कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

रुसी सेनामा भर्ती भएर मृत्यु भएका परिवारका आफन्त बेखबर

केही शव कुर्दै

विराटनगर, नेपालगन्ज — झापाको विर्तामोड–५ का ३३ वर्षीय गंगाराम अधिकारी रुस उडेको तीन महिना भयो । दुई वर्षदेखि कतारमा कार्यरत उनी त्यतैबाट रुस उडेका थिए । दुई महिनादेखि उनको अवस्था अज्ञात थियो । सरकारले रुसी सेनामा कार्यरत अधिकारीको मृत्यु भएको बिहीबार पुष्टि गरे पनि झापामा रहेको उनको परिवार त्यसबारे बेखबर छ । 

रुसी सेनामा भर्ती भएर मृत्यु भएका परिवारका आफन्त बेखबर

महिना दिनअघि दिदी लक्ष्मी पौडेलले भाइको खोजबिनका लागि काठमाडौंस्थित रुसको कन्सुलर कार्यालयमा निवेदन दिएकी थिइन् । ‘मेरो भाइलाई के भयो किन फोन गर्नु भ’को ?,’ बिहीबार साँझ कान्तिपुरसँगको टेलिफोन सम्पर्कमा गंगारामकी दिदी लक्ष्मीले भनिन्, ‘मेरो भाइलाई के भको हो प्रस्ट भन्दिनूस् न ।’

अधिकारीका वृद्ध बाआमा, श्रीमती र दुई नाबालक छोरा छन् । परिवारको दयनीय आर्थिक अवस्थाका कारण अधिकारी खाडी मुलुक गएका थिए । खाडीबाटै उनले रुस जाने निधो गरेका थिए । ‘घर–परिवारसँग सल्लाह गरेरै रुस गएको थियो,’ लक्ष्मीले थपिन्, ‘मनग्ये कमाइ हुन्छ, रुस जान्छु भनेपछि परिवारले स्वीकृति दिएको थियो ।’

उदयपुर चौदण्डीगढी–३ की चिना घिमिरे रुसमा मारिएका श्रीमान् ४१ वर्षीय पदमबहादुर घिमिरेबारे बेखबर छन् । गत असोज ३० मा श्रीमती र तीन लालावाला छाडेर उदयपुरबाट दुबई हुँदै सोझै रुस उडेका उनको मृत्युबारे परराष्ट्र मन्त्रालयले पुष्टि गरिसकेको छ । तर, चिनालाई परराष्ट्रको खबर पत्यार लागेकै छैन । लागोस् पनि कसरी, दुई महिनाअघि सकुशल गएका थिए, पदमबहादुर । ‘समाचारमा मृत्युको खबर सुनिरहेकी छु तर मलाई विश्वास लागेको छैन,’ चिनाले कान्तिपुरसँग भावुक हुँदै सुनाइन् ।

रसुवाको नौकुण्डा गाउँपालिका–५ का सुन्दर मोक्तानको मृत्युबारे श्रीमती पातली थिङले दुई महिनाअघि ओमानमै थाहा पाइन् । खबर सुन्ने बित्तिकै अत्तालिएर घर आएकी उनी त्यसयता पतिको शव ल्याउन पहलका लागि परराष्ट्र मन्त्रालयदेखि कन्सुलर कार्यालय धाइरहेकी छन् । ‘मृत्युको खबर त आयो तर लास आएन,’ मृतकका साला जसुराम गोम्बोले टेलिफोन संवादमा भने, ‘दिदीभाइ दौडेका दौडै छौं ।’ सुन्दर गत दसैंअघि मात्रै दबईबाट रुस उडेका थिए ।

जाजरकोटका ३६ वर्षीय नवीन शाही वर्ष दिनअघि दुबई गएका थिए । दुबईको काम छाडेर उनी रुस उडेको २ महिना बढी भएको छैन । नातेदार भाइ नरेन्द्र शाहीका अनुसार जाने बित्तिकैदेखि बेपत्ता उनको खोजबिनका लागि फागुन २६ गते कन्सुलर कार्यालयमा निवेदन दिइएको थियो । कन्सुलर विभागले उनको मृत्यु पुष्टि गरेको छ । नवीनकी श्रीमती जोर्डनमा छन् । उनका एक छोरी र एक छोरा छन् ।

बाँकेको बैजनाथ गाउँपालिका–६ एच गाउँका ३८ वर्षीय सञ्जय केसी असोज ११ गते भिसा लगाउन जाने भन्दै घरबाट काठमाडौं हिँडेका थिए । सञ्जयले एकैपटक रुसी सेनामा भर्ती भएपछि घरमा खबर गरेका थिए । माघ २२ गते घटनामा परेको सुनेपछि परिवारजनले उनको अवस्था पत्ता लगाउन खोजे । अनेक उपाय लगाउँदा सञ्जयको अवस्थाबारे यकिन खबर आएन । छटपटीबीच खबर कुरिरहेको परिवारले फागुन ४ गते मात्र मोबाइलमा शव र मृत्युको कागज पाएको हो । भोलिपल्ट फागुन ५ गते धार्मिक परम्पराअनुसार काजकिरिया थालेको थियो । ‘मृत्युको खबर पुष्टि भएपछि बुवालाई रोक्न नसकिएपछि काजकिरिया गरेका हौं,’ मृतककी दिदी पार्वती केसीले भनिन्, ‘परराष्ट्र मन्त्रालयबाट मृत्यु भएकै हो भन्ने पत्राचार आएपछि हामीले भाइलाई गुमाइसकेको यकिन गर्‍यौं ।’

पुस २९ गते दिदीभाइको एकपटक फोनमा कुराकानी भए पनि दुःखपीडाबारे केही नबताएको पार्वतीले बताइन् । ‘भाइले दुःख भएको केही कुराकानी नै गरेन । त्यही दिनको फोन अन्तिम भयो,’ उनले भनिन् । सञ्जयकी पत्नी ३३ वर्षीया सपना केसीले श्रीमान् रुसी सेनामा भर्तीका लागि जान लागेको आफूलाई समेत थाहा नभएको बताइन् । ‘धेरैजसो फोनमा कुराकानी पनि हुन सकेन,’ सपनाले भनिन्, ‘उहाँ आइफोन चलाउनु हुन्थ्यो । त्यहाँ लोकेसन ट्रेस हुन्छ भनेर फोन चलाउन पनि दिदैन्थ्यो ।’

नेपाली सेनाका जागिरे सञ्जय सशस्त्र द्वन्द्वकालमा अर्घाखाँचीको गोरुसिंगेमा भएको झडपमा एक साता बेपत्ता भएका थिए । उनले ज्यान जोगाउन भन्दै अढाइ वर्षमै सेनाको जागिर छाडेका थिए । मलेसिया र दुबईमा गरेर पाँच वर्ष वैदेशिक रोजगारीमा बसेका उनले पछि गाउँमै हार्डवेयरको व्यापार सुरु गरे । पाँच लाख ऋण खोजेर सुरु गरेको व्यवसायले घर–व्यवहार चलाउन समस्या भएपछि मानव तस्करको जालमा परेर रुसी सेनामा भर्ती हुन गएका थिए ।

सञ्जयका बुवा अमर केसीले सरकारले शव मात्रै ल्याइदिए छोराको अन्तिम पटक मुख हेर्ने बताए । ‘सरकारलाई आफ्नो नागरिक कहाँ छ भन्ने थाहा छैन । काजकिरिया सकेर परराष्ट्र मन्त्रालयमा शव मगाइदिन भन्दा पनि मरेको पुष्टि नहुँदासम्म शव ल्याउने कुरा हुन सक्दैन भनेर फर्यायो,’ उनले भने, ‘सरकारले बल्ल पुष्टि गर्‍यो । अब शव ल्याइदिए हुन्थ्यो ।’

प्रकाशित : चैत्र २, २०८० १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?