ईःलाई बालेन्द्रले भने : आन्दोलन बन्द गरेर कानुनको पालना गर्नु

'केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा, स्वर्णिम वाग्लेलगायतको उपस्थिति र जायज मागहरू पूरा गर्नुपर्ने भन्ने तर्क छ, त्यसमा हामी राजनैतिक बेइमानी देख्छौँ'
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई चुनावी बाचा सम्झाउन काठमाडौं महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडि उभिइरहेका अभियन्ता ईःलाई आन्दोलन बन्द गर्न भनेका छन् । आफूले माग पूरा गर्न नसक्ने विभिन्न आधार उल्लेख गर्दै मेयर शाहले ईःलाई आन्दोलन बन्द गरी कानुनको पालना गर्न र कानुन पालना गर्नेहरूलाई अवरोध नगर्न भनेका हुन् ।

ईःलाई बालेन्द्रले भने : आन्दोलन बन्द गरेर कानुनको पालना गर्नु

फुटपाथमा व्यापार गर्न नमिल्ने मेयर शाहको अडान दोहोरिएको छ । उनले साँझबिहान पनि फुटपाथमा व्यापार गर्न दिन नसक्ने स्पष्ट उल्लेख गरेका छन् ।

'बिहान दुई घण्टा र बेलुका दुई घण्टा पनि बालबालिका हिँड्छन्, दृष्टिविहीन हिँड्छन्, गर्भवतीहरू हिँड्छन्, बिरामीहरू हिँड्छन् । त्यस्तै सोही समयमा आगलागीको घटना हुँदै नहुने होइन । मानिसहरू बिरामी नपर्ने होइनन् । त्यस्तो आपतकालीन अवस्थामा फुटपाथका पसल र ठेलाहरूले अवरोध गर्छन् । यही कारणले सडक वा पेटीमा राखिने निर्माणका सामग्रीहरू पनि हटाइन्छन् । यसैले कसैको निर्माणका लागि वा १००० व्यक्तिहरुको लागि ५० लाख जना हिड्ने अधिकार हनन् गर्न वा तिनलाई जोखिममा राख्न मिल्दैन,' उनले लेखेका छन् । फुटपाथका व्यापारीलाई हटाउन भनेर फोन आउने गरेको पनि शाहले उल्लेख गरेका छन् ।

कानुन कार्यान्वनमा अवरोध नगर्न पनि शाहले लेखेका छन् । 'हाम्रो आग्रह छ, हजारौँ काठमाडौंवासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ती मानिसहरूप्रतिको अन्याय मात्र होइन, जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्यो भन्दा अलग्गै प्रयोजनका लागि प्रयोग गर्न नपाइने कानुनको समेत बर्खिलाप हुन जान्छ,' उनले लेखेका छन्, 'यसैले कृपया, आन्दोलन बन्द गरेर नियम कानुनको पालना गर्नु र गराउन भनिदिनुहोला । हामीले कानुनको पालना गर्दा वा गराउँदा अवरोध नगरिदिनुहोला ।'

ईःको आन्दोलनमा साथ दिने नेताहरूले राजनीतिक बेइमानी गरेको पनि मेयर शाहको भनाइ छ । 'जहाँसम्म केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा, स्वर्णिम वाग्लेलगायतको उपस्थिति र जायज मागहरू पुरा गर्नुपर्ने भन्ने तर्क छ, त्यसमा हामी राजनैतिक बेइमानी देख्छौँ । उहाँहरू नियम बनाउने ठाउँमा हुनुहुन्छ तर खोइ त्यो बारेमा स्पष्ट नियम बनाउनु भएको ? खोइ त्यो बारेमा प्रयत्न गर्नु भएको ?,' मेयर शाहले लेखेका छन्, 'सस्तो लोकप्रियताका लागि जायज माग पुरा गर् भन्ने सतही कुरा गरी त दिनुभयो तर यो माग जायज र यो नाजायज भनेर उहाँहरूले खोइ छुट्याउनु भएको ?'

प्रकाशित : आश्विन १०, २०८० १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?