२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

पर्यटन विकासका नाममा टुक्रे योजना 

मठमन्दिर र पर्यटनमार्ग निर्माणमा खर्च धेरै

सुर्खेत, बागलुङ — डोल्पाका सांसद धनबहादुर बुढा २०७४ मा संघीय सरकारमा पर्यटन राज्यमन्त्री भए । उनका भाइ नन्दबहादुर बुढा कर्णाली प्रदेशका पर्यटन मन्त्री थिए । संघीय पर्यटन मन्त्री भएपछि कर्णालीवासी खुसी हुनु स्वाभाविक थियो, कर्णालीको पर्यटन विकासमा पक्कै पनि मन्त्रीले चासो राख्लान् भन्ने । तर, त्यसो भएन, पर्यटन विकासको ४० करोड रकम पूरै डोल्पामा खन्याए ।

पर्यटन विकासका नाममा टुक्रे योजना 

अरु जिल्लामा कुनै बजेट परेन । डोल्पामा पनि खासै पर्यटन प्रवर्द्धनका भौतिक विकासको साटो विभिन्न कुलदेउताका थान, ससाना मठमन्दिर र गुम्बाहरू निर्माण भए । कर्णालीमा पर्यटन पूर्वाधार विकासका नाममा हरेक आर्थिक वर्षमा कुलदेउताकै मठमन्दिर निर्माणमा खर्च हुने गरेको छ ।

विशेषगरी कर्णालीका अधिकांश जिल्लामा रहेको दाह्रेमष्ट प्रसिद्धि पूर्वाधार, भैसेखोर, मष्टा मन्दिर, कालिका मन्दिर, मालिका दुर्गा मन्दिर, मष्टा मन्दिरलगायतका दर्जनौं कुलदेउताको मन्दिरमा पर्यटन विकासको नाममा कर्णाली प्रदेश सरकारले बजेट खर्च गरेको छ ।

मन्त्रालयमा अधिकांश फाइल मठमन्दिर निर्माण र पर्यटनमार्ग निर्माणको माग आउने गरेको निवर्तमान उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले बताए । कुलदेउताका मठमन्दिर मात्रै निर्माणले पर्यटन विकास नहुने बताउने निवर्तमान मन्त्री बीसीले गृहजिल्ला दैलेखमा कुलदेउतासहित अन्य देवीदेवताको नाममा अन्य जिल्ला भन्दा बढी बजेट विनियोजन गरेका छन् । उनले दैलेखमा मात्रै ५ लाखदेखि १ करोडसम्मको योजनामा झण्डै ५ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

डिभिजन वन कार्यालयमार्फत खर्च हुने पर्यटन विकासको पूर्वाधार निर्माणका योजनामा रकम विनियोजन गरेको पर्यटन सचिव राजेन्द्रकुमार बासुकलाले बताए । उनका अनुसार पूर्वमन्त्री बीसीले गृहजिल्ला दैलेखमा ५० वटा टुक्रे योजनामार्फत पूर्वाधार निर्माणको नाममा कुलदेवताको थानदेखि गाउँमा रहेका स–साना मन्दिरसम्मलाई वितरणमुखी योजना बनाएका छन् । ‘कनिका छरेझैंको कार्यकर्तामुखि बजेटले पर्यटन विकास होला र पर्यटक आउलान् भन्ने कुरामा विश्वास गर्न सकिन्न,’ दैलेख नारायण नगरपालिका–३ का पूर्ववडाध्यक्ष तीर्थनारायण श्रेष्ठले भने ।

केही योजनाबाहेक प्रदेशका सबै जिल्लामा कुनै एक प्रमुख गन्तव्यलाई सरकारले योजना बनाएर पैसा खर्च नगरेर छरपस्ट रूपमा योजना बनाएको छ । जसका कारण बर्सेनि बजेट खर्च भए पनि प्रगति नदेखिने दैलेखको भैरवी–२ स्थित मष्टा मन्दिर पूर्वाधार विकास समितिका सचिव तेज चन्दले बताए । उनका अनुसार नारायण नगरपालिका–४ भैसेखोर मष्ट मन्दिर पूर्वाधार निर्माण, नौमुले –३ भैरमथान मन्दिर पूर्वाधारनिर्माण, दुल्लु नगरपालिका–१३ मा तियाडी मन्दिर पूर्वाधार विकास, आठबिस नगरपालिका–१ मा अधिकारी मन्दिरदेखि कुकुरेथुम भाइ मन्दिर पदमार्ग निर्माण, नारायण नगरपालिका–१ दैलेख बजारमा जीवन ज्योति चर्च पूर्वाधार निर्माण, डुंगेश्वर–१ चुप्रामा बौद्धविहार पूर्वाधार निर्माणलगायत दर्जनौं कुल देउता, विहार र चर्चमा झण्डै ३ करोड विनियोजन भएको छ ।

मन्त्रालयले कर्णाली प्रदेशको राजधानीस्थित वीरेन्द्रनगरमा पनि ५० वटा पर्यटन विकासका नाममा योजना बनाएको छ । जहाँ पनि कुल देउतादेखि गुम्बासम्म पूर्वाधार निर्माणमा बजेट छुट्याइएको छ । त्यस्तै बराहताल–५ मा बौद्ध गुम्बा पूर्वाधार निर्माण, वीरेन्द्रनगर नगरपालिका–२ ठौरी फलाटे सुर्खेत मष्टादेवी पूर्वाधार निर्माणदेखि सिम्ता–१ मा मष्टा पूर्वाधार निर्माणलगायत थुप्रै मठमन्दिरमा बजेट भनेर झण्डै २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै कालीकोटमा १३ वटा योजनामध्ये आधा जति स–साना मन्दिरको पूर्वाधार निर्माणमा रकम राखिएको छ । जसको रकम झण्डै ५० लाख रुपैयाँ छ । जाजरकोटमा कुलदेवताकै थानका लागि १७ वटा योजना रहेका छन् । जसमा जुनीचाॅदे–२ मा रहेको मष्टा मन्दिरदेखि छेडागाड नगरपालिका–१२ मा रहेको मालिका मन्दिरसम्म योजना पारिएको छ ।

सल्यानमा १७ वटा पर्यटकीय क्षेत्रमा योजना बनाइएको छ । प्रदेश सरकारले डोल्पामा ६ वटा योजना रहेको स्थानीय अगुवा विष्णुलाल वुढाले बताए । पर्यटन मन्त्रालयले जुम्लामा २८ वटा योजनामा रकम विनियोजन गरेकामा १० लाख बजेट कुलदेवताकै थानमा विनियोजन भएको छ । तर कर्णालीको प्रमुख पर्यटकीय तीर्थस्थल चन्दननाथ मन्दिरमा भने यस वर्ष जम्मा १० लाख रुपैयाँ मात्र छुट्याइएको छ । ‘चन्दननाथ जतिकै बजेट अन्य सामान्य मन्दिरमा पूर्वाधार र पदमार्ग भनेर हालिएको छ,’ जुम्लाका अगुवा लक्ष्मीप्रसाद देवकोटाले भने, ‘जसले पर्यटन विकासमा कुनै प्रभाव पार्दैन । नेताका पहुँच र पावरमा सामान्य मन्दिरमा लाखौं रकम खन्याइएको छ, यसले पर्यटन विकासमा के प्रभाव पार्छ र ?’ उनले जे भने पनि जुम्लामा खस राज्यका प्रवर्तक नागराजको प्रतिमा स्थापना तथा सिंजा सभ्यता विकास कार्यक्रम भनेर ३० लाख रुपैयाँ विनियोजन गरिएको डिभिजन वन कार्यालय जुम्लाले जनाएको छ ।

मुगुमा पर्यटकीय क्षेत्र विकासमा १६ वटा योजना राखिएको छ । यहाँ गुम्वा र केही मन्दिरबाहेक होमस्टे, पदमार्ग र रारा पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकारले ठूलो रकम विनियोजन गरेको छ । रुकुम पश्चिममा रहेका १२ वटा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणमा योजना रहेको छ । जसमा रुकुम पश्चिममा अन्य जिल्लामा जस्तो कुल देउताको मन्दिर, गुम्बा, चर्चका लागि बजेट हालिएको छैन । यहाँ जिल्लाका मुख्य पर्यटकीय क्षेत्रमा मात्र बजेट विनियोजन गरिएको छ । हुम्लामा २१ वटा योजना रहेका छन् । हेलिप्याड निर्माण, होमस्टेदेखि पूर्वाधार निर्माणसम्मका योजना रहे पनि केही कुलदेउताको नाममा बजेट विनियोजन गरिएको छ । १५ लाखमुनिका योजना कार्यान्वयन नहुने भएकाले काम गर्न चुनौती भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखाका शाखा अधिकृत रामबहादुर बुढाले वताए । ‘पर्यटन प्रवर्द्धनका योजनाहरू पुनःविचार हुन्छ । ठोस विकास हुने योजना कार्यान्वयन हुनेछ,’ अधिकृत बुढाले भने, ‘उत्पादनशील हुने, कर्णालीको दिगो विकासमा टेवा पुग्ने खालका योजना छनोट भइ बजेटलाई पुनः हेरिनेछ ।’

मन्दिर र पदमार्गमा पनि उत्तिकै

गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत २५ लाख रुपैयाँको लागतमा जिल्ला प्रवेशद्वार नजिकै लक्ष्मीनारायण मन्दिर निर्माण गरिएको छ । उक्त योजना पर्यटन कार्यालय बागलुङले फरफारक पनि गरिसक्यो । त्यसबाहेक कुडुलेधामका लागि २ लाख, पञ्चकोटका लागि ५ लाख, राधामाधव आध्यात्मिक पर्यटन प्रवर्द्धनका लागि १० लाख रुपैयाँ बजेट छ । नगरभित्र ६ वटा मठमन्दिरका लागि बजेट विनियोजन भएकामा सबै सम्झौता भएर काम गरिरहेका छन् । बरेङ गाउँपालिकामा ३ वटा योजना सबै मठमन्दिरका छन् ।

छत्रदेव मन्दिरका लागि ५ लाख, साग्दी सत्यवती मन्दिर पूर्वाधार निर्माण गर्न १० लाख र खाल्टा मुसुन्धरा हुँदै शान्ति सत्यवती मन्दिर पुग्ने पदमार्गका लागि थप १० लाख बजेट छ । ती सबै धार्मिक कामका लागि नै खर्च भएका हुन् ।

काठेखोलामा रामकोट मन्दिर र गणेश मन्दिरका लागि पनि बजेट छुट्याइएको छ । सबै बजेट ५ लाख रुपैयाँका छन् । पदमार्गका लागि बागलुङ नगरभित्र मात्रै १० योजना छन् । हरेक स्थानमा सिंढी, बाटो बनाएर पदमार्ग नामकरण गरिएको छ । सबै सिंढी सिमेन्टबाट बनेका छन् । तर पछिल्लो समय अधिकांश स्थानमा सडक पनि सँगै पुग्दा सिंढीहरू प्रयोगविहीन जस्तै छन् । जैमिनीमा १०, काठेखोलामा १२, गलकोटमा ६ र बडिगाडमा ४ वटा पदमार्ग बनेका छन् । ढोरपाटन नगरपालिकाले ४, ताराखोलाले २ र निसीखोलाले २ वटा पदमार्गमा बजेट लगानी गरेका छन् ।

बागलुङमा ७६ योजना पर्यटनतर्फ सूचीकृत भएको र तीमध्ये ५० योजना पदमार्गका र १२ मन्दिर निर्माणका रहेको पर्यटन कार्यालय योजना शाखाका वरिष्ठ सहायक नारायणप्रसाद रिजालले बताए । ‘जस्तो खालको माग आयो सोही प्रकारको मन्त्रालयमा पठाएका थियौं,’ उनले भने, ‘सूचीकृत भएका योजना समयमा सक्ने लक्ष्यमा छौं ।’

मन्त्रालयबाट योजना परेकाले कार्यालयले कार्यान्वयन मात्रै गर्ने रिजालले बताए । सानो बजेट मठमन्दिर तथा पदमार्गमा मात्रै विनियोजन गर्दा उपलब्धि न्यून हुने सरोकारवालाको गुनासो छ । ‘सानासाना योजनामा लगानी गरेर उपलब्धि नै हुँदैन, नगरको भन्दा थोरै रकम प्रदेशबाट लगानी गरेर परिणाम दिन गाह्रो हुन्छ,’ बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले भने, ‘प्रदेश सरकारले न्यूनतम कति रकम खर्चने भन्ने नै स्पष्ट भएन ।’ नगरको भन्दा ठूला र पर्यटन प्रवर्द्धन हुने खालका योजना सञ्चालन गर्नुपर्नेमा मन्दिर र पदमार्गमा मात्रै लगाइएको उनले बताए । पहिलो चरणमा पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसार बढी हुनुपर्ने उनको तर्क छ । पर्यटनका नाममा मन्दिर र सिमेन्टका पूर्वाधार बनाउने भन्दा त्यसको महत्त्वबारे प्रचार गर्न सकेमा फाइदा लिन सकिने उनको धारणा छ ।

फरक योजनाका रूपमा ताराखोलामा १५ लाख लागतमा सहिद स्मृति पार्क निर्माण गर्न बजेट छ । उक्त बजेटले गाउँपालिकाभित्रका २५ जना सहिदको शालिक निर्माण गरेर पार्कभित्र राख्ने लक्ष्य छ । त्यसका लागि गाउँपालिकाको पनि आफ्नै थप बजेट समेत परिचालन भएको छ । तमान खोलाको एउटा मात्रै सोलेडाँडा देउराली बृहत् पर्यटकीय पूर्वाधार निर्माण योजनामा मन्त्रालयले १० लाख लगानी गरे पनि गाउँपालिकाले थप रकम लगाएर बृहत् योजना बनाएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘गुरुयोजना बनाएर करोड बढीका योजना सञ्चालन गर्दैछौं,’ बुढाले भने, ‘सडक, खानेपानी, सत्तल र ताल संरक्षणलगायतका कार्यक्रम गुरुयोजनामा छ ।’ सोलेडाँडामा पुग्ने सडक, सत्तल र पर्यटकले हिमाल हेर्न बस्ने स्थान बनाइ सकिएको हो ।

प्रकाशित : चैत्र ६, २०८० २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?