२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

सुकुम्बासीका नाममा चुरे फाँडेर धमाधम बस्ती 

राजकुमार कार्की

सिन्धुली — कमलामाई नगरपालिका–१४ चन्दनपुर र दुधौली नगरपालिका–३ झुंगानजिक जंगल फँडानी गरेर बस्ती विस्तार गर्ने क्रम बढेको छ । सुकुम्बासीका नाममा राजमार्ग छेउमा बसोबास गर्नेहरूले सयौं बिघा चुरे वन फँडानी गरी जग्गा नापेर भाग लगाएका हुन् । स्थानीयका अनुसार दुई दशकदेखि भइरहेको फँडानीको क्रम अझै रोकिएको छैन ।

सुकुम्बासीका नाममा चुरे फाँडेर धमाधम बस्ती 

चुरेफाँटमा ३० मिटर लम्बाइ र करिब १५ मिटर चौडाइका हिसाबले भाग लगाएर उनीहरूले जग्गा बाँडफाँट गरिरहेका छन् । बस्ती बढेसँगै चुरे क्षेत्रको वन विनाश झनै बढेको छ ।

सुकुम्बासीका नाममा जग्गा कब्जा गरेपछि यतिखेर धमाधम ठूल्ठूला घर बनाएर बस्ती बढिरहेको छ । सडक छेउछाउ नापेर जग्गा लिइएको छ भने भित्र मनलाग्दी गरी ओगटिएको छ । एक दशकदेखि जग्गा हुनेहरूले समेत सडक छेउमा घर बनाउन पाइने लोभले सुकुम्बासी बनेर चुरेको जंगल अतिक्रमण गरेका हुन् । वन अतिक्रमण गरेर खेती लगाउन पनि थालिएको छ । सडकलाई माथिमाथि सार्दै फँडानी गरेर घरहरू बनाइएको छ ।

अतिक्रमित जग्गामा पक्की घर औंलामा गन्न नसकिने भएका छन् । कतिपय पक्की घर निर्माणाधीन अवस्थामा रहेका छन् । धरान, चतरा, सिन्धुली हुँदै हेटौंडा जोड्ने मदन भण्डारी राजमार्गले अतिक्रमणकारीबाट धकेलिएको सडकलाई नै कायम गरी कालोपत्रसमेत गरेको छ । ‘सकुम्बासीका नाममा चुरे जंगल सखाप भयो,’ स्थानीय मंगले दनुवारले भने, ‘सकुम्बासीका नाममा हुकुमबासी हाबी भए, धमाधम चुरेक्षत्र फँडानी भैरहेको छ ।’ आफूले ओगटेको जग्गा राजमार्गभन्दा पछाडि परेको उनको गुनासो थियो । ‘टाठाबाठा अगाडि आए, हामीलाई पछाडिको दिए,’ उनले दुखेसो सुनाए, ‘आगाडि हुनेका ठूलठूला महल बनेका छन्, हामी पछाडि पर्नेको एउटा झुप्रो न हो ।’

तत्कालीन माओवादी लडाकुको सोलुसल्लेरी शिविर सडकको माथितिर बनेपछि त्यतिबेला सबैभन्दा धेरै वन फँडानी भएको थियो । लडाकु समायोजनयता उक्त स्थानमा नेपाली सेनाको पर्यावरण गण बसेको छ ।

अतिक्रमणकारीहरूले सालका रुखलाई पहिलो वर्ष फेदमा बोक्रा ताछेर घेरिदिने, रुख सुक्दै गएपछि ढाल्ने गरेको स्थानीयले बताएका छन् । बर्सेनि फँडानी भइरहे पनि कसैले वास्ता गरेको छैन । वर्षौंदेखि सुकुम्बासी भइ घर बनाएर बसेकाहरू भने जग्गाधनी पुर्जा नपाएको गुनासो गर्छन् ।


सुकुम्बासीका नाममा फँडानी गर्नेले पहुँचका आधारमा जग्गा ओगट्ने गरेका छन् । सक्नेले ५ देखि १५ कठ्ठा समेत लिएका छन् । चार दशकभन्दा अघिदेखि छाप्रो हालेर बसेका कतिपय भने त्यसमै सीमित देखिन्छन् । नवसुकुम्बासीको उक्त क्षेत्रमा बोलवाला रहेको छ । उनीहरूको खेत भने प्रशस्त रहेको छ । स्थानीयका अनुसार चन्दनपुर र झुँगामा सुकुम्बासीका नाममा बसेकाहरूमध्ये आधाभन्दा धेरैको अन्यत्र पनि जग्गाजमिन छ । तर, उनीहरू सबैजसो नदीले खेत र पहिरोले घर बगाएको भन्दै सुकुम्बासी बनेको बताउँछन् । स्थानीय बसन्ती दुनुवारका अनुसार यसले वास्तविक सुकुम्बासी मारमा परेको बताउँछिन् । भन्छिन्, ‘पुर्जा दिने भनेको पनि वर्षौं बित्यो तर पाइएन ।’

बस्ती बसेको सबै स्थानमा अहिले पनि केही सालका ठूला रुख र जरा रहेका छन् । कुनै स्थानमा भर्खरै मात्र पनि फँडानी भएको छ । उजुरी गर्दा सबै उठ्नु पर्ने भयले सबै जना ‘तैं चुप मै चुप’ भएका छन् । निर्माण भएका पक्की संरचना चारतल्लेसम्मका छन् । सुकुम्बासीले करोडौं खर्चेर पक्की संरचना बनाउन नसक्ने स्थानीय नै बताउँछन् । वास्तविक सुकुम्बासी पहिचान गरेर सरकारले जग्गाधनी पुर्जा उपलब्ध गराउनु पर्ने उनीहरूले माग गरेका छन् । वास्तविक सकुम्बासी पहिचान नहुँदा र लालपुर्जा नभएर भूकम्प प्रतिरोधी घर निर्माण गर्न नसकेको कतिपयले गुनासो गरेका छन् ।

सिन्धुली वन डिभिजन कार्यालयका प्रमुख प्रल्हादप्रसाद धिताल अतिक्रमण रोक्न अब स्पेसल टाक्सफोर्स परिचालन गरिने बताउँछन् । ‘चुरे अतिक्रमण गरी फँडानी धेरै पहिलादेखि हुँदै आएकाले सबै मिलेर रोक्नुपर्छ,’ उनले भने, ‘१० वर्षदेखि बस्दै आएकालाई भूमि आयोग पुर्जा दिने भन्छ, हामी चुरे अतिक्रमण फिर्ता हुनुपर्छ र रोकिनुपर्छ भन्छौं, कसरी मिलाउने होला ?’ जिल्लाभरि करिब ८ हजार हेक्टर वन अतिक्रमण भइसकेको उनले बताए । चुरे जंगलको तल्लो फाँटको ३३ सय ८३ हेक्टर वन पूर्ण रूपमा नष्ट भइसकेको कार्यालयको तथ्यांक छ । जिल्लाको कुल २ लाख ४७ हजार ८ सय ३४ हेक्टर वन क्षेत्रमध्ये १ लाख ६४ हजार २ सय ५८ हेक्टर चुरे क्षेत्रमा पर्छ ।

कमलामाई नगरपालिका–१४ का पूर्ववडाध्यक्ष जितलाल अधिकारी दनुवार पनि सकुम्बासीमा दर्ज भएका छन् । उनले ३० मिटर लामो र १५ मिटर चौडाइको चुरेको वन फाँडिएको जग्गा लिएर घरगोठ त्यही जग्गामा बनाएका छन् । कमला नदी किनारमा प्रशस्त खेत भएका पूर्ववडाध्यक्ष दनुवार तत्कालीन समयमा बाढीको डरले जंगलमा सरेको बताउँछन् । ‘२० वर्ष भन्दा अघि नै हामी यहाँ आएका हौं,’ उनले भने, ‘छाप्रो हालेर बसिएको छ, म पनि अरुजस्तै हो ।’ पहिला आफूहरूले जग्गा ओगट्दा सडक नभएको र हाल राजमार्गको छेउमा परेको उनले सुनाए । ‘पहिला सुरक्षाका लागि सरियो, अहिले बस्ती भयो,’ उनले थपे ।

प्रकाशित : फाल्गुन २९, २०८० १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?