२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री  

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट गरेका छन् । 

निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री  

'चालु आर्थिक वर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले शोधनान्तर बचत छ,' प्रधानमन्त्रीले भने, 'विदेशी विनिमय सञ्चिति १९ दशमलव ९ प्रतिशतले वृद्धि भई झन्डै १८ खर्ब ४५ अर्ब रुपैयाँ बराबर पुगेको छ ।'

व्यापार घाटा एक दशलव ८ प्रतिशतले घटेको उल्लेख गर्दै प्रधानमन्त्रीले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५ दशमलव १ प्रतिशतमा सीमित गरिएको बताए । उनले कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको छ उल्लेख गरे । 'विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन,' उनले भने, 'पूँजीगत खर्च पनि अपेक्षाअनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ ।'

प्रधानमन्त्रीले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पारे ।

बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरूको आधार ब्याजदर एकल अंकमा पुगेको र ऋणको ब्याजदर पनि घटेको बताउँदै प्रधानमन्त्रीले भने, 'व्यापार घाटामा कमी आएको छ, तर निर्यात बढाउन सकिएको छैन । विप्रेषण त बढे्को छ तर योसँगै भित्रिने सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउन सकिएको छैन ।'

प्रकाशित : फाल्गुन ३०, २०८० ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?