कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

हिमपातपछि भूकम्पपीडित थप विपत्‌मा

बारेकोट र नलगाडका करुवा, रग्दा, भगवती, खगेनकोटलगायतका गाउँमा १ फिटसम्म हिउँ
हिमपातपछि चिसो ह्वात्तै बढ्दा अस्थायी टहरा र त्रिपालमा बस्दै आएकाहरू बिरामी, दिनहुँ झन्डै डेढ सयको संख्यामा बिरामी

सुर्खेत — त्रिपालको कष्टकर बसाइपछि जाजरकोटको बारेकोट गाउँपालिकास्थित जिरीका गोविन्द विकको परिवार फागुन दोस्रो साता अस्थायी टहरामा सर्‍यो । साढे ३ महिना हिउँदे चिसो जसोतसो काटेर अस्थायी टहरामा फर्किएको विकको ८ जनाको परिवारलाई शनिबारको हिमपातले झन् ठूलो समस्यामा पार्‍यो । 

हिमपातपछि भूकम्पपीडित थप विपत्‌मा

‘घर वरिपरि हिउँ नै हिउँ छ, न्याना लुगा पनि छैनन्, हिजो (शनिबार) देखि परिवारका सबै जना रातभर आगो बालेर जाग्राम बस्न थालेका छौं,’ उनले भने, ‘अब हिउँ नपग्लिँदासम्म बाहिर निस्कने र राम्ररी सुत्ने अवस्थै छैन ।’ उनका छिमेकी बलबहादुर नेपालीको ७ जनाको परिवार पनि शनिबार रातभर आगो बालेरै जाग्राम बस्यो । अस्थायी टहराका प्वाल टाल्न पुराना लुगा प्रयोग गरे पनि त्यसले सिरेटो थेग्न नसकेको उनले बताए । ‘धन्न त्रिपालमुनिको बसाइका बेला हिउँ परेन, अहिले हिमपातपछि यति चिसो बढेको छ कि आगो छोडेर एकछिन पनि बस्न सकिँदैन,’ बलबहादुरले भने, ‘अत्यधिक चिसोका कारण हातखुट्टा लुला हुने, झमझमाउनेजस्ता समस्या देखिन थालेको छ, चिसो थेग्न नसक्ने वृद्धवृद्धा, बालबालिका र रोगी/बिरामीलाई टहरामा निकै सकस हुने देखिन्छ ।’ उनका ६१ वर्षीय बुबा दमका रोगी हुन् भने ६० वर्षीया आमा मधुमेह र उच्च रक्तचापकी बिरामी हुन् । दुई छोरा र एक छोरीलाई पनि त्रिपालमा रुघाखोकी, ज्वरो र झाडापखालाले दुःख दिइरहेको उनले बताए ।

बारेकोटलाई केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मा गएको भूकम्पपछि पालिकाका १ हजार ७५ परिवार अहिले पनि त्रिपालकै सहारामा रात छिचोल्दै आएका छन् । ‘हिउँ परेपछि अधिकांश परिवार त भत्किएकै घरमा भए पनि फर्कन बाध्य भए,’ आधारभूत विद्यालय बारेकोटका शिक्षक घनश्याम केसीले भने, ‘त्रिपालहरू हिउँले पुरिएपछि ज्यान नै जोखिममा राखेर भत्किएकै घरमा फर्किएका छन् ।’


बारेकोटका ५ हजार ५ सय ८६ घर भत्किएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । जसमध्ये ४ हजार ५ सय ११ अस्थायी टहरा मात्र बनेका छन् । बाँकी परिवार अझै पनि त्रिपालकै भरमा बस्दै आएका थिए । हिमपातका कारण ती परिवार अहिले बढी मारमा परेका हुन् । बारेकोटका अधिकांश वडामा हिमपात भएको छ ।

‘१० इन्चदेखि २ फिटसम्म हिउँ जमेको छ,’ बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले भने, ‘अस्थायी टहरामा सुरक्षितसाथ आगो तापेर र न्यानो खाना खाएर बस्न पालिकावासीलाई आग्रह गरेका छौं ।’ उनले सोमबारदेखि अस्थायी टहरामा स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी पठाउने तयारी रहेको बताए ।

भूकम्पबाट सबैभन्दा क्षति व्यहोरेको नलगाड नगरपालिकाका अधिकांश वडामा पनि बाक्लो हिमपात भएको छ । एक फिटसम्म हिउँ जमेको नलगाड नगरपालिका–६ गर्चेनाका भीमबहादुर पुनमगरले बताए । उनको आठ जनाको परिवार २ साताअघि मात्र अस्थायी आवासमा सरेको थियो । ‘आमाबुबा र छोराछोरीलाई जाडोबाट जोगाउनै मुस्किल भयो,’ उनले भने, ‘अहिलेसम्म म र जहान (श्रीमती) मात्र बिरामी भएका छैनौं, हिजोबाट छोराछोरी पनि ज्वरो र रुघाखोकीले बिमार परे ।’

अहिलेसम्म तातो र झोलिलो खानेकुरा खाँदै आगो तापेर रातदिन टहरामा बसिरहेको भन्दै उनले पालिकाले दिएको चामलले अहिलेसम्म धानेको बताए । यहाँका करुवा, रग्दा, भगवती, खगेनकोटलगायत गाउँलाई एक फिट बाक्लो हिउँले ढाकेको छ । हिमपातपछिको चिसोका कारण पशुचौपायाको पनि बिचल्ली भएको भीमबहादुरले सुनाए । नलगाडमा ८ हजार ९७ लाभग्राही कायम भएकोमा अहिलेसम्म ७ हजार ५ सय १७ मात्र अस्थायी आवास बनेको नगरप्रमुख डम्बरबहादुर रावतले बताए । निर्माण सामग्रीको अभाव, कामदार नपाइने समस्या, पारिवारिक विवादका कारण अझै ५ सय ८० परिवार त्रिपालमै बस्न बाध्य रहेको रावतले सुनाए । त्रिपालमा बस्दै आएका केही परिवार पनि हिमपातपछि आफन्तको टहरामा शरण लिन पुगेको उनले बताए ।


भूकम्पपीडितहरू चिसोका कारण बिरामी पर्ने क्रम उच्च देखिएको छ । छेडागाडस्थित आधारभूत अस्पतालका डा. प्रिय शाहीले चिसोका कारण दैनिक ५० देखि १ सय बिरामीको उपचार गर्ने गरेको बताए । उनका अनुसार अस्पताल आउनेमा झन्डै ६० प्रतिशत बालबालिका छन् । जसमा झाडापखाला, निमोनिया, ज्वरो, रुघाखोकीलगायत समस्या देखिएको उनले बताए । भूकम्पले सबैभन्दा क्षति पुर्‍याएको नलगाड नगरपालिकामा पनि दैनिक १ सय ५० जनासम्म बिरामी भई उपचारका लागि आउने गरेको नलगाड आधारभूत अस्पतालका डा. विशाल उप्रेतीले जानकारी दिए । अन्य पालिकाका माथिल्ला भेगमा पनि हिमपातपछि बढेको अत्यधिक चिसोका कारण अस्थायी टहरामा रात काट्न हैरानी हुने गरेको भेरी नगरपालिका–१ का चन्द्रबहादुर रावतले बताए । उनले ओड्ने/ओछ्याउने लत्ताकपडा गतिलो र पर्याप्त नहुँदा भूकम्पपीडितले दुःख झेल्नुपरिरहेको उल्लेख गरे ।

जाजरकोटमा ४२ हजार ५ सय २४ लाभग्राही कायम भएकोमा २६ हजार ७ सय ६५ अस्थायी आवास निर्माण भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनका अनुसार ३७ हजार ४८ लाभग्राहीको खातामा अहिलेसम्म अस्थायी आवास निर्माणका लागि २५ हजारका दरले पहिलो किस्ताको झन्डै ९२ करोड रुपैयाँ गइसकेको छ । बाँकी झन्डै १५ हजार ७ सय अस्थायी टहरा निर्माणका लागि पालिकाहरूलाई ताकेता गरिरहेको उनले जानकारी दिए । त्यस्तै रुकुम पश्चिममा २८ हजार ४३ जना लाभग्राही कायम भएकोमा झन्डै २७ हजार ७ सय अस्थायी आवास निर्माण भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उनका अनुसार जिल्लामा अस्थायी आवासका लागि ७० करोड ८९ लाख रुपैयाँ आएको थियो । भूकम्पपछि त्रिपालमा बस्दै आएका ३८ भूकम्पपीडितले चिसोकै कारण ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : फाल्गुन २१, २०८० ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?