कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

बम्जन आश्रमका अनुयायीद्वारा स्थानीयमाथि दुर्व्यवहार

वडाध्यक्षलाई ४ घण्टा बन्धक
राजकुमार कार्की

सिन्धुली — पुर्पक्षका लागि थुनामा रहेका तपस्वी रामबहादुर बम्जनको सिन्धुलीको कमलामाई नगरपालिका–८ को पैरेस्थित आश्रम आसपासमा प्रवेश निषेध गरिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । आनीहरूमाथि बलात्कार र अनुयायी बेपत्ता पारेको मुद्दामा बम्जन यतिबेला कारागारमा छन् । तर, पैरेको आश्रममा रहेका बम्जनका अनुयायीहरूले स्थानीयलाई दुर्व्यवहार गरेको आरोप छ । 

बम्जन आश्रमका अनुयायीद्वारा स्थानीयमाथि दुर्व्यवहार

आश्रम आसपासको जंगलमा चरिचरण तथा घाँस–दाउरा गर्न नपाएको स्थानीयको गुनासो छ । १० बिघा क्षेत्रफलको जमिन किनेर त्यसभन्दा बढी सामुदायिक वन क्षेत्रमा फैलिएको आश्रमभन्दा बाहिर हिंडडुल गर्न समेत प्रतिबन्ध लगाइएको कमलामाई नगरपालिका–५ सिलामेकी मैना श्रेष्ठले बताइन् । घाँस–दाउरा गर्न वन समूहको क्षेत्रभित्र जाँदा बम्जनका अनुयायीहरूले दुर्व्यवहार गर्ने गरिएको उनको गुनासो छ । ‘हामीले पुस्तौंदेखि यही वन क्षेत्रमा घाँस–दाउरा गर्दै आएका थियौं,’ उनले भनिन्, ‘अहिले आश्रमका मान्छेले घाँस–दाउरा लिएर हिंड्न समेत दिंदैनन् । प्रतिवाद गरे जे पनि हुन सक्ने भनी धम्की दिन्छन् ।’

पैरेको आश्रम आसपास, खोला, वनजंगल तथा वर्षौंदेखि प्रयोग गर्दै आएको सडक तथा मृत्यु संस्कार गर्न घाट जानका लागि प्रवेशमा रोक लगाइएको स्थानीयको आरोप छ । वडा नं. ८ कै रक्तदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मकर पाख्रिनका अनुसार बम्जनाका अनुयायी र गुरुमार्ग गुरुहरूले माथिको आदेश भन्दै स्थानीयलाई वन क्षेत्र प्रवेशमा रोक लगाएका हुन् । ‘हाम्रो घाँस–दाउरादेखि वडा कार्यालय र घाट जाने बाटो समेत बम्जनको आश्रम भएर जानुपर्छ,’ उनले भने, ‘तर, अहिले शान्ति क्षेत्रका नाममा उनीहरूले हामीलाई त्यो बाटो भएर हिंड्न समेत दिंदैनन् ।’

बोधी श्रवण धर्म संघको व्यवस्थापनमा २०७४ असोजदेखि पैरेमा बम्जनको आश्रम निर्माण थालिएको थियो । १० बिघा नम्बरी र १२ बिघा बढी ऐलानी गरी २२ बिघा क्षेत्रफलमा अग्ला पर्खाल र काँडेतारको घेरा हालेर आश्रम बनाइएपछि सामुदायिक वनमा घाँस–दाउर गर्न र अनुगमन गर्न समेत समस्या भएको मोक्तानले बताए । सोही क्षेत्रमा पर्ने अर्को दक्षिणकाली सामुदायिक वन समूहका अध्यक्ष इन्द्र श्रेष्ठका अनुसार वन समूहको कार्ययोजना तथा डिभिजन वन कार्यालयको स्विकृतिमा दिगो वन व्यवस्था अनुसार कटान गरिएको काठ अनुगमनका लागि गएका जनप्रतिनिधि, कर्मचारी र स्थानीयलाई समेत बम्जनका अनुयायीहरूले घेरा हालेर फागुन २८ का दिन ४ घण्टा बन्धक बनाएर छाडेका थिए ।

कमलामाई नगरपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर खड्काले संस्थागत रूपमा वन र सिलामे–बेसारे सडकअन्तर्गत निर्माण गरिएको कल्भर्ट अनुगमनका लागि जाने क्रममा बम्जनका अनुयायीबाट अपमान सहनु परेको बताए । ‘सोमबार आश्रमनजिकै बनेको कल्भर्ट र काठको अनुगमन गर्न गएका थियौं तर त्यहाँ कसको अनुमतिले आएको, यहाँ आउने हिम्मत कसरी गरेको भन्दै बन्धक बन्नु पर्‍यो,’ उनले भने, ‘मैले जनप्रतिनिधि भएको जानकारी गराउँदा समेत हिंड्न दिइएन । त्यहाँ उनीहरूको छुट्टै राज रहेछ ।’

‘वडाध्यक्ष खड्का, वनका कर्मचारी, वन समूहका पदाधिकारी र स्थानीय काठको अनुगमनका लागि आश्रम नजिकै पुग्दा बाटो छेकेर हिंड्न दिएनन्,’ दक्षिणकाली सामुदायिक वन समूहका अध्यक्ष श्रेष्ठले भने, ‘उनीहरूले कसको अनुमतिले यहाँ आएको, शान्ति क्षेत्र भंग गरेको भन्दै बन्धक बनाएर राखेका थिए ।’ बम्जनको आश्रममा रहेका अनुयायीले स्थापना भएदेखि दक्षिणकाली, सरस्वती, चनदेवी, रक्तदेवी, सिद्धठाकुर सामुदायिक वन समूहका उपभोक्तालाई आश्रम आसपास प्रवेश रोक लगाएका छन् । जसका कारण सिलामे, शाखाजोर, बेसारे, धुसुने, पैरे लगायतका सर्वसाधारण त्रासमा छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठले बम्जन आश्रमका कारण तीनवटा समूहको वन क्षेत्र अतिक्रमण भएको बताए । ‘हामीले अनुगमनका क्रममा वन समूहको क्षेत्रसमेत अतिक्रमण भएको पाएका छौं । उनीहरूको जग्गा बाहेक ऐलानी र वन क्षेत्रको जग्गा खाली गर्न स्थानीय प्रशासनसँग समेत पटक–पटक अनुरोध गरिएको छ । तर, कुनै सुनुवाइ भएको छैन,’ श्रेष्ठले भने, ‘राज्यले सामुदायिक वनको संरक्षण, उपयोग र व्यवस्थापनको जिम्मा स्थानीयलाई दिएकाले त्यसको रेखदेख, गोडमेल, डढेलो नियन्त्रण लगायतका काम जंगलमै गएर गर्नु पर्ने हुन्छ तर त्यहाँ समूहका उपभोक्तालाई प्रवेश नै गर्न दिइँदैन ।’

बोधी श्रवण धर्म संघकी अध्यक्ष फूलकुमारी घिसिङले आश्रमभित्र प्रवेश गर्न गुरुहरूको अनुमति आवश्यक भए पनि आश्रमबाहिर हिंडडुलमा रोक नलगाइएको बताइन् । ‘अनुयायीहरूले कुरो नबुझेर स्थानीयलाई दुःख दिएको पाइयो,’ उनले भनिन्, ‘अब त्यस्तो अवस्था आउन दिंदैनौं ।’

प्रकाशित : फाल्गुन ३०, २०८० १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?