२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

गणतन्त्रमाथि खतरा छैन : प्रधानमन्त्री दाहाल

राजकुमार कार्की

सिन्धुली — प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि केही मान्छेले हिलो छ्याप्ने काम गरे पनि त्यसबाट डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

गणतन्त्रमाथि खतरा छैन : प्रधानमन्त्री दाहाल

दुधौली नगरपालिका–५ सिर्थौलीमा शनिबार दुधौली नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले लोकतन्त्र र गणतन्त्रका विरोधीले भ्रम छर्ने काम गरेकाले सजग हुन आह्वान गरे । लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र व्यापक लोकतान्त्रिक गणतन्त्र भएको उनको भनाइ थियो ।

सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा सरकारले दर्बिलो ढंगले काम गरेकाले जनताको उन्नति र समृद्धि नचाहनेहरुले व्यवस्थाबिरुद्ध फैलाएको भ्रम र अफवाहको पछि नलाग्न उनले सुझाए । व्यवस्थाविरुद्ध भ्रम र अफवाह कसले फैलाएको भन्नेबारे प्रधानमन्त्रीले केही खुलाएनन् ।

अर्थतन्त्र सुदृढ हुँदै गएको दाबी गर्दै प्रधानमन्त्रीले विदेशी मुद्रा संचिति, पर्यटक अवागमन वृद्धि र बढ्दो रेमिट्यान्स यसको साक्षी भएको बताए । रेमिट्यान्स ३० प्रतिशत बढेकोमा भने आफू खुसी नभएको प्रधानमन्त्रीले सुनाए । उनले आफू सरकारमा आएपछि राहदानी, लाइसेन्स बनाउने लाइन हटाएको, मल बीऊको सहज उपलब्धताले धान उत्पादन बढेको दाबी गरे ।

सरकारको अर्जुनदृष्टि कृषि क्षेत्र भएकाले त्यसको विकासका लागि कृषिमा आधारित नयाँ उद्योग खोल्न र रुग्ण तथा बन्द भएका उद्योग संचालनका लागि काम थालनी भैसकेको उनले बताए । भारत र चीनसँग समेत कृषि उत्पादन बढाउनका लागि सहकार्य भएको उनले सुनाए ।

संघीय सरकारको १८ करोड लागतमा निर्माण भएको दुधौली नगर अस्पताल भवनमा आफु काठमाडौं फर्कने बितिक्कै चिकित्सक र उपकरणको व्यवस्था गर्ने प्रधानमन्त्री दाहालले आश्वासन दिए । उपचारको अभावमा दुधौलीमा सर्पदंशबाट बर्सेनि कैयौं स्थानीयको मृत्यु हुने गरेकोमा अब आइसीयू, भेन्टिलेटर, औषधि तथा दक्ष चिकित्सको व्यवस्था गरिने प्रधानमन्त्री दाहालले बताए । यो वर्ष विषालु सर्पको टोकाइबाट ६ जनाको मृत्यु भएको थियो । सरकारले स्वास्थ्य र शिक्षामा नयाँ काम थालनी बताए पनि कस्तो काम भन्ने चाही खुलाएनन् ।

कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्थानीय सरकारले नदीजन्य पदार्थ बिक्री भएर हुने आम्दानी अब प्रदेशलाई नदिनुपर्ने बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु श्याम घिमिरे र लेखनाथ दाहालले कमला नदी नियन्त्रणको लागि बजेट व्यवस्था गर्नं प्रधानमन्त्री समक्ष माग गरेका थिए ।

प्रकाशित : माघ २०, २०८० १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?