘धेरै गुनासो आउन थालेपछि त्यस्ता सहकारीलाई विशेष अनुगमन गर्ने निष्कर्षमा महानगर पुग्यो,’ एक पदाधिकारीले भने, ‘चार्टर्ड एकाउन्टेन्टस् (सीए) सहितको टोली नियुक्ति गरेर अनुगमन प्रक्रिया सुरु भएको हो । अब हरेक वडामा नियमित रूपमा अनुगमन गर्ने हो । त्यसमध्ये बुधबार साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा अनुगमन भयो ।’

सञ्चालकहरूले सर्वसाधारणबाट संकलन गरेको रकम कोठे बैठक बसेर परिचालन गरेको, कानुनअनुसार पनि नचलेकोलगायत गुनासो आएपछि साई स्वागतबाटै अनुगमन सुरु गरेको महानगरले बताएको छ । ‘सहकारीहरू महानगरपालिकामा हस्तान्तरण भएको ०७५ साउनदेखि नै हो । पछिल्लो साढे २ वर्षदेखि यो संस्थाका बारेमा पनि नियमित रूपमा उजुरी आइराखेको छ । पैसा नदिएको, साधारणसभाले गर्नुपर्ने काम आफूखुसी गरेको, महाराजगन्जमा रहेको कार्यालय अचानक अनामनगर सारेकोलगायत धेरै विषयमा उजुरी परेको छ,’ अधिकारीले भने ।

माथिको समाचारमा निकिता पौडेललेले स्पष्टीकरण दिएकी छन् ।

..............................................................................................

कान्तिपुर दैनिकमा २०८१ वैशाख १३ गते प्रकाशित निकिता पौडेलको स्पष्टीकरण

'साई स्वागत सहकारीमा मेरो लेनदेन छैन'

कान्तिपुर दैनिकमा २०८० चैत २२ मा गृहमन्त्री पत्नी उपाध्यक्ष रहेको सहकारीमा महानगरको अनुगमन' शीर्षकमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा 'सहकारीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेका बेला उनले बिनाधितो ५० लाखको कारोबार गरेको तथ्य भेटिएको महानगरको टोलीको दाबी छ । निकिताका नाममा भएको उक्त कारोबार फस्र्योट 'भएको जानकारी पनि भरतमणिले दिएका छन्। तर उपाध्यक्ष स्वयंले धितो नराखी ५० लाख लिएको र त्यस्तै प्रवृत्तिमा ऋण प्रवाह हुँदा सहकारी संकटमा परेको भन्दै बचतकर्ताले महानगरमा उजुरी गरेका छन्' भन्ने उल्लेख गरिएको छ। मैले साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा २०७७ असोज ८ मै राजीनामा दिएको र २०७७ असोज ९ मा राजीनामा स्वीकृतसमेत भएपछि सहकारीको कुनै पनि जिम्मेवारी एवं भूमिकामा म नरहेको प्रस्ट पार्न चाहन्छु । उक्त सहकारी संस्थामा मेरो कुनै पनि आर्थिक कारोबार र लेनदेन बाँकी रहेको छैन । २०७७ असोज ९ मा राजीनामा स्वीकृत भएपश्चात् सहकारीको सञ्चालक समिति र साधारण सभाको निर्णय पुस्तिकामा उपस्थिति नरहेको र सोपश्चात् कुनै किसिमको संलग्नता भूमिका एवं जिम्मेवारी नरहेको समेत प्रस्ट पार्न चाहन्छु। तर मेरो व्यक्तिगत विषयमा मेरा पति रवि लामिछानेको गृहमन्त्रीको पदीय हैसियतलाई समेतलाई जोडेर सम्बन्धित व्यक्तिसंग केही पनि नबुझी समाचार प्रकाशन गरिएको छ । आधिकारिता एवं स्रोतमा समेत सन्देह हुने गरी प्रकाशित समाचारप्रति मेरो गम्भीर असहमति छ ।

- निकिता पौडेल, बुढानीलकण्ठ-८, हात्तीगौंडा, काठमाडौं

कान्तिपुरको टिप्पणी

पौडेलले भनेजस्तै 'सहकारीबाट लिएको रकम फछ्यौट भएको समाचारमै स्पष्ट उल्लेख छ । तर, उनी सहकारीमा उपाध्यक्ष बनेको र आफ्नै संस्थाबाट विनाधितो रकम लिएको विषयमा समेत काठमाडौं महानगरले गरेको अनुगमन र सहकारीका तत्कालीन अध्यक्ष भरतमणि जंगमले दिएको औपचारिक भनाइ (कोट) बाट पनि प्रस्ट हुन्छ । उक्त सहकारीको रकम अपचलनको विषयसमेत प्रहरीले अनुसन्धान गर्दै आएको र प्रहरीको तालुक मन्त्रालयको नेतृत्वमा पौडेलका श्रीमान् रवि लामिछाने रहेको सन्दर्भमा 'स्वार्थको द्वन्द्र' पति आकर्षित हुने सिद्धान्तका आधारमा गृहमन्त्रीको नाम जोडिएको हो । -प्रधान सम्पादक


प्रकाशित : चैत्र २२, २०८० ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?