१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

नतिजा पर्खिरहेका विद्यार्थी पुनः परीक्षा दिनुपर्दा तनावमा

त्रिविको लापरबाहीले उत्तरपुस्तिका हराउँदा अछामका २ सयभन्दा बढी विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने
दोस्रो वर्षको परीक्षा आइरहेको छ, यतिबेला पहिलो वर्षको विषयको परीक्षा दिनुपर्दा मानसिक तनाव भएको छ : राधिका रिमाल, विद्यार्थी

अछाम — गत वैशाखमा परीक्षा दिएर नतिजा पर्खिरहेका अछामका विद्यार्थी त्रिभुवन विश्वविद्यालयबाट उत्तरपुस्तिका हराएका कारण फेरि परीक्षा दिनुपर्ने खबरले तनावमा छन् । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बाट स्नातक तह पहिलो वर्षको २ सयभन्दा बढी उत्तरपुस्तिका हराएपछि अछाम बहुमुखी क्याम्पस मंगलसेन र कमलबजार बहुमुखी क्याम्पसका विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने भएको हो ।

नतिजा पर्खिरहेका विद्यार्थी पुनः परीक्षा दिनुपर्दा तनावमा

स्नातक तहको शिक्षा संकाय पहिलो वर्षको फाउन्डेसन अफ एजुकेसन (४१२) को परीक्षा गत वैशाख ८ मा भएको थियो । उक्त विषयको उत्तरपुस्तिका हराएपछि पनिकाले पुनः परीक्षा चैत २१ गते बिहान ७ देखि १० बजेसम्म लिनका लागि अछाम बहुमुखी क्याम्पस र कमलबजार बहुमुखी क्याम्पसलाई पत्राचार गरिसकेको छ । विद्यार्थीलाई परीक्षामा उपस्थित हुनका लागि स्थानीय सञ्चारमाध्यमबाट सूचना, सामाजिक सञ्जालबाट जानकारी र व्यक्तिगत नम्बरमा म्यासेज पठाउने काम क्याम्पसहरूले गरिरहेका छन् ।

विद्यार्थी भने पुनः परीक्षा दिनुपर्ने खबरले आक्रोशित छन् । अछाम बहुमुखी क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत मंगलसेल नगरपालिका–६ की झुमा भण्डारी पुनः परीक्षामा सहभागी हुन नसक्ने बताउँछिन् । ‘बिरामी भएर थला परेकी छु, पत्थरीको अप्रेसन भएकाले सुर्खेतमा छु,’ उनले भनिन्, ‘एक्कासि उत्तरपुस्तिका हराएको भन्दै फेरि परीक्षा दिनुपर्ने जानकारी आएपछि तनाव भएको छ । पुनः परीक्षा दिन नपाए फेल नै हुन्छु । परीक्षा नदिएको पनि होइन, तर अहिले बिरामी भएर हिँडडुल नै गर्न सकिरहेकी छैन । मलाई त यातना दिए जस्तो भएको छ ।’

सोही क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययन गरिरहेका ढकारी गाउँपालिका–८ घोडासैनका २४ वर्षीय तपेन्द्र जैसी नेपाल प्रहरीमा कार्यरत छन् । अहिले काठमाडौंमा कार्यरत तपेन्द्र स्नातक तहको स्वअध्ययन गरेर परीक्षा दिन्छन् । वर्षभरि आफूले पाउने बिदा अछाम आएर स्नातक तहको परीक्षाका लागि छुट्याउँछन् । झन्डै एक वर्षअघि दिएको परीक्षाको नतिजा पर्खिरहेका बेला उत्तरपुस्तिका हराएर पुनः परीक्षा दिनुपर्ने भएपछि समस्या भएको उनले बताए ।

‘दोस्रो वर्षको परीक्षा दिनका लागि जोगाएर राखेको बिदा फेरि पहिलो वर्षको परीक्षाका लागि लिनुपर्ने भयो । काठमाडौंबाट तीन दिन जान, तीन दिन आउन लाग्छ । अहिले के गर्ने, कसो गर्ने भएको छ,’ उनले भने, ‘स्नातक तह छिटो सकिएला, प्रहरीकै माथिल्लो तहको जागिरका लागि सजिलो होला भनेको, यही तरिकाले पढाइ पूरा नहोला जस्तो भइसक्यो ।’

स्नातक तह दोस्रो वर्षमा अध्ययनरत मंगलसेन–१ कुन्तीकी राधिका रिमाल पुनः परीक्षा दिने तयारीमा छिन् । ‘परीक्षा दिइसकेपछि त्यो विषय हेर्ने कुरै भएन, पढेको पनि सबै बिर्सिसकें । दोस्रो वर्षको परीक्षा आइरहेको छ । यतिबेला पहिलो वर्षको विषयको नै परीक्षा दिनुपर्दा विद्यार्थीलाई मानसिक तनाव भएको छ, यो त हाम्रो भविष्यमाथि नै खेलबाड गरिएको हो,’ उनले भनिन्, ‘कोही काठमाडौं छन्, कोही इन्डिया गएका छन्, धेरै साथी परीक्षामा सहभागी होलान् जस्तो लाग्दैन । यसको जिम्मेवारी अब कसले लिन्छ ?’

परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीका कारण विद्यार्थीले तनाव झेल्नुपरेको अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र विष्टले बताए । उनका अनुसार अछाम क्याम्पसका १५१ र कमलबजार बहुमुखी क्याम्पसका ५९ उत्तरपुस्तिका पनिकाको कार्यालय बल्खुबाटै गायब भएका हुन् ।

‘परीक्षा लिइसकेपछि उत्तरपुस्तिका पनिकाको क्षेत्रीय कार्यालय अत्तरिया पठाउँछौं, त्यताबाट सबै परीक्षण गरिसकेपछि पनिकाको गाडीले नै काठमाडौं लैजान्छ । हामीले यताबाट उत्तरपुस्तिका पठाएको सबै रेकर्ड छ । यताबाट हराएको भए कहाँ यति सजिलै पुनः परीक्षा लिनुपर्छ भन्थे,’ उनले भने, ‘स्नातक तहमा परीक्षा दिएका विद्यार्थीको नतिजा ६ महिनामै आउनुपर्ने हो, एक वर्षमा उल्टै उत्तरपुस्तिका हरायो भन्ने खबर आउँछ । यसले विद्यार्थीलाई मानसिक तनाव दिएको छ ।’

उनका अनुसार स्नातक तहको पहिलो वर्षको उत्तरपुस्तिका हराएका विद्यार्थी अहिले तेस्रो वर्षमा अध्ययन गर्नुपर्ने हो । तर त्रिविले समयमा परीक्षा नलिने, समयमै नतिजा प्रकाशित नगर्ने, ४ वर्षको स्नातक तह सक्न ६/७ वर्ष नै लाग्ने गरेको छ ।

गत साता त्रिवि पनिकाले स्नातक तह पहिलो वर्षको उत्तरपुस्तिका हराएको खबर सार्वजनिक भएको थियो । पनिकाबाट परीक्षण भइसके पनि नतिजा सार्वजनिक हुन बाँकी उत्तरपुस्तिका हराएको हो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न गत बिहीबार उच्चस्तरीय समिति गठन गरेको छ ।

पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको विज्ञप्तिमा समितिले उत्तरपुस्तिका के–कसरी हराएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्ने उल्लेख छ । प्रतिवेदन प्राप्त भएपछि कार्यकारी परिषद्ले उत्तरपुस्तिका हराएको विषयमा आवश्यक निर्णय लिने जनाइएको छ । कार्यकारी परिषद् त्रिविका उपकुलपति अध्यक्ष र रेक्टर, रजिस्ट्रार रहने कार्यकारी समिति हो ।

अछाम बहुमुखी क्याम्पसमा अध्ययनरत रामरोशन गाउँपालिका–५ की पवित्रा साउद पुनः परीक्षामा सहभागी हुन काठाडमौंबाट आइतबार अछाम हिँडेकी छन् । ‘समयमा न परीक्षा हुन्छ, न नतिजा आउँछ भनेर केही अरु तयारी गर्नुर्‍योर्यो भनेर काठमाडौं आएकी थिएँ । शुक्रबार फेरि परीक्षा दिनुपर्ने थाहा पाएर अछाम जाँदैछु,’ उनले भनिन्, ‘पोहोर परीक्षा राम्रै भएकाले पास भइन्छ भनेर ढुक्कले बसेकी थिएँ । फेरि परीक्षा दिने भनेपछि दिमाग रित्तो भएको छ । हामीले विरोध गरे पनि कसैले सुन्दैनन् । तयारी केही छैन परीक्षा त दिनै पर्‍यो ।’

पनिकाबाट पाँच दिनअघि मात्रै उत्तरपुस्तिका हराएकाले २१ गते पुनः परीक्षा लिनुपर्ने खबर आएको कमलबजार बहुमुखी क्याम्पस प्रमुख पूर्णप्रसाद धमालाले बताए । ‘दुर्गम पहाडी भेगका सामुदायिक क्याम्पसमा भर्ना हुने करिब ४० प्रतिशत विद्यार्थी बाहिर हुन्छन् । उनीहरू परीक्षाकै लागि मात्रै आउँछन् । क्याम्पसमा विद्यार्थी छैनन्, कोही कामको सिलसिलामा भारतमा छन्, कोही विदेश जान भाषा सिक्न र प्रक्रिया पूरा गर्न काठमाडौंमा छन्,’ उनले भने,‘परीक्षा दिएको एक वर्षपछि उत्तरपुस्तिका हरायो भन्ने खबर आउँछ । यसले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको महसुस गरेका छन् ।’

त्रिविबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूमा विद्यार्थीको आकर्षण घट्नुमा त्रिविकै लापरबाही प्रमुख कारण भएको उनले बताए । ‘पनिकाबाट उत्तरपुस्तिका हराएको यो पहिलो घटना होइन । यसअघि पनि पटकपटक हराएका छन् । यसले विद्यार्थीलाई कति पीडा हुन्छ भन्ने कहिल्यै गर्दैनन्,’ क्याम्पस प्रमुख धमालाले भने,‘नतिजा पाउने बेला उत्तर पुस्तिका हरायो भन्ने, समयमा न परीक्षा लिने न नतिजा निकाल्ने । यस्ता तमाम कारणले त्रिविले विश्वास गुमाउँदै छ ।’ त्रिविको लापरबाहीका कारण विद्यार्थी अन्य विश्वविद्यालयमा आकर्षित हुने गरेको उनले बताए ।

प्रकाशित : चैत्र २०, २०८० १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?