२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

एक्सन कक्षबाट प्रधानमन्त्रीको ‘एक्सन’-‘कट’ 

गंगा बिसी

काठमाडौँ — प्रधानमन्त्री पुष्पकल दाहाल आइतबार असंलग्न राष्ट्रहरुको सम्मेलनबाट आइतबार फर्केपछि ‘एक्सन’ मा उत्रिएका छन् । यसअघि निर्देशन र औपचारिक कार्यक्रम अधिकांश समय खर्च गरेका उनले सिंहदबारको ‘एक्सनरुम’ बाट एक्सन लिन सुरु गरेका छन् ।

एक्सन कक्षबाट प्रधानमन्त्रीको ‘एक्सन’-‘कट’ 

तेस्रो पटक प्रधानमन्त्री भएका उनले काम गरेर देखाउने अवसर गुम्ने जोखिम रहेको भन्दै दबाबमा काम गरिरहेका छन्। उनी ‘एक्सन’ मा उत्रिए पनि अवरोधहरु ‘कट’ गर्न सकेका छैनन् । दाहाल जसरी आफैँ तातेर एक्सनमा उत्रेका छन्, त्यसरी मन्त्रालय र मातहतका निकायहरु चलायमान भएका छैनन् । आफ्नो सरकार एक वर्ष पुगेको अवसरमा उनले आफू पुरानो कार्यशैली परिवर्तन गरी परिणामुखी काममा लाग्ने बताएका थिए ।

तर पछिल्लो समय प्रधानमन्त्री दाहालले आयोजनाको अनुगमन तीब्र पारे पनि परिणाममुखी कार्ययोजना बनाएको देखिदैन । मंगलबार पनि उनी अनुगमन र निर्देशनमा बढी व्यस्त भए । सरकारको काम प्रभावकारी रुपमा हुन नसकेको स्वीकारे पनि लक्ष्य अनुसार परिणाम निकाल्न नसक्ने मन्त्री र सम्बन्धित अधिकारीलाई जवाफदेही बनाउन प्रधानमन्त्री चुकेका छन् । उनको फिल्मीशैलीको ‘एक्सन’ काम अघि नबढ्दै ‘कट’ हुन थालेको छ ।

उनले एक्सनरुमबाट विकासे आयोजनाहरुको अनुगममन तीब्र गरेका छन् भने बजेट निर्माणका लागि १६ बुँदे अवधारणा अघि सारेका छन् । गृह, परराष्ट्र मन्त्रालयका अधिकारीलाई बोलारु राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र, राहदानी वितरण व्यवस्थित बनाउन निर्देशन दिए ।

मंगलबार पनि उनले पुरानै कार्यशैली दोहोर्‍याए । ‘मंगलबार पनि सिंहदरबारमा २ वटा महत्वपूर्ण छलफलहरू भए, कालीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिनेबारे छलफल, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई रूपान्तरकारी बनाउने सम्बन्धी छलफल’ प्रधानमन्त्री निजी सचिवालय प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भनेको छ, ‘यी दुबै छलफलमा सरोकार मन्त्रालय, विभाग र निकायहरूलाई मैले प्रष्ट निर्देशन गरेको छु– परम्परागत सोंच र औपचारिकताबाट देशको समृद्धि र विकास सम्भव छैन । त्यसका लागि हामी सबैले नयाँ सोच र योजनाका साथ काम गर्नै पर्दछ ।’

उनले झंझटिलो प्रक्रिया छोट्याएर परिणाम आउने गरी काम गर्न निर्देशन दिए । ‘पुराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिादै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन’ अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिए, ‘यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन। विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाउनुपर्छ ।’

सरकारले बजेटलाई कार्यान्वयनमुखी बनाउन अध्यादेश ल्याएका अर्को दिन दाहालले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण सम्बन्धी छलफल गरेको हो । सोमबार उनले सिक्टा सिँचाइ र महाकाली सिचाइ आयोजनाको सिंहदबारस्थित एक्सनरुमबाट अनुगमन गरेका थिए । भर्चुअल माध्यामबाट आयोजनाको काम तीब्र पार्न र केही समस्या भए रिपार्ट गर्न निर्देशन दिए ।

मंगलबार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई चालु योजनाहरुका अप्ठ्याराहरु सल्ट्याएर परिणाम निकाल्न निर्देशन दिए । ‘प्रधानमन्त्री सोचेअनुसार परिणाम ननिस्केकोमा तात्नु भएको छ,’ एक मन्त्रीले भने, ‘त्यही अनुसार राज्य संयत्र तातेको छैन । सरकारका निकायहरु, कर्मचारीतन्त्र तातेको छैन ।’

एक वर्ष सरकारले देखिने गरी परिणाम निकाल्न नसकेपछि दाहालमा हुटहुटी छ । तर त्यही अनुसार उनको मन्त्रिपरिषद्, सल्लाहकार टीम, निजी सचिवालयमा परिणाम निकाल्ने गरी संयत्र बन्न सकेको छैन । सत्ता गठबन्धनको अंक गणित, चारतिर फर्केका मन्त्रीका स्वार्थका कारण प्रधानमन्त्रीमा हुटहुटी बढे पनि परिणाम निस्कन सकेको छैन ।

स्वकीय सचिब रमेश मल्लले प्रधानमन्त्री परिणाम निकाल्न एक्सनमै उत्रिएको बताए । ‘सरकारका सेवाहरु सहज पार्ने, आयोजनाको काम तीब्र पार्ने र आगामी बजेट जनमुखी र कार्यान्वयनमुखी बनाउन प्रधानमन्त्रीज्यू एक्सनमै उत्रनु भएको छ’ उनले भने, ‘नयाँ कार्यशैली व्यवस्थित बनाउन ठोस कार्यायोजना बन्दैछ ।’

सरकारका अर्का मन्त्रीले प्रधानमन्त्रीले मन्त्री र अधिकारीहरुलाई बोलाएर बिफ्रिङ लिएर निर्देशन दिए पनि ठोस मार्गनिर्देशन नपाएको बताए । ‘कतिपय आयोजनाहरु बजेट अभावका कारण अघि बढ्न सकेका छैनन्, कतिपय कानुन र नियमावलीले अप्ठ्यारा फुकाउनु पर्ने छ’ ती मन्त्रीले भने, ‘मुख्यगरी विद्यमान झंझटिलो प्रक्रिया सहज गराएर अघि बढ्नु पर्ने आवश्यकता छ ।’

मंगलबार प्रधानमन्त्रीले राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र र राहदानी सेवालाई थप व्यवस्थित बनाउनेबारे सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरू बोलाएर गम्भीररूपमा छलफल गरेको बताए ।

‘छलफलका क्रममा मैले प्रष्ट निर्देशन दिएको छु– जो-जो नागरिकले सवारीचालक अनुमतिपत्रको परीक्षा पास गरेर राजश्वसमेत बुझाउनुभएको छ, उहाँहरूको लाइसेन्स छिटो उपलब्ध गराउनुस् । यो राज्यको दायित्व हो’ दाहालको भनाइ थियो, ‘आजको दुनियाँ प्रविधिको हो, त्यसैले इन्टिग्रिटेड टेक्नोलोजीमा जानुको हामीसँग अर्को बिकल्प छैन ।’

गत वर्ष पुसमा प्रधानमन्त्री भएपछि उनले यी विषयमा पटकपटक निर्देशन दिइसकेका छन् । उनले आफ्नो निर्देशन कार्यान्वयनमा ध्यान दिएनन् ।

प्रकाशित : माघ १०, २०८० १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?