कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

उपराष्ट्रपति यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेट

काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार शिष्टाचार भेटघाट गरेका छन् ।

उपराष्ट्रपति यादव र भारतीय राजदूत श्रीवास्तवबीच भेट

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा परस्पर शुभकामना आदान–प्रदानपछि दुई मुलुकको सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरु, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुलगायत विविध विषयमा छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र भारतबीच सौहार्द्रता, मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगले गाँसिएको गहिरो एवं बृहत् सम्बन्ध रहेको बताए । हालैका वर्षहरुमा नेपाल–भारत सहयोग र विकास साझेदारी, विशेषगरी सीमापार पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा राम्रो गति लिएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘मित्रराष्ट्र भारतले सामाजिक–आर्थिक विकासमा निरन्तर प्रगति गरिरहेको र अन्तर्राष्ट्रिय शक्तिको रूपमा उदाउँदै गएकोमा हामीलाई खुशी लागेको छ । ‘जी–टू’ को सफल अध्यक्षता गरी समूहका लागि महत्वपूर्ण उपलब्धिहरु हासिल गर्न सकेकोमा हामी भारतलाई बधाई दिन्छौं ।’

छिमेकीलाई प्राथमिकता दिने भारतको ‘नाईबरहूड फस्ट’ नीतिले भारतले आफ्ना छिमेकी राष्ट्रहरुलाई दिएको प्राथमिकता र महत्वलाई प्रतिविम्बित गरेको उनले बताए । उनले भने, ‘उच्चस्तरीय भ्रमणको आदान–प्रदानले हाम्रा दुई मुलुकबीचको हार्दिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । ’

उनले नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकको क्रममा नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले हामीबीच आदानप्रदान भएका दीर्घकालीन ऊर्जा व्यापार लगायतका सम्झौताहरू हुनु महत्वपूर्ण उपलब्धि भएको बताए ।

भारतका राजदूत श्रीवास्तवले दुई मुलुकबीच बहुआयामिक सम्बन्ध रहेको जनाउँदै भारत संधै नेपालको विकास यात्रामा सहयोगी रहेको र अगामी दिनहरुमा पनि रहिरहने बताए । राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालसँग खास लगाब रहेको जनाउँदै सन् २०२४ मा भारतका विदेशमन्त्रीको पहिलो अन्तर्राष्ट्रिय भ्रमण नेपालबाट हुनुले हाम्रो मुलुकले नेपाललाई दिएको महत्व र प्राथमिकतालाई दर्शाएको बताए ।

प्रकाशित : माघ ३, २०८० १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?