संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको छ : प्रधानमन्त्री दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको बताएका छन् । एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले बुधबार बिहान कांग्रेस सभापति र एमाले अध्यक्षसँग भएको भेटमा संक्रमणकालीन न्याय कानुनमा चाँडो टुंगिने बताए ।  

संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको छ : प्रधानमन्त्री दाहाल

'कांग्रेस सभापति, एमाले अध्यक्ष र म बसेका थियौं, एउटा अन्डरस्ट्यान्डिङ बनेको छ यो विषय छिट्टै टुंगिन्छ,' प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले पीडितलाई केन्द्रमा राखेर नै कानुन निर्माण हुने बताए ।

'हामीले पीडितकेन्द्रित भएर कानुन बन्ने भनेर पटक-पटक भन्दै आएका छौं । विधेयकमा पनि त्यही छ,' उनले भने, 'मैले जहिल्यै पनि दलहरुलाई एकै स्थानमा ल्याउन पहल गरेको छु । आज बिहानको मिटिङ पनि त्यही पहल हो । त्यो सकारात्मक भएको छ । अस्ती कांग्रेसको शुभकामना र आज भएको कार्यक्रमले पार्टीहरुबीचमा सहमझदारी बनाउन राम्रो वातावरण बनेको छ ।'

सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरु छानबिनसम्बन्धी विधेयकले संसद्मा‌ विचाराधीन रहेको छ । कतिपय पीडितहरुले पीडितकेन्द्रित नभएको भन्दै आलोचना गर्दै आएका छन् ।

प्रकाशित : कार्तिक १५, २०८० १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?